• काठमाडौँ, पुस १० गते ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकीकरण गर्नेगरी छ बुँदे सहमतिमार्फत चुनावमा होमिएका दुई कम्युनिस्ट नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)को एकीकरणमा ढिलाइ भएपछि राजनीतिक वृत्तमा अनेक टीकाटिप्पणी सुरु भएको छ ।

    एमाले र माओवादीबीच असोज १७ गते भएको सहमतिको पहिलो बुँदामा पार्टी एकीकरणको गृहकार्यका लागि एमालेबाट चार जना र माओवादी केन्द्रतर्फबाट तीन जना पदाधिकारी रहनेगरी पार्टी एकता संयोजन समिति समेत गठन गरिएको थियो । समितिको संयोजन दुवै दलका अध्यक्षले गर्ने सहमति छ ।
    निर्वाचनलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु हुने दुवै दलका नेताले बताउने गरे पनि निर्वाचन सम्पन्न भएको दुई साता बढी समय भइसक्दासमेत संयोजन समितिको औपचारिक बैठक समेत बस्न सकेको छैन । बैठक बस्न नसकेपछि पार्टी एकताप्रक्रिया नै धरापमा पर्ने आशङ्का कतिपय नेता तथा कार्यकर्ता पङ्क्तिमै देखिएको छ । तर एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दुई दलका नेताबीच औपचारिक बैठक बस्न नसके पनि आन्तरिक रूपमा अनौपचारिक छलफल र संवाद जारी रहेको दाबी गर्नुभयो ।

    निर्वाचनपछि चुनावी क्षेत्रका मतदातालाई दिनुपर्ने धन्यवाद र भेटघाटका कारण धेरै समय त्यसमा लागेकाले शीर्ष तहका दुई नेताबीचको समय अभावले बैठक बस्न नसकेको दुवै दलका नेताको प्रस्टीकरण छ । दुवै दलका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक व्यस्तताकै कारण औपचारिक बैठक बस्न नसकेको हो, तर अनौपचारिक संवाद निरन्तर भइरहको छ, उहाँले भन्नुभयो ।

    शनिबारका लागि तोकिएको पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेपछि धेरैले टिप्पणी गर्ने अवसर पाएका थिए । माओवादी अध्यक्ष प्रचण्ड शनिबार भैरहवाको कार्यक्रममा व्यस्त रहनुपरेको र मौसमको खराबीले जहाज नउडेपछि बैठकमा सहभागी हुन नसकेको उहाँको सचिवालयले जानकारी दिएको छ । बैठक बस्ने पूर्वतयारी थियो तर मौसमको प्रतिकूलताका कारण बैठक बस्न नसकेको हो, अन्य कुनै कारण छैन, सचिवालयका एक सदस्यले भन्नुभयो ।
    नेता नेम्वाङले दुई नेताबीच निरन्तर टेलिफोन संवाद र सम्पर्क भइरहेकाले पार्टी एकताका विषयमा कुनै आशङ्का व्यक्त गर्नु उपयुक्त नरहेको बताउनुभयो । “प्राविधिक कारणले बैठक हुन नसक्नु एउटा पक्ष हो, तर बैठक बस्न नसकेकै कारण पार्टी एकीकरणमा बाधा पुग्छ कि भन्ने आशङ्का गर्नुको कुनै तुक छैन, उहाँले भन्नुभयो । दुवै नेताबीच समय मिलेका बेला उपयुक्त समयमा बैठक बस्ने उहाँले बताउनुभयो ।

    ‘दुई प्रमुख कम्युनिस्ट नेताबीच भइरहेको एकताले अन्य शक्ति झस्केकाले भरसक एकता नहोस् भन्ने चाहना राख्ने तत्वहरूले फैलाएको हल्ला मात्र हो, पार्टी एकीकरण हुनेमा कुनै दुविधा छैन’, उहाँले भन्नुभयो । यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाका अनुसार शनिबार भैरहवाको कार्यक्रम र आइतबार र सोमबार चित्तवनको कार्यक्रममा अध्यक्ष प्रचण्ड व्यस्त रहनुपर्ने भएकाले मङ्गलबार मात्र एकता संयोजन समितिको बैठक बस्ने बताउनुभयो । ‘बैठक बस्ने विषयमा कुनै द्विविधा छैन, समयअभावका कारणले मात्र बैठकको अनुकूलता मिल्न नसकेको हो’, उहाँले भन्नुभयो ।

    तिमिल्सिनाका अनुसार आइतबार बिहान दुवै अध्यक्षबीच करिब १० मिनेट टेलिफोन संवाद भएको छ । संवादमा पार्टी एकीकरण, राष्ट्रियसभा गठनका लागि अध्यादेश र सरकार गठनको प्रक्रियाका विषयमा केन्द्रित भएर संवाद भएको तिमिल्सिनाले जानकारी दिनुभयो । शनिबारको एक कार्यक्रमा अध्यक्ष प्रचण्डले बोलेको विषयलाई लिएर मिडियामा ट्वीस्ट समाचार प्रकाशन भएकोमा आपत्ति जनाउँदै तिमिल्सिनाले भन्नुभयो, अध्यक्ष प्रचण्डले एउटा कुरा बोल्नुभयो तर मिडियामा अर्को समाचार छापियो । तिमिल्सिनाका अनुसार अध्यक्ष प्रचण्डले भन्नुभएको थियो, ‘एमालेले चाहेको भए फोरमलाई लिएर पनि सरकार बनाउन सक्थ्यो तर पार्टी एकतामा एमाले इमानदार भएकै कारण माओवादी केन्द्रसँगको एकतामा जोड दिएको हो । ’

    कात्तिक १५ गते बसेको एकता संयोजन समितिको बैठकपछि औपचारिक रूपले अर्को बैठक बस्न सकेको छैन । पार्टी एकता गर्दा नेताहरूको व्यवस्थापन र जिम्मेवारी मिलाउनुपर्ने भएकाले केही समय लाग्ने नेताहरूको भनाइ छ । एमाले स्थायी कमिटी बैठकमा पनि सोबारे अध्यक्ष ओलीले धारणा राख्नुभएको थियो । आगामी सरकारको प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीलाई अगाडि सार्ने एमालेले तयारी गरेपछि एकतापछि पार्टी अध्यक्षको जिम्मेवारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाउनुपर्ने तर्क माओवादी नेताको छ । यस विषयमा संयोजन समितिको बैठकले ठोस गृहकार्य र निर्णय गर्ने दुवै दलका नेताले बताउँदै आउनुभएको छ ।आजको गोरखापत्रमा समाचार छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …