• काठमाडौँ– नाटकीय खेल भएन र एकले अर्काको आत्मसम्मानमा चोट पुर्याउने काम गरेनन् भने एमाले र माओवादी केन्द्रबीच एकताको बाटो तय भइसकेको छ । तर, यो एकताको केन्द्रविन्दुमा छ, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भूमिकाको सुनिश्चता ।

    यही कारण एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्ताबीच एउटा बहस छ– कुनै कार्यकारी पदविना प्रचण्ड बस्न सक्लान् ? आजका दिनमा प्रचण्ड सेरेमोनियल हुन सम्भव छ ?

    यी प्रश्न बसहमा यसकारण छन् कि, आफ्नो राजनीतिक जीवनमा ओलीभन्दा प्रचण्ड बढी समय कार्यकारी पदमा बसेर काम गरेका छन् । अर्थात प्रचण्ड भनेकै ‘कार्यकारी पद’ जस्तो हो । प्रचण्डले बनाएको ‘ब्रान्ड’ चाहिँ ‘माओवादी भनेको प्रचण्ड र प्रचण्ड भनेको माओवादी’ हो । आफ्नो ‘ब्रान्ड’बाट प्रचण्ड पछि हट्ने सम्भावना कमजोर छ । यद्यपि राजनीति सम्भावनाको खेल चाहिँ हो ।

    एमाले र माओवादी केन्द्रबीचको एकतापछि पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री केपी ओली नै हुने एमालेका केही नेताहरूको अभिव्यक्तिले नयाँ बहस उठाएको हो– प्रचण्डको भूमिका के भनेर । सिंहदरबार नगए पनि पार्टीसत्ताको अभ्यास के हुन्छ ? बालकोटमै बसेर ओली र लाजिम्पाटमै बसेर प्रचण्डले अनुभव र प्रयोग गरेका छन् । त्यसैले ओली र प्रचण्डका लागि पार्टी एकता सिंहदरबारको सत्तासँग मात्र होइन, पार्टीसत्ता जोडिएको प्रश्न पनि हो । आफू निकटका नेताहरूसँग दुवैले यसको ब्रिफिङ पनि गरेका छन् ।

    प्रचण्डसँग एउटा गजबको विशेषता छ, उनी परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सबै प्रयोग गर्न सक्छन् । यही प्रयोगभित्र उनले हारमा पनि जित निकाल्छन् र पार्टीभित्र तथा राष्ट्रिय राजनीतिमा आफूलाई केन्द्रमा राख्छन् । माओवादी आन्दोलनको इतिहास हेरे पनि वा शान्ति प्रक्रियापछि विकसित राष्ट्रिय राजनीतिमै किन नहोस्, प्रचण्ड एउटा यस्ता खेलाडीका रूपमा उत्रिएका छन्, हरेक पटक ‘पेनाल्टी’ लिएर गोल हान्छन् । ‘भद्रगोलमा गोल’ उनको नारा नै हो ।

    यस्तोमा सेरमोनियल पदमा बसेर प्रचण्डले आफ्नो राजनीतिक यात्रा अगाडि बढाउन सम्भव छ ? निकै कम सम्भावना भएको कोर्स देखिन्छ यो आजको दिनसम्म । यसका पछाडि केही कारण छन् ।

    पहिलो– प्रचण्डलाई दोस्रो तहमा बसेर काम गर्ने अनुभव, जाँगर र रहर छैन । उनले यो सन्देश पार्टीभित्र आफ्ना विश्वास पात्रलाई दिइसकेका छन् । एकतापछि ‘दुईवटा कार्यकारी हुन्छन्’ भनेर प्रचण्डले आफ्नो चाहना व्यक्त गरिसकेका छन् । यद्यपि उनले चुनावले पार्टी एकताको अनुमोदन गरेको पनि बताएका छन् ।

    दोस्रो कुरा एकतापछिको माअ‍ोवादी आन्दोलनको ‘आत्मसम्मान’ हो । पार्टी एकताको आफ्नो भूमिका बलियो नहुँदा ‘आत्मसम्मान’मा चोट पुग्न सक्छ भन्नेमा प्रचण्ड सचेत देखिन्छन् । माओवादी र एमालेले एकले अर्कालाई हेर्ने दृष्टिकोण र प्रयोग गर्ने शैली के थियो, सबैलाई ज्ञात छ । उनीहरूबीचको यो एकता चुनावमा हारको ‘भय’ले बनाएको हो । उनीहरूको ‘भय’ सत्यको नजिक पनि रहेछ, जुन समानुपातिकमा काङ्ग्रेसले पाएको मतले पनि पुष्टि गर्यो ।



