• २५ मंसिर, टीकापुर । टीकापुर हत्याकाण्डका आरोपी फरार अभियुक्त मानिएका रेशमलाल चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने लगभग निश्चित भएको छ । शुरुदेखि नै एमाले र कांग्रेसका महिला उम्मेदवारलाई फराकिलो अन्तरले पछि पारिरहेका चौधरी जितको नजिक पुगेका छन् ।

    एक बालकसहित ९ प्रहरीको विभत्स हत्या भएको टीकापुर काण्डपछि थारु समुदायमाथि भएको ज्यादतीका कारण टीकापुर बदनाम रह्यो । रेशम चौधरीलाई प्रहरीले टीकापुर हत्याकाण्डको मुख्य योजनाकार ठहर गर्दै पक्राउ गर्न खोजेपछि उनी फरार छन् ।प्रचण्ड प्रधानमन्त्री भएका बेला दिल्लीमा चौधरीलाई भेटेको विषय निकै विवादमा परेको थियो । पछि सोही सरकारले चौधरीलाई टीकापुर घटनापछि उनको व्यक्तिगत सम्पत्तिको भएको क्षतिस्वरुप डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय समेत गरेको थियो ।

    टीकापुर हत्याकाण्डपछि धेरै थारु युवाहरु समेत विस्थापित भएका थिए । उनीहरुमध्ये धेरैजसो अहिले आ–आफ्नै ठाउँमा फर्किसकेका छन् भने कतिपय थारु अगुवाहरु गाउँ फर्किन सकेका छैनन् । रेशम चौधरीले आफू टीकापुर काण्डमा निर्दोष रहेको भन्दै थारु समुदायमाथिको ज्यादती कसैले नदेखेको बताउँदै आएका छन् ।

    रेशमले भूमिगत अवस्थाबाटै राजपाका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । उनले सामाजिक सञ्जाल र पर्चामार्फत मत माग्नेबाहेक प्रत्यक्ष उपस्थित हुन सकेका थिएनन् । तर, मतगणनाको शुरुदेखि नै उनले कायम गरेको अग्रता आश्चर्यजनक छ ।पछिल्लो मतगणना अनुसार कैलाली १ मा रेशम चौधरी १८ हजार २४२ मतसहित अग्रस्थानमा छन् । उनको प्रतिस्पर्धामा रहेकी एमालेकी गरिमा शाहको ५ हजार २२७ र कांग्रेसकी ईश्वरीको न्यौपाने ४३४८ मत रहेको छ ।

    रेशम चौधरीले कसरी यति धेरै मत पाए भन्ने प्रश्न अहिले टीकापुरमा निकै चर्चित भइरहेको छ । जसरी स्थानीय चुनावमा टीकापुरको मेयरमा एमालेले आश्चर्यजनक नतिजा निकालेको थियो, अहिले रेशम चौधरीको सम्भावित बिजय पनि त्यस्तै आश्चर्यजनक हो ।चौधरीले थारु समुदायको लगभग सबै मत पाएको देखिएको छ । कांग्रेसले यस क्षेत्रबाट पहिलो फोरम लोकतान्त्रिबाट जितेका जनकराज चौधरीलाई प्रतिनिधिसभाको टिकट नदिनु पनि चौधरीका लागि जितको आधार बन्यो ।

    जनकराजलाई प्रदेशमा उठाएर कांग्रेसले अर्कै क्षेत्रकी ईश्वरी न्यौपानेलाई उम्मेदवारी बनाएपछि कांग्रेसभित्र तीब्र अशन्तुष्टि थियो । अछामी समुदायको निर्णायक मत रहेको टीकापुरबाट कांग्रेसको भोट अछामकै चेली एमाले उम्मेदवार गरिमा शाहलाई जाने अनुमान विपरीत रेशम चौधरीतिर प्रतिक्रियात्मक ढंगले गएको अनुमान गरिएको छ ।जनकराज चौधरी पक्षले पनि कांग्रेस उम्मेदवारलाई भोट दिएन । सबैको भोट रेशम चौधरीतिर जानु र उनले थारु समुदायको सहानुभूतिको मत पनि पाउनुले गर्दा फराकिलो अन्तरमा जित सहज भएको हो ।

    अब चुनाव जितेपछि उनी निर्वाचित भएको प्रमाणपत्र लिन आउँछन् कि आउँदैनन् ? त्योबेला सरकारले उनलाई के गर्छ ? यो भने अहिले अनुत्तरित प्रश्न बनेको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …