हरिप्रसाद कोइराला
उर्लाबारी। हिउँद सुरु भएसँगै मोरङका गाउँ गाउँमा सिरक,डसना बनाउन भारतीय मजदुरहरू भित्रने गर्छन । यस अघि घरेलु सामग्री(धुनिया)बाट रुवा फिट्दै आएका मजदुरहरू अचेल सुती कपडालाई रुवा बनाउने मेसिन ट्याक्टरमा सँगै लिएर हिड्न थालेका छन् ।
मोरङका प्रत्येक गाउँमा सडक किनारमा बसेर उनीहरू दैनिक १५ हजार बढी नेपाली रुपैयाँ कमाउने गरेका छन् । मोरङको कानेपोखरी–७ मा भेटिएका फिरोज आलम एक महिना यता मोवाइल रुपमा सिरक डसना बनाउँदै हिड्नु भएको छ । भारतको मोतिहारी स्थायी घर बताउने आलमको टिममा थप सात जना कामदार छन् । ट्याक्टरमा सुतीका थोत्रा कपडा मिक्सिङ(फिटेर) गरेर रुवा बनाउने मेसिन लिएर हिडेको उनीहरूले टिमले दैनिक १५ हजार बढि कमाइ गर्दै आएको छ । अझ रोचक कुरा उनीहरूले भारतबाटै सिरक,डसना र सिरानीका पल्ला र खोल समेत लिएर आउने गरेका छन् । सियो धागो नेपालमा उत्पादन हुँदैन , त्यसैले सियो धागो पनि उतैबाट ल्याउने गरेको फिरोजले बताउनु भयो ।
सुतीका साडी, सिरकका खोल, सुतीका सबैखाले पुराना कपडा मिसिनमा हालेपछि रुवा भएर निस्कन्छ । त्यसैबाट डसना र सिरानी बनाउनेहरूको लर्को लागेको स्थानीय प्रभा गौतमले बताउनु भयो । जिउँदा मानिसको कपडा डढाउनु,वा फाल्नु हुन्न भन्ने पूर्वीय मान्यताले गर्दा प्रत्येक घरमा वीसौं वर्ष पुराना कपडा हरू त्यतिकै थन्किएका थिए । गाउँमा डसना बनाउने मेसिन आएपछि प्रत्येक घरले पालो कुरेर डसना, सिरक बनाएको गौतमले बताउनु भयो ।
दैनिक १५ हजार कपडा फिटेको र डसना सिलाए वापत प्राप्त हुने बताए पनि सिरक डसनाको पल्ला र खोल बेच्दा थप ५ हजार आम्दानी हुने पmिरोजको भनाई छ । ट्याक्टर भाडा र ईन्धन खर्चमा ४ हजार खर्च हुन्छ । कपडा फिटेको प्रति केजी २५ रुपैयाँ र सिलाएको १० केजी सम्मको सिरक डसनाको ५ सय ज्याला लिने गरेको उहाँले बताउनु भयो ।
सिरक बनाउने भारतीय कामदार मोरङको सुन्दरहरैचा १, बेलबारी,उर्लाबारी, पथरी, बयरवन , इटहरा लगायतका बजारमा स्थायी रुपमा बसेका छन् । उनीहरू मौसम अनुसार आफ्नो सीप प्रयोग गरेर नेपाल बाट पैसा कमाएर लाने गर्छन । मोवाइल रुपमा ट्याक्टर पछाडि रुवा फिट्ने मेसिन लिएर हिड्नेको संख्या पनि १४ वटा रहेको फिरोजको भनाई छ । उहाँले भन्नुभयो –नेपालीहरू ‘थर्ड क्लास’काम भनेर गर्दैनन । उहाँले आफ्नो बाजेले पनि धुनिया बोकेर ताप्लेजुङ सम्म पुगे सिरक छापेको बताउनु भयो । मात्र प्रविधि फेरिएको हो । काम उही हो, हाम्रो परम्परागत पेशा नै यही हो ।
सिरक डसना छाप्ने मात्र होइन, मौसम अनुसारका घरायसी सामग्रीहरू साइकलमा लगाएर गाउँ गाउँ घुम्ने भारतीयहरूको संख्या २ हजार ५ भन्दा बढी रहेको भारतको पुर्णियाबाट ब्यापार गर्न आउनु भएका साकिर हुँसैनले बताउनु भयो ।
