हिलिहाङ गाउँपालिका-४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेका पद्म तामाङ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङलाई दमकबाट आइतबार पक्राउ गरिएको हो । फाल्गुनन्द गाउँपालिका निवासी तामाङले छिमेकी साथी भगिरथ बाँस्तोलाको सहयोगमा गत २९ वैशाखको साँझ शीतललाई गाउँमा रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए ।
तामाङलाई प्रहरीले भोलिपल्टै पक्राउ गरे पनि उनी भागेका थिए । उक्त कार्यालयका साथै जिल्लाका विभिन्न प्रहरी इकाइको सहकार्यमा तामाङलाई पुनःपक्राउ गरिएका प्रनाउ कुँवरले जानकारी दिए ।
उनको पक्राउका लागि विद्यार्थी र नागरिक समाजले दवाव दिँदै आएका थिए । पद्म र शीतलबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि उनकोे हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । तामाङ पक्राउ परेसँगै हत्याको मूलकारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।