तेजन खड्का
उर्लाबारी । न उनी चुनाबका उम्मेद्वार , न कालो धन लुकाउने चेष्टा । गाउँको स्तरोउन्नतीमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका—७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् । कैले सडक बत्ति त जडान त कैले विद्यालयमा विविध सहयोग । त्यतिमात्र होईन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उच्च छ ।
चुनाब आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुको लागि उनको यो काम यतिबेला गतिलो झापड भएको छ । सुन्दरलाई जान्ने बुझ्नेहरु भन्छन्,उहाँले गाउँको लागि महत्वपूर्ण सहयोग गरेका गर्नुभएको छ ।
गाउँको विकास गर्ने हो भने इच्छा शक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ । सुन्दरले आफ्नै लगानिमा गाउँ नै सुन्दर बनाउदैछन् । सुन्दर अर्थात समृद्धियुक्त । यो यात्रामा उनी निरन्तर लागिरहने प्रण गर्छन् । भन्छन्,सकुन्जेल गाउँ विकासमा सहयोग गरिरहने हो, नसकेको दिन देखा जाएगा । उनले विद्यालयहरुमा सहयोग गरेका छन् भने गाउँमा सडकबत्ति जडान गरिदिएका छन् ।
आफ्नै लगानीमा बाटोघाटो निर्माण गरिदिएका छन । खेलकुल तथा कलासंस्कृति पनि उच्च सहयोग गरेका छन् । सकारात्मक सोच बोकेर सहयोगी हात फिजाएर आएको मानिसहरुलाई सुन्दरले अहिले सम्म खालि हात फर्काएका छैनन् । उर्लाबारी ९ को प्रभात निमाविमा उनले मञ्च निर्माण गरिदिएका छन्, घेराबारामा सहयोग गरेका छन् ।
यतिमात्र होईन,सोहि विद्यालयमा रंगरोगन गरेर चिटिक्क पारेका छन् । गाउँको पोलपोलमा सडकबत्ति जडान गरिदिएर गाउँ नै झलमल्ल पारेपछि स्थानीयले खुशी प्रकट गर्छन् । नत्र गाउँ अन्धकार थियो । सुन्दरको सहयोग यतिमै सिमित छैन, गाउँको कृतन मण्डली मठमन्दिर,खेलकुदमा पनि उनको सहयोग उच्च छ । सुन्दर भन्छन्,धन भन्दा पनि मन भएर सहयोग गरेको हुँ । उनले अब विद्यार्थीको लागि छात्रबृत्ति कार्यक्रम ल्याउने योजना रहेको सुनाए ।
हाल उनले आफ्नो गाउँमा एकल लगानीमा बाटो खोलिदिएपछि खेत भित्र भित्र बाटो बनेको छ । स्थानीय काजी लिम्बू भन्छन्,घर अगाडि नै बाटो बनेपछि बिरामी बोकेर लानुपर्ने अबस्था छैन्, गाडी आगनमै आईपुग्छ । बाटो खोलेपछि सम्भावना झनै बढेको लिम्बूले बताए ।
सुन्दरको संर्घषको यात्रा
घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै काठमाण्डौ हानिएका थिए ।
खोपीडाँडामा जन्मेहुर्केर काठमाण्डौमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका हुन् । सुरुमा काठमाण्डौ पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रामीक लिएर ज्यालामजदुरी सुरु गरेका थिए । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो । हाल उनी ठेक्कापट्टा र हाउजीङ्ग व्यवसायमा सम्लग्न छन् । सुन्दर भन्छन्, म अझै आफुलाई एउटा लेबर हुँ भन्न रुचाउछु ।
सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्नेहुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो । तीन दाजुभाईमध्ये कान्छा उनी पढाईमा असफल भएपछि एसएलसी दिएर काठमाण्डौ हानिएका थिए ।
उनले सुरुमा आफ्नो कमाईले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए । त्यसपछि उनले भक्तपुर र खोपिडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाएका छन् ।
ठेक्कापट्टा र हाउजिङ्ग व्यवसायबाट आयआर्जन गरेका श्रेष्ठ समाजसेवामा क्रियाशिल छन् । गाउँको विकासमा उनको चिन्ता रहने गर्छ । उनको सोच छ,हाम्रा सन्ततीले हामी भन्दा दुख नपाउन । श्रेष्ठले समाजमा गरेको आर्थिक सहयोग प्रति उनकी आमा भद्रकुमारी र पत्नी सुनिताले पनि खुशी व्यक्त गरेका छन् ।