• सन्दर्भ : १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस





    मनिषा आचार्य

    महिलाहरुको पाठेघर तथा अण्डासयमा दुई किसिमका हार्मोन (आष्ट्रोजन र प्रोजेष्ट्रक्सी) हुन्छन् । कन्ट्राक्सन तथा यसका भित्री तह इडोमेट्रियम बनाउन र विगार्न तथा महिनावारी गराउने भूमिका यिनीहरुले खेल्छन् । स्वास्थ्य विज्ञानमा पाठेघरको भित्री तहमा हार्मोनहरुको नियन्त्रणमा टुक्रिएका टुक्राहरु योनीमार्ग हुँदै रगत बग्ने प्रक्रियानै वास्तवमा रजस्वला हो । अझ गर्भाधान नभएका डिम्बहरु महिलाको योनीबाट निश्कासित र सामान्य प्रक्रिया नै रजश्वला हो ।

    तर, नेपालको हिन्दू संस्कार/समाजमा रजश्वला भएकी महिलालाई हरेक कुराबाट बर्जित गरिन्छ । सबै नेपालीहरु सामु अझै पनि शैक्षिक चेतना पुग्न सकेको छैन् । देशको गरिबी र गलत शिक्षा प्रणाली नै मानवीय चेतनको बाधक हो । समाजका शिक्षित भनाउँदाहरुले नै आफ्नो ज्ञानलाई दैनिक जीवनमा कार्यान्वयन गर्न सकेका छैनन् । समाजमा बुझक्कडहरु नै रजश्वला जस्तो प्राकृतिक उपहारलाई आधुनिक विश्वमा पचाउने सामथ्र्य नराखेको स्थिति छ । उचित जीवनोपयोगी शिक्षाको कारणले गर्दा हामी भौतिक रुपमा मात्र होइन् मानसिक रुपमा समेत पछाडि परेका छाँै । यस्तै स्वास्थ्य क्षेत्रमा पनि यसको बेजोड प्रभाव छ । नारी जातिले प्रत्येक महिना भोग्नु पर्ने महिनावारीको विषयमा समेत ज्ञानको कमीले गर्दा यसलाई गलत अर्थमा समाजले हेर्ने गरेको छ । वास्तवमै महिनावारी के हो त भन्ने विषयमा जानकार नहुनुले हरेक अवसरबाट महिलाहरु बञ्चित छन् । प्राचिन समयदेखि नै वर्तमान समयसम्म नारीमाथी उत्पीडन सामाजिक र साँस्कृतिक सम्बन्धसँग जोडिएको एउटा विषय हो, रजश्वला । समाजले जहिले पनि नारीलाई कमजोर ठान्नुका साथै पुरातन विचारधाराले केवल भोगको साधन बनाएर मान्छे छाप्ने साधन नारीलाई ठान्छ । नेपालको हिन्दू संस्कारमा रजश्वला भएकी महिलाले विरुमा छोएमा मर्ने, खाना पकाएर दोश्रो व्यक्तिलाई दिँदा पाप लाग्ने, इश्वरको आरधना गर्दा भगवान रिसाउने जस्ता भ्रामक तर्कहरु छन् । तर, अध्यात्मवादको खोल ओडेर कति सजिलै पुरुषहरुको स्वप्नदोषलाई प्राकृतिक नियम ठान्छ, नेपाली समाज । समाजमा कतिपय मान्छेहरु पाखण्डी विचारका छन् । जसले नारीलाई बर्षै हरेक हिसाबबाट दबाएर, अन्यायमा पारेर, हरेक अवसरबाट बञ्चित गराएर, बर्षको १ दिन ‘ह्याप्पी वुमेन डे’ लेखि आफूलाई नारीको सम्मान गरेको कुरालाई सामाजिक सञ्जालमा बोक्रे आदर्श दर्साउँछन् । नारीलाई हेर्ने सङ्किर्णताको दृष्टिकोणलाई जब बदलिन्छ तब मात्र सामाजिक संस्कृति र धार्मिक मान्यताहरुबाट नारी मुक्ति सम्भव छैन र ?

    समाजमा महिलामाथि पैसाको भरमा र कथित स्वतन्त्रताको नाममा भइरहेका दमन, उत्पीडन र रुढिबादका करोडौं दस्तावेजहरु हामी पढ्छौँ । आज नारी रजश्वलाका नाममा भइरहेका विकृति र तमाम विसङ्गतिहरु सनातन परम्परा र हिन्दू समाजको उपज र देन होइन, बरु सहि शिक्षा र चेतनाको अभाव हो । सुदुरपश्चिमाञ्चल क्षेत्रमा रजश्वला भएकी महिलालाई पुरा–पुर अशुद्ध मानिन्छ । ४ देखि ५ दिनसम्म छाउ गोठमा बस्न बाध्य बनाइन्छ । उचित शिक्षा र जनचेतनाको अभावले अन्धकारमा जीवन विताइरहेका त्यहाँका दिदी बहिनीहरु शिक्षाको उज्यालो किरणको पर्खाइमा छन् । सेनेटरी प्याडको अभावमा थोत्रो कपडाको टालो र खरानीको प्रयोग गर्दै आएका त्यहाँका आम महिलाहरु कसरी शारिरीक रुपमा आफू सुरक्षित भएका महशुस गर्छन ? सुदुरपश्चिमाञ्चल क्षेत्रमा मात्रै होइन हामै्र सेरोफेरोमा रहेका महिलाहरुलाई महिनावारी भएको बेलामा छुट्टै कोठामा सुत्ने, खाने, बस्ने प्रबन्ध मिलाइन्छ । जुन समयमा हामीलाई सबैको साथ र हेरचाहको आवश्यकता पर्छ, त्यही बेला मान्छेको सामिप्यताबाट अलग गरिन्छ । महिलाहरुमाथि यो कस्तो मानवता हो ? हार्मोनको परिवर्तनसँगै यो अवस्थामा महिलाहरु शारिरीक रुपमा कमजोर बनेका हुन्छन् । पोषिलो खाना, उच्च मनोबल, माया र हेरचाहको खाँचो हुने बेला हो यो । मासिक श्राव एउटा शारिरीक चरण पनि हो । जो हरेक महिलाहरुको जीवनमा हुने गर्दछ । मासिक श्राव हुने भनेको महिला प्रजजनन्का लागि योग्य हुनु हो । रजश्वला त फल दिने पूर्व सन्ध्यामा सुनौलो र आकर्षक फूलको सिर्जना भएका एउटा मोड हो, जुन श्रृष्टिका लागि छ । महिलाहरुलाई रजश्वला नहुने हो भने, यो संसारमा जन्मको प्राकृतिक नियम पनि तोडिन्थ्यो । कतिपय उग्रवादी पुरुषहरु रजश्वलालाई पाप ठान्छन् भने आफूलाई यो धर्तिमा आउनु पनि पाप नै हो भन्न सक्नु पर्छ । प्राकृतिक र स्वाभाविक कृयालाई पनि नारित्वको सीमाको रुपमा हेरिनु विडम्बना हो । यो विषय किन पुरुषको सन्दर्भमा लागु हँुदैन ? पुरुषको लिङ्गले सामाजिक सन्दर्भमा विशिष्ट महत्व पाँउछ तर, त्यही सामाजिक धार्मिक सन्दर्भले महिलाहरुको धर्मलाई एउटा अभिसाप ठान्छ ।

