हरि कोईराला
उर्लाबारी पुस ७ गते । मध्य मोरङको कानेपोखरी–६ मा पर्ने सीताधाप गाउँमा अझै बिजुली पुगेको छैन भन्दा धेरैले पत्याउँदैेनन । सीताधापका ३२ घरधुरीले बिजुलीको माग गरेको १० वर्ष भयो तर गाउँ अझै अध्यारो छ ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको शासन भोगिसक्यौं ,तर गाउँमा बिजुली बलेन । सीताधाप गाउँ पूर्व पश्चिम राजमार्गबाट दुई किलोमिटर दक्षिणमा चारकोशे जंगलसँगै जोडिएको छ । सीताधापबासीहरूले कहिले जंगली हात्तीको आतंक खेप्नु पर्छ ,त कहिले झोलुङ्गोमा विरामी बोकेर अस्पताल पुर्याउनु पर्छ । जंगलसँगै रहेको गाउँसम्म पुग्ने सडक सञ्जाल पनि राम्रो छैन । सीताधापका विद्यार्थी अझै डेढघण्टा हिडेर स्कुल जान्छन् ।
सरकारले २०३६ सालमा कोशी टप्पु वन्य जन्तु आरक्षण क्षेत्रका मानिसलाई सट्टाभर्ना दिएर सीताधाप क्षेत्रमा राखेको हो । स्थानीय जीतबहादुर कार्की भन्नुहुन्छ–‘हामी कानेपोखरीको कर्णालीमा बसेका छौं । न बिजुली छ, न खानेपानी र सडक छ ?कानेपोखरी गाउँपालिका पुग्न भन्दा पथरीशनिश्चरे नजिक छ । पूर्व तर्फको डाँस र दही खोलाले सीताधापबासीको भाग्य कहिल्यै खुल्न दिएन ।
तर कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्ले अबको एक वर्षमा सीताधापबासीले बिजुली बाल्न पाउने बताउनु हुन्छ । उहाँले भन्नुभयो ‘ कानेपोखरी र रमाइलो बजारबाट बिजुली पुर्याउन ठूलो खर्च लाग्छ,शनिश्चरेबाट नजिक पर्छ तर बीचमा दुई वटा खोला छन् । ३० घरधुरीका लागि ठूलो धनराशि खर्च हुने भएकोले बिजुली नपुगेको स्वीकार्दै अध्यक्ष काफ्लेले भन्नुभयो ‘अब विद्युत प्राधिकरणले गरेन भने पनि हामी गाउँपालिकाको बजेटबाटै बिजुली पुर्याउने गरि काम गर्छौं ।
पूर्व तर्फ खोला र अरु तीन तीर जंगल भएकोले विद्युत विस्तार गर्न प्राधिकरणले वेवास्ता गरेको काजी कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो –‘रमाइलोमा बिजुली आएकै साल देखि हामीले पटक पटक प्राधिरणसँग अनुरोध गर्यौं । तर प्राधिकरण पोल ब्यवस्था गरे बिद्युत विस्तार गर्ने भन्छ, साविक गाविसले ३० घरमा बिजुली पुर्याउन एक किलोमिटर बाटोमा पोल गाड्ने खर्च छैन, भन्छ । उहाँले संघीय सासन आएपनि बिकास विकेन्द्रीत हुनेमा शंका गर्नुभयो ।