    ओली र प्रचण्ड दुवै भयबाट बाहिर आएका छन् । दुवैले सम्मानजनक शक्ति प्राप्त गरेका छन् । अब गठबन्धन कायम राख्ने तर पार्टी एकता नगर्ने विकल्प पनि उनीहरूसँग हुन्छ । यद्यपि आजका दिनसम्म नेताहरूले एकता कसैले रोक्न नसक्ने बताएका छन् ।

    एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको मुख्य आधार न विचार हो–न सङ्गठन । हो त मुख्य नेताहरू मात्र । उनीहरूले चाहँदा एकता सम्भव हुन्छ र नचाहँदा विग्रन्छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावले देशलाई दुई पार्टी प्रणालीमा धकेलेको छ । यस्तो भएपछि शीर्ष नेताहरूलाई पनि अब एकताको विकल्पबाट भाग्ने ठाउँ कम छ । बरु ‘विन–विन’ को विकल्पमा भूमिका खोज्ने मात्र हो ।


    प्राविधिक विषयले एमाले–माओवादी एकता रोकियो भने मधेसको एउटा शक्ति राजपा काँग्रेससँग र अर्को शक्ति सङ्घीय समाजवादी फोरम माओवादीसँग एकता गरेर अगाडि जान सक्छन् । यसले नयाँ राजनीतिक शक्ति सन्तुलन बनाउनेछ ।

    एमाले र माओवादबीच एकता हुँदैन भन्ने होइन । यसका लागि शीर्ष नेताहरूको भूमिका तय गर्न विभिन्न विकल्प खोजिनेछन् । शक्ति बाँडफाँडका सूत्र खोजिनेछन् ।

    ओली र प्रचण्डको भूमिका चित्तबुझ्दो बनाउन दुवै नेता प्रमुख हुने एउटा सूत्र हुन सक्छ । एउटाले पार्टी चलाउने र अर्कोले सरकार । फेरि पार्टी भनेकै सरकार र सत्ताका लागि हो । प्रचण्डले भनेजस्तो यो दुवै कार्यकारी हुने विकल्प हुन सक्छ ।



    हुन त यसो गर्दा बहुकेन्द्र बन्छन् भन्ने नेताहरू पनि छन् । तर, आजका दिनमा बहुकेन्द्रको अभ्यास एमालेभित्र पनि भइरहेको छ र माओवादीभित्र पनि । बहुकेन्द्रको प्रभाव नै हो, पार्टीभित्र गुटहरू बन्छन् र हरेक विषय भागबन्डामा टुङ्ग्याइन्छन् । टिकट बाँडफाँड, राजनीतिक नियुक्ति र पार्टी सङ्गठनको जिम्मेवारी हेरफेरमा एमाले र माओवादी बहुकेन्द्रको अभ्यास गरिसकेका छन् ।

    एउटाले पार्टी चलाउने र अर्कोले सरकार चलाउने सूत्र खोज्दा ओली र प्रचण्डको व्यवस्थापन हुन्छ । अब रह्यो दोस्रो पङ्क्तिको व्यवस्थापनको कुरा । आफूलाई उत्तराधिकारी सम्झने दोस्रो पङ्क्तिलाई व्यवस्थापन गर्न सके अरूको केही समस्या हुने छैन । किनभने भिन्दै पार्टी बनाएर गरी खान्छु भन्नेहरूको बलियो आत्मबल एमालेमा पनि छैन र माओवादीमा पनि । अझ महत्वपूर्ण कुरा यो एकता चुनाव जित्नेहरूका लागि चाहिएको छ । किनभने गठबन्धन र एकताका कुरा चुनाव जित्नकै लागि भएका हुन् । अरु सहायक हुन् ।

    सङ्गठनात्मक पक्ष महाधिवेशनबाट हल हुन्छ । सक्नेले जितेर आउँछन् । हार्ने आफै साइड लाग्छन् । कार्यदिशाको सवालमा अब समस्या रहेन, किनभने उनीहरूले संयुक्त चुनावी घोषणापत्र बनाएका छन् । अबको पाँच वर्ष यसैलाई केन्द्रमा राखेर अगाडि बढ्ने विकल्प छ ।

    माओवादीका लागि प्रचण्ड नाम नै काफी छ । जव बामगठबन्धन बन्यो काँग्रेस नेता प्रदीप गिरीले लेखेका थिए, ‘प्रचण्डको अन्तिम चमत्कार’ । प्रचण्ड भविष्यमा पनि अरु चमत्कार चाहन्छन होला ।