    महिलाहरुको प्राकृतिक रुपमा भएको घटनालाई लिएर नानाथरी धार्मिक कुरासँग जोड्नुपर्छ भन्ने छैन् । भगवान शुद्ध हुन्छन् भनेर सिकाउने अनि भगवानको रुप देख्ने महिला फेरी कसरी अशुद्ध ? पाप र धर्म त कर्मले गर्छ, न कि कसैको रगतले । महिलाहरु महिनावारी हुँदा पशुजस्तै गोठमा किन रात विताउनु ? महिनावारी पाप नै हो भने देवीहरुको रुपमा पूजिने सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती र सीता जस्ता देवीहरु पनि महिला नै हुन् । उनिहरुको मूर्ती भएका मन्दिरहरु अनगिन्ती छन्, ति देवीहरु पनि त प्रकृतिको परिधि भित्र थिए । उनिहरुलाई पनि रजश्वला हुन्थ्यो । अनि हामी नारीहरुलाई नै चाँही किन रजश्वला भएर मन्दिर छिर्न नहुने ? तसर्थ, रजश्वला कुनै प्राण घातक रोग होइन, यो प्राकृतिक र स्वभाविक नियम हो । सामाजिक हेयको रुपमा रजश्वला भएको नारीहरुलाई हेर्नु भन्दा रजश्वलाको विषयमा सरसफाईमा ध्यान दिनु पर्ने, रजश्वलासम्बन्धी जनचेतना दिनुको विकल्प छैन । हरेक पुरुषले पनि यसको व्यवस्थापनमा महिलालाई सहयोग पु¥याउन जरुरी छ । समयको गतिसँगै पुरातनवादी सोचमा परिवर्तन हुनु स्वाभाविक हो । कुनै पनि कुरा यथास्थितिमा लामो समयसम्म टिकिरहन सक्दैन । हाम्रा हजुरआमा, आमा र हामीसम्म आइपुग्दा पहिलेका चलनहरु अहिले फेरिएका छन् ।

    परिवर्तन सबैको प्रेरणाको विषय बन्नु पर्छ । मासिक श्रावका कारण विशेष गरि किशोरीहरुमा चिन्ता तथा निराशा समेत आउनु सक्छ । कतिपय अवस्थामा महिलाहरुले रजश्वलाको समयमा हिनताबोध समेत गर्छन् । तसर्थ यस्तो अवस्थामा आफ्ना छोरीहरुको विशेष ध्यान दिनु पर्छ । रजश्वला भएको बेला अझैपनि महिलाहरु कठोर परिश्रम गरिरहेको र गर्नैपर्ने यथार्थता हामीबाट टाढा छैनन् । यता पुरुष प्रधान समाजमा महिलाहरुलाई गरिएको श्रम शोषण, शारिरीक शोषण र दमन हो । यो त महिला उपर अत्याचार हो । अबका महिला भनेका आधुनिक समाजका सम्वाहक साथै प्रवुद्ध वर्गका महिलाहरु हुन् । अब महिलाहरुले धार्मिक साँस्कृतिक परिप्रेक्षको रक्षाको गर्दै रितिरिवाज कायम राख्ने पहल गर्नुपर्छ । मानव श्रृष्टि नारी विना सम्भव छैन र हामीलाई रजश्वलालाई जति नै लुकाएपनि छुवाछुत उन्मुख रुपमा हेरेपनि श्रृष्टिका प्रथम गुणनै हामी नारीहरुको रजश्वला हो । तसर्थ अव रजश्वला हुँदैमा कुनै पनि महिला कुनै पनि अवसरबाट बञ्चित हुनु हुँदैन । यो परिवर्तनसँगै मानवीय चेतनामा पनि परिवर्तन आउन आवश्यक छ । हामीले महिलामाथि हुने धार्मिक ज्यादति विरुद्ध लड्न आवश्यक छ । रजश्वला भएकै निहुँमा महिलालाई रहेक कुरामा बन्देज लगाउनु महिलामाथि पशु समान धारणा राख्नु हो । छाउगोठमा हरेक सुविधाबाट बञ्चित गराई, मानवअधिकारको हनन् गरि महिलामाथि हुने अत्याचारको अन्त्यका खातिर सुरुआत आफू स्वयंबाट गर्न जरुरी छ । महिनावारीका सम्बन्धमा धर्मका व्याख्याता महिला अधिकारकर्मी र स्वयं राज्य संयन्त्र पनि गम्भिर बन्न जरुरी छ । अब महिलाहरुलाई रजश्वलाको बेला भान्साबाट होइन गाह्रौं कामबाट टाढा राखौं ।

    (अखिल (क्रान्तिकारी)की केन्द्रीय सदस्य आचार्य समसामयिक, राजनीतिक तथा महिलाका विषयमा कलम चलाउँछिन् ।)

सम्वन्धित समाचार

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …