• उर्लाबारी । मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकलाई यस भेगको समृद्धिको मेरुदण्ड मान्ने गरिएको धेरै भयो । तर, ठेकेदारको लापरबाहीका कारण कालोपत्रे सम्पन्न हुन नपाउँदै भत्किन थालेको छ ।



    तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले ०२८ सालमा उक्त सडक शिलान्यास गरेका थिए । उर्लाबारीबाट रविसम्मको दूरी जम्मा ५२ किलोमिटर छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किमीमा कालोपत्रे भएको थियो । बाँकी खण्ड अझै धुले छ । गत जेठमा कालोपत्रे बिछ्याउने काम सम्पन्न भयो । र, सँगसँगै भत्किन पनि थाल्यो । अहिले पाँचथरको रवि बजार र आसपासका बासिन्दाले उर्लाबारी झर्नु परे मेची राजमार्गको घुमाउरो बाटो करिब २१३ किमी पार गर्नुपर्छ ।

    रविबाट झापाको दमक जोड्ने करिब ५९ किमीको सडकको २० किमी खण्ड रतुवा खोलामा पर्छ । सोही कारण वर्षायाममा उक्त सडकमा पनि यातायातका साधन बन्द हुन्छन् । उर्लाबारी-मधुमल्ला-रवि सडक तयार भए ती दुवै मार्गको विकल्प बन्ने मात्र नभई यात्राको समय पनि छोटिन्छ । ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दाका लागि तराईसँग जोडिने सहज मार्ग पनि हो यो ।

    उक्त सडकका कुनै खण्डमा पक्की पुल निर्माण गर्नुपर्दैन । ‘पूरै सडक कालोपत्रे गर्ने हो भने पूर्वी नेपालको समृद्धिका लागि कोशेढुंगा सावित हुन सक्छ’, मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले भने । उर्लाबारीमा पूर्व-पश्चिम राजमार्ग र रवि हुँदै राँके पुग्दा मेची राजमार्गमा जोडिन्छ, उक्त सडक । तर, टालटुले विकासको नमूना बनेको छ, अहिले । उर्लाबारी-मधुमल्ला खण्डका लागि आठ करोड ९७ लाख २२ हजार रुपैयाँमा प्रेरारज्योति जेभीले कालोपत्रे गर्ने ठेक्का पाएको थियो । तोकिएको समयभन्दा वर्षदिन ढिलो गर्दै कालोपत्रे गर्दा पनि ठेकेदार कम्पनीले गुणस्तरीय निर्माण गर्न सकेन ।

    अझ, दोस्रो चरणको कालोपत्रेको काम अलपत्र छाडिएको छ । ‘घर अगाडिको सडक कालोपत्रे भएकामा दंग परेका थियौं’, स्थानीय मनोज अधिकारीले भने, ‘तर, भत्किएर हिँड्नै नसकिने भयो ।’

    डिभिजन सडक विराटनगरका साइट इन्जिनियर दीपक झाका अनुसार ठेकेदार कम्पनीले एक चरणको काम मात्र गरेर अलपत्र छाडेको छ । सडक कालोपत्रे गर्न तोकिएको मापदण्ड पनि कम्पनीले पूरा नगरेको झाले जानकारी दिए । ठेकेदारको काम चित्तबुझ्दो नभएकाले कारबाही गर्ने निष्कर्षमा पुगेको झाको भनाइ छ ।

    डिभिजनका अनुसार ठेकेदार राजकिशोर गुप्ताले पेश्कीका रुपमा ९९ लाख ७२ हजार दुई सय रुपैयाँ लिइसकेका छन् । त्यसमध्ये ६३ लाख ५४ हजार रुपैयाँ बराबरको मात्र काम सम्पन्न भएको छ । स्थानीय बासिन्दाले ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै दिएका छन् ।

    डिभिजन सडक प्रमुख जितेन्द्रकुमार चौधरीले ठेकेदारको चरम लापरबाही देखिएको बताए । ‘बाँकी काम गराउने र कारवाही एकसाथ गर्छौं’, उनले भने । कार्यालयका अनुसार बहुवर्षीय योजनाअनुसार काम गर्ने गरी उक्त सडक स्तरोन्नती गर्ने सरकारी लक्ष्य छ । ठेकेदार गुप्ताले भने जिम्मा लिएको काम थोरै मात्र बाँकी भएकाले चाँडै सकेर डिभिजन सडकलाई बुझाउने दाबी गरे ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…