पत्रकार तीर्थ सिग्देलले आफ्नो कथासंग्रह ‘मनोनेट’ को आज सार्वजनिक गरेका छन । झापाको बिर्तामोडमाबाट ‘मनोनेट’को अग्रज साहित्यकार भवानी क्षेत्रीले विमोचन गर्नुभएको हो ।
पुस्तक विमोचन गर्दै साहित्यकार क्षेत्रीले पुस्तकमा रहेका कथा छोटो र सरल भएको बताउनुभयो । ‘अहिलेको युग भनेको थोरै बोलेर धेरै बुझाउनुपर्ने युग हो’, उहाँले भन्नुभयो, ‘पुस्तक युग सापेक्ष रहेको छ ।’ कथा छोटा भए पनि कतिपय स्थानमा कवितात्मक शैलीको भएको बताउनुभयो । कथाको अन्त्यमा प्रयोग गरिएका कतिपय वाक्यले कथा पूरा नभएको जस्तो लागे पनि वाक्य मिलन राम्रो भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईं, पत्रकार दिपीन राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको पुस्तकमा २२ वटा कथा समेटिएको छ भने पुस्तक १७२ पृष्ठको रहेको छ ।