•  मोरङ उर्लाबारीका महमद् अली  विगत १० बर्षदेखि उर्लाबारी चोकमा रहेको पौडेल कस्मेटिक पसलको एक किनारमा बसेर घडी मर्मत गर्दै आएका छन् । जीवन यापनमा उनलाई यसै पेशाले सहजता मात्रै दिएको छैन, आम्दानीको राम्रो स्रोत समेत बनेको छ ।

    लामो समयदेखि यस स्थानमा घढी मर्मत गर्दै आएका उनलाई नचिन्ने यस क्षेत्रका मानिस सायदै कोहि होलान् ! नामले भन्दा पनि कामले आम मानिसहरू माझ परिचित उनकोमा दैनिक ५० जना भन्दा धेरै ग्राहक आउने गर्दछन् । एक छोरा र एक छोरीका बुबा समेत रहेका उनले आफ्नो सन्तानको लालनपालनदेखि शिक्षादीक्षामा समेत यही पेशाबाट भरथेग गरिरहेका छन् । उनकी छोरी स्थानीय बहुमुखी क्याम्पसमा कमर्श विषय लिएर +२ अध्यनरत छिन् भने छोरा भने राधिका उच्च माध्यमिक बिद्यालयमा ९ कक्षामा अध्ययन गरिरहेका छन् ।

    सप्तरीको राजबिराज स्थायी ठेगाना भएका उनी बाल्यकालदेखि नै टेक्निकल फिल्डमा आकर्षित थिए । सोही कारण उनले राजबिराजमा नै रहेको उनको साथीको अजय वाच मेकर पसलबाट यस सम्बन्धी तालीम लिएका थिए । लगातार २ बर्ष त्यहाँ काम सिकिसकेपछि उनी आफैं पसल संचालन गर्ने सोचमा थिए । तर त्यस समय देशमा बढ्दो माओवादी आन्दोलन र त्यसले निम्ताएको दैनिकजसो हुने नेपाल बन्दको मारमा परेर उनी भारत पलायन हुन बाध्य बनेका थिए । श्रीमती रुबि खातुन सहित साथी अमर बहादुर बिष्टको साथमा भारतको आसाम पुगेका उनि त्यहाँ पनि सोही पेशामा सक्रिय रहे ।

    दैनिक ५ सयको हाराहारीमा भएको आम्दानीले  उनको परिवारको दैनिकी राम्रैसँग चलिरहेको थियो तर त्यहाँ पनि नेपालमा जस्तै भारतीय उल्फा पार्टीको आन्दोलनको बन्द हड्तालले जीवन गुजारा गर्नु नै समस्या भएपछि ८ बर्षको भारत बसाइ त्यागेर उनी परिवार सहित पुनः नेपाल  फर्किए ।

    श्रीमान श्रीमती मात्रै गएका उनीहरु फर्कदा साथमा दुई सन्तानसँगै थप जिम्मेवारी पनि लिएर फर्किए थिए । सन्तान बढ्दै जादाँ उनीहरुको लालनपालन देखि उज्जवल भविस्य निर्माणका निम्ति उपयुुक्त कदम चाल्नुपर्ने मोड्मा उनी स्वदेश फर्किएका थिए । जसका कारण आगामी यात्रा कसरी तय गर्ने भन्ने चिन्तामा थिए उनी तर सोही समय उर्लाबारी बस्दै आएका उनको मामाको छोराका सल्लाह अनुसार नै राजबिराज फर्कनु भन्दा उर्लाबारीमा बसेर केही गर्ने सोचका साथ उक्त घडी पसल संचालन गरेका थिए ।

    त्यसयता उनले जानेको सिपको सहि सदुपयोग गर्दै उर्लाबारीमा नै परिवार सहित सुखका साथ जीवन बेतित गर्दै आएका छन् । १ सयदेखि ४ हजारसम्म मुल्य पर्ने घडी बनाइसकेको र मर्मत गर्दा लाग्ने सामाग्रीको मुल्य सामान्य  रहेकाले पनि यसमा राम्रो आम्दानी रहेको पनि अलिले जानकारी गराए । हप्ताको सातै दिन खुल्ला रहने उनको यहाँ आउने जो कोहिले पनि आफ्नो काम गराएर मात्रै फर्कने गरेका छन् ।

    मिजासिलो स्वभावका उनि दैनिक ८ सयदेखि १ हजारसम्म आम्दानी गर्दै आएका छन् । उनले यहीँ कामबाट झापाको दमकमा ४ लाख ५० हजारको १० धुर घडेरी जोडेका छन् भने झन्डै १ लाख रुपैयाँ सहकारीमा जम्मा समेत गरेका छन् ।

    भविस्यमा ब्यापारलाई सडकदेखी बढाएर सटरसम्म पुर्याउने योजना उनको छ । यदि सोचे अनुरुप भएको खण्डमा चाँडै नै यो सपना पुरा हुनेमा उनी विश्वस्त छन् । कुनै पनि काम सानो ठुलो हुदैनन् आफुले जानेको, सिकेको सीपको  सहि सदुपयोग गर्ने हो भने बेरोजगार बन्नु नपर्ने अलिको बुझाइ छ । पछिल्लो समय नेपाली युवा स्वदेशमा रोजगार नभएको भन्दै बिदेश पलायन भैरहेको सन्दर्भमा उनी रोजगार अरुले दिने भन्दा पनि आफैंले सिर्जना गर्नुपर्ने कुरामा जोड दिन्छन् ।

    सानै कामबाट पनि सफलता हात पार्न सकिन्छ तर  दृर्ण इच्छाशक्ति र निरन्तरता भने आवस्यक हुन्छ । अलि भन्छन्,  काम सानोतिनो जस्तोसुकै होस् तर निरन्तरता चाहिन्छ सफलताले आँफै पछ्याउँछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…