विराटनगर । उनको शरीरको कम्मरमुनीको भाग चल्दैन् । आधा शरीर नचल्ने भएपछि उनी एक ठाउँबाट अर्को ठाउँमा जान समेत सक्दिनन् । जिल्लाकै सुन्दरहरैचा नगरपालिका ५ की ७० बर्षीया बतासी ऋषिदेव ६ बर्षदेखि कष्टकर जीवन बिताउँदै आएकी छन् ।
६ बर्षअघि बिरामी भएकी उनी निदाउनुपरे बसेरै निदाउँछिन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनले समयमै उपचार पनि पाउन सकिनन् । अहिले यो अवस्था भोग्नुपरेको छ ।
उमेरले सात दशक काटिसकेकी बतासीले नेपाली नागरिक भएको पहिचान समेत गर्न पाएकी छैनन् । अपाङ्ग र वृद्ध अवस्थामा कष्टकर जीवन बिताउँन बाँध्य छिन् । ‘सधैँ यसरी नै बस्छु ।’ उनले भनिन्, ‘केही काम गर्न सक्दिन् । नागरिकता पनि छैन । वृद्धा भत्ता पाउँन नागरिकता चाहिन्छ रे । नागरिकता छैन । के गर्नु । ’बुढेसकालमा राज्यको नागरिक बन्ने सपना उनीसँग अझै छ । उनी भन्छिन्, ‘७० वर्ष लागे, मसँग नागरिकता छैन्, नागरिकता पाउँन पाए मन ढुक्क हुने थियो ।’
श्रीमान, छोराछोरी, बुहारी सबैको नागरिकता छ । तर आर्थिक अभावका कारण परिवारले नागरिकता बनाउँन विराटनगरसम्म ल्याउने आँट गरेका छैनन् । ‘नागरिकता बनाउँन जिल्लासम्म पुग्ने गाडीभाडा छैन’ बुहारी लहरीले भनिन्, ‘बिहान बेलुका हात मुख जोड्न गाह्रो छ, कसरी बनाउँन सक्नु नागरिकता ।’
नातीको मजदुरीबाटै बतासीको पेट भरीने गरेको छ । आर्थिक अवस्था कमजोर भएकी उनलाई स्थानीय जनप्रतिनिधिहरूले समेत नहेरेको बुहारी लहरीले गुनासो गरिन् ।
उनी भन्छिन्, ‘यति नागरिकता बनाउँन पाए, वृद्धा भत्ताले नै आमाले आफ्नो ज्यान पाल्नु त हुन्थ्यो । ’
अपाङ्ग भएकै कारण बतासीका छोराले हेरचाह गर्दैनन् । छुट्टिएकी बुहारीले उनको पालनपोषन गरिरहेकी छन् ।
अति विपन्न ऋसिदेव परिवारको दैनिकी दुःखले चलेको छ । आर्थिक अवस्था कमजोर देखेर जागरण नेपाल नामक गैर सरकारी संस्थाले सुगुर किनेर दिएको थियो । दुईवटा सुगुर बाहेक अन्य सम्पती नभएको बताउँदै लहरीले सासुको नागरिकता बनाउने सपना पुरा हुन् नसकेको गुनासो गरिन् ।
महिला खबरसँगको कुराकानीमा महिला तथा बालबालिका कार्यालय मोरङका प्रमुख दुर्गा बरालले बतासीको नागरीकता बनाउँने र सुरक्षा भत्ता दिने विषयमा पहल गरिने प्रतिवद्धता गरिन् ।
महिलाखबरबाट