२७ कात्तिक, चितवन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको संरक्षणमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले माओवादी उम्मेदवारहरुलाई आक्रमण गरेको आरोप लगाएका छन् । आक्रमणकारीलाई प्रहरीले पक्रिँदा रिहा गर्न माग गर्दै सरकारकै राज्यमन्त्री एवम् रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले विज्ञप्ति निकालेकाले यसको पुष्टि हुने प्रचण्डको दावी छ ।
सोमबार बिहान चितवनको शिवनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘हतियारसहित गिरफ्तार भए, विप्लवसँग सम्वन्धित मान्छेहरु । अमरसिंह पुन अहिले मन्त्री हुनुहुन्छ त्यहीँको रोल्पाको । उहाँले वक्तव्य निकालेर छोड्देऊ तिनीहरुलाई भन्नुभयो भनेपछि प्रष्टै देखियो नि त । तालमेल भएछ लोकल कांग्रेसको ।’
रोल्पा कांग्रेसका सभापति अमरसिंह पुन हाल सिँचाइ राज्यमन्त्री छन् । उनी प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट माओवादी नेता वर्षमान पुन ‘अनन्त’सँग चुनावी प्रतिस्पर्धामा छन् ।
रोल्पामा शनिबार अनन्तलाई लक्षित गरी माइन विष्फोट गराइएको थियो भने आइतबार ढुंगा थुपारेर बाटो अवरुद्ध गर्दै गोली प्रहार गरिएको थियो । सो कार्यमा संलग्न भएको भन्दै प्रहरीले विप्लव निकटका केही कार्यकर्ताहरुलाई सोही स्थानबाटै पक्रेको थियो । त्यसलगत्तै कांग्रेस रोल्पाका सभापति समेत रहेका सिँचाइ राज्यमन्त्री पुनले विज्ञप्ति निकालेर पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेका थिए ।
वाम गठबन्धनका उम्मेदवारलाई आक्रमण गर्ने र चुनाव बिथोल्ने कांग्रेसको केन्द्रीय नीति नै भएको निष्कर्ष भने आफूहरुको नभएको माओवादी अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।
उनले यस्ता गतिविधि रोक्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव समेत दिए । प्रचण्डले भने, ‘यो कांग्रेसको केन्द्रीय नीति हो भन्ने आरोप मेरो होइन । तर एउटा मन्त्रीले यसो गरेको हुनाले मेरो प्रधानमन्त्रीसँग भनाइ के छ भने यसलाई कन्ट्रोल गर्नुस् । यसले कांग्रेसलाई झन् नराम्रो गर्छ ।’
रोल्पामा माओवादी नेता वर्षमान पुन ‘अनन्त’ र रुकुममा जनार्दन शर्मा ‘प्रभाकर’लाई लक्षित गरी आक्रमण भएको थियो । यसमा विप्लव निकट कार्यकर्ताहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।