काठमाडौँ, ३० कात्तिक । पश्चिमी न्यून चापीय प्रणालीको असरले बिहीबार देशको अधिकांश भेगमा बदली भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीका साथै उत्तर पश्चिम बंगालको खाडीमा विकसित भएको बलियो खालको न्यून चापीय प्रणालीले नेपालमा पनि असर गरेको मौसमविद् सुवास रिमालले बताए। मौसम बदलीसँगै आज काठमाडौँ उपत्यकामा चिसो महसुस गरिएको छ ।
मौसमी प्रणालीको बदलीले तापक्रममा केही कमी आउने हुँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा चिसो बढ्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । “भारतको उत्तराखण्ड र जम्मु कास्मिरको हिमाली क्षेत्रमा हिमपात भएकाले सो क्षेत्रबाट बहेर आउने वायुका कारण तुलनात्मक रुपमा अबको तीन दिनसम्म चिसो बढ्ने देखिन्छ,” मौसमविद् रिमालले भने।
उनका अनुसार न्यून चापीय प्रणालीको प्रभाव अझै एक÷दुई दिन रहनेछ । बंगालको खाडीबाट आएको प्रणालीले देशका पूर्व र मध्य तथा पश्चिमी न्यून चापीय प्रणलीले पश्चिमी क्षेत्रमा बढी असर पारेको छ । यसको असर बुधबारदेखि असर देखिएको हो । मौसमी प्रणालीको प्रभावले पूर्व र मध्यका एक÷दुई स्थान र पश्चिमी पहाडी क्षेत्रका केही भागमा छिटफुट वर्षाका साथै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको तापमान न्यूनतम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस मापन भएको छ । सबैभन्दा कम जुम्लामा एक र सबैभन्दा बढी सिमरामा ३१ डिग्री सेल्सियस रहेको छ । रासस