प्रेम भट्टराई (केडी)
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा दोस्रो अध्यक्ष कप तथा वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुरा सार्वजनिक गरेको हो ।
खेल विकास समिति कानेपोखरीले आयोजना गर्ने सो प्रतियोगितामा मितेरी युवा क्लवले संयोजन गर्नेछ । जेठ २५ गतेदेखि हुने प्रतियोगितामा वडास्तरीय फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्टन, एथलेटिक्स, म्याराथुन दौड, बुद्धिचाल तथा मैत्रीपूर्ण महिला फुटबल खेल आयोजना हुनेछन् भने रेफ्री (एमपार) ट्रेनिङ पनि गरिने बताइएको छ । जसमध्ये अधिकांश खेलमा गाउँपालिकामा रहेका ७ वटै वडाले सहभागिता जनाउँनेछन् । फुटवल प्रतियोगीता वडा नं ७ को आइतवारे मैदानमा हुनेछ भने भलिवल खेल वडा नं ६ को जनसेवा माविको खेल मैदानमा हुनेछ । यस्तै केही खेलको थप तयारी भैरहेको आयोजकले बताएको छ । फुटवलतर्फका विजेताले ८० हजार प्राप्त गर्नेछन् भने उप–विजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन ।
यस्तै भलिवलतर्फ विजेताले ५१ हजार र उप–विजेताले ३१ हजार का साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य प्रतियोगिताको पुरस्कार राशी भने तोक्न बाँकी रहेको आयोजकले जनाएको छ । सो कार्यक्रममा समितिको तर्फबाट संयोजक भूपाल श्रेष्ठले प्रेस विज्ञप्ति वाचन गर्दै खेलकुद कार्यक्रमको बारे प्रष्ट्याएका थिए । कार्यक्रममा कानेपोखरी गाउंपालिकाका प्रमुख तारा बहादुर काफ्ले, स्थानीय समाजसेवी भोला अधिकारी, प्रशासकीय अधिकृत पुरुसोत्तम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
सो प्रतियोगितामा करिव १५ लाख खर्च हुनेछ भने अध्यक्ष कप अन्तर्गतको फुटवल र भलिवलमा छुटै ४ लाख बेजेट छुट्याइएको छ । पत्रकार सम्मेलनमा कानेपोखरी ५ को बी एण्ड बी कन्ट्रक्सनले प्रतियोगितामा सहभागिता जनाउने वडाहरुको लागि जर्सी हस्तान्तरण गरेको थियो । सोही पत्रकार सम्मेलनमा नै फुटबलको टाइसिट गोलाप्रथाद्वारा तानिएको छ र फुटबलको टाइसिट निर्माण भइसकेको छ ।