१० मङ्सिर,आइतबार २०७४
मुलुकले १७००० को जीवन् बर्बादी पछि इतिहासको नया खाका कोरेको छ भने नव अवसरवादले भाग्यमानी चिठ्ठा हात पारेको छ।जनताले आश्वासनको लास्सी पिएका छन भने सहिद हत्याराले रगतको रक्तीले चुस्त मोटाउन पाएको छ।देशले एक थोक मागेको छ भने राजनितिले अर्कै थोक दिएको छ,नेता मोटाउदै जादा काले कामी र बिरे सार्किका नातिले अनाहकमा उपचार अभावमा मृत्युवरण गर्नुपरेको छ।हिजो युद्दको नाममा नेपाली मारिए आज राजनितिले जनता मारिरहेको छ।
देशले राजनितीक संरचना र संघीयताको पहिलो चरणको रेखा कोर्यो अब समानताको आर्ट गरोस भन्ने हाम्रो जनचाहना छ,समृद्दिको भाषण होइन अब समृद्धिको शासन जारी होस भनेर हामी नेपालीले दिनानुदिन कामना गर्नु हाम्रो पान्चायन पूजा जस्तो भएको छ ।जति नै खेद ब्यक्त गरे पनि नेपाली राजनितिका दलालहरुले जनताको ढाड्मा दाल दल्दै आफ्नो पुस्तैनी सपना साकार पार्न मरिमेटेर लागेको छ।हिजो परिचित जस्ता लाग्ने राजनितीका ठेकेदारहरु अब यो देशका सुपरमार्केटका साहुजी बन्दैछन ।
जब यिनिहरु मालिक हुन्छन तब पूजिवादी राज्यव्यवस्थाको जन्म हुन्छ र नेपालले अर्को युद्दको सामना गर्नु नपरोस हिजोका जनताले हिजो मात्रै होइन आज पनि भनिरहेका छन ।तर सिंहदरबारको कानले सानाको आवाज सुन्दैन ,ठुलाको आवाज मात्रै होइन दलालहरुको आवाज र भाषा बुझ्छ ,यो र यस्तै अनुभवले हाम्रो कुना कन्दरा रोएको छ।त्यो रुवाइको आँसु नै राजनितिको तृष्णा मेट्ने माध्यम बनेको छ ,जे देखियो त्यही भन्ने हाम्रो बाध्यता पो भएको छ ।
राष्ट्रिय अपराधीले सलामी खाइरहेकै छ ,वीर बिराङ्गनाले जेलको चिसो अध्यारोमा थुनिनु परेको छ ,सुशासनको भाषा धेरै सुनियो तर कुशासनका हिमायतीहरुले नै सुशासनको महङ्गो विज्ञापन छपाएको छ ।त्यहि विज्ञापन हेर्दै दु:खी र गरिब रोइरहेको छ । सत्य र निष्ठाको राज काजमा छ ,कुशासनका हिमायतीहरुको राज संस्थागत हुँदै गरेको छ,बाम गठबन्धनको धागो ओलीले कहिले सम्म तुन्ने हो र प्रचण्ड विश्वास बाच्न पाउने हो ,यसैको धर्मसंकटमा हाम्रा आवाजहरु रन्थनिएका छन।हाम्रा मर्महरु अतिवाद र प्रतिगमनको खल्तीमा कैद हुनुले धेरै मान्छेहरु यद्यपि क्रान्तिका पक्षपातीहरु पनि यो निर्वाचनमा अमुल्य मत दिन मतदान केन्द्रमा गएनन,कारण राजनितिक खेल भित्रको प्रदुषणको गन्धले नै हो।
महाकालीको दलालको मैलो बामगठबन्धनको साबुनले धुदै गर्दा मदनको लास र जबज त्रीशुलीमा बगिरहेको छ। जालझेल,षड्यन्त्र र छलकपट अहिले इमान्दार जस्तो देखिएको छ, तर उसको इमान्दारीताको घट्ट कहिलेसम्म घुमिरहन्छ ,त्यो इमान्दारीताको घट्ट घुमिरहन र समृद्दिको पिठो पिधिरहन राष्ट्रिय दलालको अवसान बिना सम्भवै छैन ,यी पक्तिहरुले आफै बोलिरहेका छन।किनकी यो देशले उज्जैन श्रेष्ठलाई न्याय दिदै गर्दा योद्धाहरुको अपमान गर्दैछ।
तर राष्ट्रिय दलालले शैन्य सलामीका सम्मान पाइरहदा लोकतन्त्रले आँसु बगाइ बगाइ रुन्चे हासो हासिरहेको सत्य जुन सबैलाई अवगत नै छ। हामी देशकोआमुल परिवर्तनको पक्षमा बोल्छौं तर हाम्रा अमुल्य मतको बलात्कार गर्दैनौं भन्ने दिशामा हामी लाग्नु हाम्रो विवशता र विडम्बना हो रहर होइन भनेर सबैमा जगजाहेर गर्नु मन लाग्छ। व्यवस्थाहरुले धेरै भोटो फटाए,सिंहदरबारमा धेरै फोटोहरु झुन्ड्याइए तर यो देशले जनताको जिवनस्तर उकास्ने जीवन बुटि झुन्ड्याइदिन सकेन र हाम्रा मतहरु फरक मतमा बाझिए। साथै जनताका जमीनहरु देशीमलको कालोबजारीका कारण बांजिदै छन भने परनिर्भर जनताको आत्मनिर्भरताको सपना यो देशको कुनै पनि व्यवस्थाले परिकल्पना गरेन। नपत्याए नेताहरुको निवास भ्रमण गरौं ५ तारे होटल जस्तो बङ्गलाहरु कहाँ बाट ठडिए??
अख्तियार अनुसन्धान आयोगलाई अब नेपाली जनताले उजुरी र खबरदारी नगरे सिमेन्टका बङ्गालाहरु मात्रै देखिनेछन र त्यो बङ्गालोभित्र राष्ट्रिय राजनितिको माफियाले धर्तीलाई भार बनाई दुर्गन्धित स्वासप्रस्वास गर्नेछ र यो धर्तिको ओजोन तह प्वाल पर्ने छ, अनि खराब विकिरणले जनताको जिउधन खरानी बनाउने छ।अब हामी नेताभक्त होइन देशभक्त बन्नुपर्छ नत्र समय गुज्रिएर लास बन्दै पछारिनेछ। हामिले अन्धविश्वास र अयोग्य मान्छेसग योग्य र सक्षम राजनितिको उधारो आशा बोकेर कयन पुस्तालाई ढाट्ने राजनिती ठूलो र गतिलो अनि महँगो व्यावसाय पो रहेछ भनेर जनतालाई प्रेरणा दिन कसरत गर्नुपर्छ।त्यसैले अराजक र अराष्ट्रीय तत्वको नकामलाई भन्डाफोर गर्न रक्तिम आवाजहरु र चेतनाको विकास गर्ने भोलुन्टर अबका दिनमा हामी नबने राजनितिक दलालको शोषणमा निमुखाहरु शाषित भैरहनुपर्ने सत्यलाई स्वीकार गर्न अबको युवा पुस्ता तम्तयार हुनुपर्ने आजको युगको टड्कारो आवश्यकता भएको छ।
आदरणीय नेपाली दिदिभाई,दाजुभाइहरु हिजो हामिले धेरै विवशताहरु सहन गर्यौं ,अब हामिले ती विवश परिस्थितिहरुका सर्जकहरुलाई निमिट्यान्न पार्न पछि हट्यौं भने महाकालीको दलालहरु एक पछि अर्को र टनकपुरका दलालहरुको बङ्गालो र दर्वारको रमाइलो हेरिरहन बाध्य हुनुपर्नेछ।राजन ितीलाई पेशा बनाएर अर्बौंको बङ्गालो ठड्याउने जो सुकै नेता होस ,उसको सम्पत्ती राष्ट्रिय सम्पत्ती बनाउन नेपाल सरकारलाई घच्घच्याएनौं भने नदिनालाहरु मात्रै होइन अब हाम्रा धर्मिक सम्पदाहरु पनि बेचिनेछन ।
हामिले अब धावा बोल्नुको विकल्प छैन,सानालाई ऐन र ठुलालाई चैन खारेज नगरेसम्म नेपालको समृद्धि जनतामा हाजिर हुन पाउने छैन ।यो केवल छेपाराको उखान सावित हुनेछ ,तर त्यस्तो हुन नदिन आम सचेत युवा अब पनि जागरुक नभए दिन रह्यो अग्राख पलायो भन्ने उक्ति पर्याय बन्नेछ।देश र जनतालाई ढांटेर ,जनताको अपेक्षाहरुलाई कु गर्ने जुनसुकै राजनितीज्ञ होस हिजोका दिनमा उसले सलामी खान्थ्यो भने अबका दिनहरुमा हामी उसको मलामी जाने बाताबरणको उजागर गर्न हामिले हाम्रो मस्तिष्क भित्र चेतनाको ज्योती प्रज्वलन गर्नुको दोश्रो बिकल्प छैन।सबैलाई सलाम गर्दै यो पक्तिकार अहिले यी हरफहरुबाट आज्ञा चाहन्छु ।नमस्कार । लालसलाम ।
१० मङ्सिर,आइतबार (२०७४) - भोटेचौर,सिन्धुपाल्चोक -हाल: काठमाडौं