माफी !
फगत सत्ता प्राप्तिको निम्ति,
किरियापुत्रीको हत्या गर्यौ,
फरक धारको देख्ने बित्तिकै,
गुरुको पनि गला दबायौं,
लाग्थ्यो ठुलै बहादुरी देखायौं
त्यो त हाम्रो अपराध रहेछ ।
घाटामा गएका उद्योगहरु,
बेचिखाएको आरोप लगायौं,
निजिकरणको बिरोध गर्दै,
राष्ट्रियकरणको आवाज उठायौं,
दुरदृष्टिको अभाबले रहेछ
अरुण तेस्रो तुहाइदियौं,
पुरुषार्थ जस्तो ठानेका थियौं
त्यो त हाम्रो मुर्खता रहेछ ।
भोकाएका आफ्ना मान्छेहरुले,
सुनै चोरेर पचाए पनि,
पत्निको नाममा सम्पत्ती राखी,
आफु सुकुम्बासी बताएपनी,
प्रतिरक्षाको आशा राखेर,
अरिङ्गालहरु खटाएपनी,
मानवीय स्वभाव बुझ्न सकेनौं,
हामिमा दृष्टिभ्रम रहेछ ।
हिजो लाउडाको बिरोध गर्यौं,
वाइडबडी अहिले घाँडो भयो,
बालुवाटारको सरकारी जमिन,
बिझाइरहने कांडो भयो,
बोली एक व्यबहार अनेक,
जनभावनामा चोट पुर्यायौं,
नीति एउटा कार्यक्रम अर्कै
त्यो चाहिँ ठुलै गल्ती भएछ ।
पुजारिको भाग ठूलो देख्यौं,
राष्ट्र प्रमुखको बाटो छेक्यौं,
सेनापतिको बिरोध गर्दै,
मुखपत्रहरुमा धेरै लेख्यौं,
रिसिबी पुरानो छदै थियो,
अर्को राखेर एउटा झिक्यौं,
पुर्व तयारीबिनाको कदम,
औकात भन्दा पर रहेछ ।
सिण्डिकेट हटाएर ताली खायौं,
कार्यन्वयन भएन गालि खायौं,
तस्कर समात्यौं ताली खायौं,
सुन पचाएर गाली खायौं,
बिषादी रोकेर ताली खायौं,
प्रभु रिसायो गाली खायौं,
खाल्डा नपुरेर गालि खायौं,
धुलो उडाएर गाली खायौं,
तालिको मात्रै आशा राख्नु,
केवल हाम्रो मृगतृष्णा रहेछ ।
माफी माग्दैनौं,
आत्मालोचना गर्छौं ,
अर्को चुनावमा तीन चौथाइ,
अवस्य केही त गर्छौ गर्छौं ।