एउटा साइकलमा झडै ५० प्रकारका घरायसी भान्साका सामान देखि लुगा फाटो सम्म बोकेर गाउँ गाउँ हिड्ने उनीहरू दैनिक ८ सय सम्म कमाई हुने बताउँछन । भन्छन– इटहरीमा डेरा छ । बिहान सबेरै उठेर आफ्नो साइकल र सामान भण्डरण गरेको चौकमा पुग्छौं र ब्यापारका लागि हिड्छौं । एउटा टिममा दुई देखि ८ जना सम्म हिड्ने उनीहरूको खाना नास्ताको टुङ्गो हुन्न । जहाँ जतिबेला जे भेटियो त्यही खान्छौं , पश्चिम बंगाल घर भएका मानुष वर्माले भन्नुभयो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार नेपाल भारतका उत्कृष्ठ रेमिट्यान्स भित्राउने १० मुलुकहरूको सूचीमा आठौं स्थानमा पर्छ । दैनिक १ हजार ५ सय युवा त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलबाट वैदेशिक रोजगारीका लागि खाडी तर्फ लागि रहेको बेला भारत जस्तो मुलुकको रेमिट्यान्सको स्रोत नेपाल हो भन्दा धेरै नेपालीले नपत्याउन सक्छन ।
नेपाली श्रम बजारमा मात्र होइन , ब्यापारिक क्षेत्रमा पनि भारतीयहरूको उपस्थिति निक्कै बिस्तार भइरहेको तथ्य प्रष्ट छ । भारतीयहरूले चोरीको बाटो भएर कमसल सामग्री नेपालको गाउँ गाउँमा पुर्याएर बिक्री गर्ने गरेपनि नेपाली प्रशासनले भने ति सामग्रीको ब्यापारलाई वास्ता गरेको छैन ।
भारतीय मुलका ब्यापारी र मजदुरले गर्ने काममा नेपाली मजदुरको आकर्षण भने पटक्कै छैन । चाहे फलफुल ब्यापारमा होस , या सिलाई पेशामा । चाहे कवाडी संकलनमा होस या मोची काममा । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट रिपोर्ट’ अनुसार सन् २०१६ मा नेपाल भित्रने रेमिटेन्समा १ दशमलव ८ प्रतिशतले गिरावट आएको छ ।
सन् २०१७ मा नेपाल भित्रने र यहाँबाट बाहिरिने रेमिट्यान्स दुवै घटेको छ ।
बैंकका अनुसार चालू वर्ष अर्थात सन् २०१७ मा नेपाल भित्रने रेमिट्यान्स करिब साढे ६ खर्ब रूपैयाँ ( ६ अर्ब ३४ करोड ३० लाख डलर) मा मात्र सीमित हुने भएको छ । सन् २०१६ मा नेपालमा करिब ६ खर्ब ८० अर्ब ( ६ अर्ब ६० करोड ७० लाख डलर) भित्रिएको थियो ।
नेपाल भित्रनेसँगै नेपालबाट बाहिरिने रेमिट्यान्स पनि घटेको प्रतिवेदनमा उल्लेख छ । यसले नेपालीहरू पनि साना तिना आय आर्जनका काममा लागेको बुझ्न सकिन्छ ।यसै महिना यद्यावधिक गरिएको विश्व बैंकको द्वीपक्षीय रेमिट्यान्स प्रवाहको प्रतिवेदन अनुसार सन २०१५ मा नेपालबाट ३ अर्ब ७ करोड ८० लाख अमेरिकी डलर बराबरको रेमिट्यान्स बाहिरिएकोमा सन् २०१६ मा त्यो घटेर २ अर्ब ९४ करोड २० लाख अमेरिकी डलरमा झरेको छ ।यसमध्ये भारतले सबैभन्दा बढी अर्थात करिब २ खर्ब ८० अर्ब रूपैयाँ (२ अर्ब ७४ करोड ४० लाख अमेरिकी डलर) नेपालबाट लगेको छ ।