लेटाङमा माइली पाथीभरा माताको मन्दिर शिलान्यास
लेटाङः लेटाङ नगरपालिका– १ लाखगाउँमा रहेको डाँडामा माइली पाथीभरा माताको मन्दिर शिलान्यास गरिएको छ । लेटाङ नगरपालिकाका मेयर शंकर राइले शनिबार मन्दिरको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर राईले लेटाङ नगरपालिकामा रहेका धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण गरिरहेको बताए । राईले धार्मिक पर्यटन विकास गर्न यस क्षेत्रका स्थानीयको ठूलो भूमिका रहेको उल्लेख गर्दै मन्दिर परिसरमा तारबार वा कम्पाउण्ड वाल निर्माण र मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राईले सांस्कृतिक संरचनाको दिगो संरक्षणमा जुट्ने स्थानीयवासीको खुलेर प्रशंसासमेत गरेका थिए । उनले लेटाङमा रहेका राजारानी, कुलाहाङ झरना र पाथीभरा माता रहेका स्थानलाई प्रचारप्रसार गर्न र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिपर्ने बताए ।
लाख गाउँको एकबारी सामुदायिक बनको चुरे थुम्कोमा रहेको मनमोहक क्षेत्रमा पाथीभरा माताको ९ तले मन्दिर बनाउने स्थानीयको लक्ष्य रहेको छ । स्थानीय एक युवतीमा पाथीभरा माताको शक्ति उत्रेको र उनकै भनाइ अनुसार खोज्दा सो स्थान उपयुक्त भएको भन्दै स्थानीयवासी पाथीभरा माताको मन्दिर बनाउन उत्साहित भएका हुन् । सो स्थान पहिले पनि शक्तिप्रदान स्थल भनेर चर्चित रहेको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार ललित तामाङले जानकारी दिए ।
स्थानीय दिलबहादुर लिम्बू (सूर्य) को अध्यक्षतामा मन्दिर व्यवस्थापन र पूजाआजा कार्यक्रम तथा व्यवस्थापनको काम थालिएको छ ।