    प्रचण्डसँग सानो पार्टी हुँदा पार्टी महासचिव भएर काम गरेको अनुभव पनि छ । आफ्नै नेतृत्वमा जनयुद्ध गरेर राज्यलाई चुनौती दिनसक्ने सङ्गठन र फौजी शक्ति बनाएको इतिहास पनि छ । युद्धबाट क्रान्ति सम्भव नदेखेर यसलाई शान्ति प्रक्रिया मार्फत ‘सेफ ल्यान्डिङ’ गराएको अनुभव पनि छ ।

    पहिलो संविधानसभामा ठूलो जित, दोस्रोमा ठूलो हार र अहिले सम्मानजनक जित पाएको उदारण पनि प्रचण्डसँग छ । वैद्य, बाबुराम र विप्लव जस्ता नेताहरूसँग डिभोर्स गरेर भए पनि माओवादी आन्दोलनलाई नयाँ–नयाँ प्रयोगमा लगेको उनका राजनीतिक कदम छन् । कहिले एमालेसँग र कहिले काङ्ग्रेससँग तालमेल गरेर धेरै नेतालाई पालैपालो प्रधानमन्त्री बनाएको जस पनि उनीमा छ ।

    अहिले पनि काङ्ग्रेसले प्रधानमन्त्रीका लागि उनलाई अनौपचारिक ‘अफर’ गरिसकेको छ । प्रचण्ड मधेससँग सामीप्यता कायम गरेर तराई–मधेसका लागि लचक नेताका रूपमा स्वीकारिएका छन् ।

    पेरिसडाँडालाई भन्दा लाजिम्पाटलाई शक्तिशाली बनाएर उनले आफ्नो हकमा संस्थाभन्दा व्यक्ति ठूलो मानिने मानक पनि तयार गरेका छन् । साधनस्रोत केन्द्रीकृत गरेर सबै नेता–कार्यकर्तालाई आफूसँग आउन बाध्य पार्ने प्राविधिक पक्षमा पनि प्रचण्ड पोख्त छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङसँग एकै ठाउँ बसेर संवाद गर्ने कूटनीतिक खेल पनि जानेका छन् । बेइजिङ र दिल्लीलाई ‘प्रचण्ड नेपालको राजनीतिमा अनिवार्य खेलाडी हुन्’ भन्ने सन्देश पनि दिएका छन् ।

    दोस्रो कार्यकाल सफल प्रधानमन्त्रीका रूपमा नाम पनि लेखाएका छन प्रचण्डले । १० बर्ष अरु राजनीति गर्ने समयसीमा पनि तोकेका छन् । यस्तोमा सेरोमोनियल प्रचण्ड, लाग्छ कल्पना भन्दा बाहिरको कुरा हो ।

    शीतलनिवास प्रवेशमा पनि प्रचण्डको रुचि छैन । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतबार प्रकाशित एक अन्तर्वार्तामा भनेका छन्, ‘अहिले नै उहाँ कुनै सेरेमोनियल पदमा रहने कुरा सायद राष्ट्रको माग बमोजिम हुँदैन र उहाँ त्यसको निम्ति तयार हुनुहुन्न ।’

    ओली प्रधानमन्त्रीका भोका छन् । देशका लागि केही गर्न चाहेका छन् । त्यसैले अन्तिम समयमा उनले प्रचण्डलाई पार्टी अध्यक्षको जिम्मा लगाउन पनि सक्छन् । बामदेव गौतमले भनेजस्तै आलोपालो सरकार चलाउने सूत्र पनि खोज्न सक्छन् र अधिकतमा सम्भव यो छ कि, प्रचण्डको कार्यकारी भूमिकाविना एकता कठिन छ । तर, वामगठबन्धनको सरकार चाहिँ सम्भव छ ।

    ओली र प्रचण्ड पद र शक्तिका भोका छन् । प्रचण्डका लागि शक्ति कति अनिवार्य छ ओली पनि जानकार होलान । आलोपालो सहमति पालन नभएपछि प्रचण्डले ओलीलाई हटाएर काङ्ग्रेसको समर्थनमा आफै प्रधानमन्त्री बनेका छन् । त्यसैले राजनीति हो ‘कथाले मागे पनि जे पनि हुन्छ ।’ र त सम्भावित सत्ता गठबन्धनका विकल्पमाथि विभिन्न शक्तिकेन्द्रमा वहस पनि सुरु भएका छन् ।

    अन्तिममा यति भन्न सकिन्छ, प्रचण्डको ‘पोलिटकल डीएनए’ परीक्षणले भन्छ– उनी पदका भोका छन्, शक्तिका भोका छन् र कार्यकारीका भोका छन् । ओलीले कति भोक मेट्छन्, यो चाहिँ केही दिन पर्खिंदा देखिनेछ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …