फागुन ६, काठमाडौं । एकजना मित्रले सामाजिक सञ्जाल फेसबुकमा सडकका बालबालिकालाई खाना र न्यानो कपडा दिइरहेको फोटो हालिन्। उनको उद्देश्य कि त अरूलाई पनि सामाजिक कार्यमा प्रोत्साहन गर्ने हुन सक्छ कि त उनी आफ्नो कार्य सबैलाई देखाउन चाहन्छन्। सामाजिक कार्य गर्न वा कसैलाई मद्दत गर्न खासै प्रोत्साहनको जरुरी पनि हुँदैन। धेरै आफूले गरेको कामको प्रचारप्रसार गर्नमै उद्यत् देखिन्छन्। यहाँ प्रश्न के उठ्छ भने, के कसैलाई सहयोग गर्दा आफ्नो क्यामेरा घरमै राख्न सकिँदैन रु
कसैलाई मद्दत गरेको फोटो खिच्नैपर्छ र ? विडम्बना १ कतिले त्यही फोटोको प्रयोग गरेर पैसा पनि कमाउँछन्। आजभोलि ती फोटो खिचेर सबैलाई देखाउन पनि निकै सजिलो छ। आफ्नो प्रचारप्रसार गर्ने उपयुक्त माध्यम बनेको छ(सामाजिक सञ्जाल।
हिजोआज सामाजिक सञ्जाल आफ्नो तारिफ वा आफूले गरेको कामको प्रचार गर्ने माध्यम बनेको छ। हरेक दिन प्रायः धेरै त आफूले गरेका काम, प्रगतिबारे अपडेट गरेर मक्ख पर्छौं। कतै जानुप¥यो भने वा केही खान लाग्छौं भने सुरुमा त्यसबारे फेसबुक, ट्विटर वा इन्स्ट्राका साथीहरूलाई थाहा हुन्छ।
जिम जान, घुम्न जान वा केही खाना खान जान पनि फेसबुक वा ट्विटरलाई भन्नुपर्छ रु हामी धेरै भर्चुअल संसारमै रमाउने भइसक्यौं। फेसबुकमा पाँच हजार साथी हुन्छन् तर त्यसमध्येका धेरैलाई हामीले चिनेकै हुँदैनौं। हामी हरेक दिन फेसबुकमा साथीलाई जन्मदिनको शुभकामना त दिन्छौं तर प्रायलाई त हामीले चिनेका पनि हुँदैनौं, बोल्ने त परै जाओस्। हामी एक यान्त्रिकजस्तो भएका छौं।
खोक्रो आडम्बर देखाउने ठाउँ बन्यो सामाजिक सञ्जाल र हामी पनि त्यसमै रमायौं। सामाजिक सञ्जालमा स्वस्थ छलफल, सूचनाको आदानप्रदानभन्दा पनि बढी आफ्नै प्रचार गर्ने, अरूको कुरा काट्ने प्रवृत्ति हाबी हुँदै गयो। हामी एकअर्काबीच नजिक त भयौं तर सम्बन्धहरू निकै टाढा र फिक्का भए।
वाइल घोनिम भन्छन्, ‘सामाजिक सञ्जालले गलत सूचना, अफवाह र घृणाको भाषा फैलाउँदै समाजलाई झनै धु्रवीकृत बनायो। वातावरण विषाक्त पा¥यो। अनलाइन संसार ट्रोल, झूट र घृणाले भरिएको रणभूमि बन्यो।’ फेसबुकमा छाउने अनेक किसिमका अनलाइन समाचारले मानिसमा झूटको खेती ग¥यो। लाइक र कमेन्टको संख्या बढाउन मानिस अनेक किसिमका गलत सूचना प्रवाह गर्न बढी उद्यत् भए। जब कुनै नारी बलात्कृत हुन्छे, हामी सहानुभूति पाउन ती नारीको फोटो हालिदिन्छौं।
त्यसले उनको परिवार र आफन्तमा केकस्तो असर पार्न सक्छ भन्ने सोच्दैनौं। हामी सामाजिक सञ्जालबाट धेरै अपेक्षा राख्छौं तर विडम्बना एकअर्काबाट निकै कम। सामाजिक सञ्जालको नशा हामीमा कति चढेको छ भने एकअर्काका लागि समय निकाल्न पनि हामीसँग फुर्सद छैन। हामी प्रविधिको यति धेरै दास भएका छौं कि कसैसँग भेट्दा पनि हाम्रो ध्यान कुराभन्दा बढी मोबाइल र इन्टरनेटमा हुन्छ। अनि त्यस्तो भेटघाटको के अर्थ रु क्याफे, पार्क जतासुकै वाइफाइ भएपछि मानिसहरू भेट्न जाँदा पनि एकअर्कासँग गफभन्दा बढी मोबाइल, इन्टरनेटमै व्यस्त। कतिपय त बाटोमा हिँड्दा पनि मोबाइलमा इन्टरनेटको प्रयोग गरेर गफ गर्दै हिँड्छन्।
सामाजिक सञ्जाल आफैंमा नराम्रो होइन, तर हामीले यसको गलत प्रयोग गरिरहेका छौं।
नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या करिब ५८ लाख रहेको छ। ट्विटर प्रयोगकर्ता आठ लाख छन्। त्यस्तै अर्को रिपोर्टअनुसार हामी सामाजिक सञ्जाल र प्रविधिमा दैनिक आठ घन्टा व्यतीत गर्छौं। त्यो भनेको वर्षमा १२१ दिन हुन्छ। सामाजिक सञ्जालमा नै हामी यति समय खर्च गर्छौं।
फेसबुक–ट्विटरमै हाम्रो दिनचर्या बित्ने गर्छ। फेसबुकमा त हजारभन्दा बढी साथी हुन्छन् तर त्यसको केही अर्थ हुँदैन। जब आफूलाई पर्छ तब आफू एक्लो परिन्छ। हामी मित्रताको गुणस्तरीयताभन्दा पनि बढी यसको संख्यामा रमायौं। हामी भेटमा भन्दा पनि अनलाइन कुराकानीमै रमाउँछौं। हाँसो, खुसीजस्ता मानिसका भावना पनि अनलाइन नै व्यक्त गर्छौं। हिजोआज त फेसबुकमै माया बस्छ र फेसबुकमै डिभोर्स पनि। माया भन्ने चिज नै फेसबुकले सस्तो बनाइदिएको छ। यस्ता सञ्जालले हाम्रो सम्बन्धलाई फिका बनाइदिएको छ। मायाका नाममा त्यति धेरै गीत लेखिए, कविता लेखिए, कयौंले ज्यान दिएको इतिहास छ। तर अहिले मायाको त्यो गहिराइ हराएर गएको छ। मेरा एक मित्रको एकै समयमा तीन प्रेमिका छन्, ती सबैलाई उनले फेसबुकमै भेटेका हुन्। उनको मायाको गहिराइ कति छ, त्यो उनलाई नै थाह होला।
आज हाम्रा सामाजिक सञ्जाल अनुभव हेर्दा यस्तो लाग्छ– हामी सहभागिता होइन, विचार व्यक्त गर्न, छलफल होइन आफ्नो कुरा राख्न, गहन ढंगले कुराकानी होइन, बोक्रे टिप्पणी गर्न उद्यत् हुन्छौं।
यस्ता सामाजिक सञ्जालहरूको प्रयोग एकअर्कासँग कुरा गर्नभन्दा पनि एकअर्काबारे कुरा गर्न गरिन्छ। हामी प्रायः आफ्नै कुरा राख्न बढी लालायित हुन्छौं र त्यसमा आउने लाइक, राम्रा कमेन्टले मक्ख पर्छांै। आफूसँग विचार मिल्नेसँग मात्र सूचना आदानप्रदान गर्छौं र नमिल्नेलाई कि त ब्लक गर्छौं कि त अनफलो। फेसबुकमा पनि कोही त घन्टैपिच्छे आफ्नो फोटो परिवर्तन गर्छन् र त्यसमा आउने लाइक र कमेन्टले मक्ख पर्छन्। कोही त यस्ता पनि हुन्छन्, जो लाइक बढाउनकै निम्ति लाइक गरिदेऊ न भन्दै मेसेज गर्छन्। कोही त खोक्रो आडम्बर देखाउन पनि यसको प्रयोग गर्छन्। कसैलाई सहयोग ग¥यो, त्यसबाट आनन्द लिनुको साटो त्यसको प्रचार गर्नै हतार हुन्छ र फेसबुकमा राखिहाल्छन् र त्यसमा आउने लाइक, कमेन्टले मक्ख पर्छन्।
अनि अहिले त सेल्फीको जमाना छ, जहाँ गयो सेल्फी, जसको कारणले दुर्घटना पनि भएका छन्। सेल्फी खिचेर फेसबुकमा देखाउन हामी जस्तोसुकै भीर–किनारमा पनि जान डराउँदैनौं। कोहीकोही त फेसबुकमा फोटो हाल्नकै निम्ति घुम्न जान्छन्। कतै अलि राम्रो ठाउँमा पुगियो भने त्यस ठाउँको आनन्द लिनुको साटो फेसबुक, ट्विटरमा हाल्नै हतार हुन्छ। आफूलाई इन्टेलिजेन्ट वा प्रबुद्ध देखाउन किताब वा उपन्यास समातेर फोटो राख्छन्। कहिलेकाहीं त लाग्छ, विदेशमा बस्ने नेपालीहरूले देखावटी र झूटो आडम्बरसहित फोटो र स्ट्याटस नहाल्दिए नेपालबाट बिदेसिने निकै कम हुने थिए कि रु उनीहरू विदेश गएर भाँडा नै माझे वा दुःखकष्ट गरे पनि फेसबुक, ट्विटरमा चाहिँ उनीहरूको जिन्दगी एकदम दामी र राम्रो छ भन्ने देखाउँदै फोटो स्ट्याटस हाल्छन्। र त्यही देखेर यहाँका युवा आकर्षित हुन्छन् र त्यहाँ पुगेपछि मात्र वास्तविकता थाहा पाउँछन्।
सामाजिक सञ्जाल आफैंमा नराम्रो होइन, तर हामीले यसको गलत प्रयोग गरिरहेका छौं। हामीले आफ्नो प्रचारप्रसार गर्न वा झूट अफवाह फैलाउन प्रयोग गर्नुभन्दा पनि केही राम्रा कामका लागि प्रयोग गरे फाइदाजनक हुनेथ्यो। वास्तवमा यो उत्कृष्ट आविष्कार हो। सोच्नुस् न मानिसको औंलाको टुप्पाले हाम्रा साथीहरू भेटिन्छन्, विश्वको खबर राख्न सकिन्छ। तर हामी यी आविष्कारका दास बन्दैछौं, जुन विल्कुल गलत हो। अन्नपूर्णबाट ।