सुनसरी अन्तर प्राथमिक विद्यालय स्तरीय दोस्रो सुदेश सुब्बा मेमोरियल कप २०७५ को उद्घाटन कार्यक्रम बृहत दर्शक र स्कूलहरुको सहाभागिता सहित ईटहरी उपमहानगरपालिका का मेयर द्वारिकालाल चौधरीले तरहरा स्थित बहुभाषि खेल मैदानमा उद्घाटन गरेका छन् । उद्घाटन सँगै आफ्नो मन्तव्य राख्दै मेयर चौधरीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य भएकाले हिमशिखर स्कूलले जिल्ला स्तरीय प्राथामिक तहका विद्यार्थीलाई समेटेर आयोजना गरिएको खेलकुदको सफलताको कामना सहित आयोजक हिमशिखर स्कूललाई बधाइ दिएका छन् ।
स्वर्गीय सुदेश सुब्बाको स्मृतीमा आयोजना गरिएको फुटबल कपमा सुनसरी जिल्ला भरिका उत्कृष्ट १६ टिमको सहभागिता रहनेछ । आजको उद्घाटन खेलमा समूह क बाट आमुने सामुने भएका आयोजक हिमशिखर स्कूल र प्याराडाइज स्कूल बिचको खेलमा हिमशिखर स्कूलले ७–० को फराकिलो अन्तरका साथ विजय हासिल गरेको छ । आजै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर स्कूलले ३–० को गोल अन्तर सहित हिल भ्यु स्कूललाई पराजित गरेको छ । नक आउट प्रणालीमा संचालन हुने खेलको फाइनल बहुभाषि खेल मैदान तरहरामा माघ २० गते संचालन हुनेछ ।
२०७४ साल बाट सुरु भएको सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०७५ मा विजेता हुने टिमले
नगद पुरस्कार रु १५,००० , ट्रफी , मेडल सहित १७ थान ट्रयाक सुट प्राप्त गर्नेछन् । प्रतियोगीताको उप–विजेता विद्यालयले नगद रु १०,००० , ट्रफि , मेडल सहित १७ थान ट्रयाक सुट प्राप्त गर्नेछन् । प्रतियोगीताका प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरीने साथै प्रतियोगीता विभिन्न विधातर्फ उत्कृष्ट घोषित खेलाडीहरुलाई व्यक्तिगत पुरस्कार समेत प्रदान गरीने आयोजक हिमशिखर स्कूलका प्रधानाध्यापक शैलेश पुरी ले जानकारी गराएका छन् ।