• काठमाडौं , १० पुस : कांग्रेस(एमालेबीच विवाद देखिएको राष्ट्रियसभा निर्वाचन विधिमा मध्यमार्गी धारबाट सहमतिको खोजी सुरु भएको छ । राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीमा गर्ने वा एकल संक्रमणीय प्रणालीका आधारमा गर्ने भन्नेमा विवाद बढेपछि राष्ट्रपतिसमक्ष पुगेर थन्किएको अध्यादेशको भविष्य र नयाँ सरकार गठनमा निरन्तर अवरोध देखिन थालेपछि दलहरू मध्यमार्गी बाटोबाट सहमतिको खोजीमा लागेका हुन् ।

    राष्ट्रियसभामा कांग्रेसको स्थानलाई पनि सुरक्षित राख्ने गरी सहमति खोजीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसँग आग्रह गरेका छन् । गृहजिल्ला चितवनमा रहेका दाहालले आइतबार बिहान एमाले अध्यक्ष ओलीसँग टेलिफोन वार्ता गरी राष्ट्रियसभा निर्वाचन विवादलाई अब धेरै दिन लम्ब्याउन नहुने भन्दै राष्ट्रियसभामा प्रतिपक्ष पनि चाहिने र कांग्रेसलाई सुरक्षित हुन सक्ने गरी लचकता प्रदर्शन गरेरै भए पनि जानुपर्ने बताएको जनाएका छन् ।

    ‘प्रतिपक्ष पनि सशक्त रहे मात्र राष्ट्रियसभा प्रभावकारी हुन्छ । त्यसो हुँदा त्यहाँ कांग्रेस भएन भने अप्ठ्यारो हुन्छ कि भनेर मैले ओलीजीलाई सोचौं भनेको छु’, दाहालले चितवनको एक कार्यक्रममा भने, ‘अब यो विषयमा विवाद गरिरहनु हँुदैन, हल हामीले निकाल्नै पर्छ ।’

    त्यसो त दाहालले शनिबार बेलुकी पनि एमाले अध्यक्ष ओलीसँग टोलिफोन वार्ता गरेका थिए । आइतबारको टोलिफोन वार्ता भने आधा घन्टाभन्दा लामो समय भएको थियो । दुई दिन चितवनमै कार्यक्रम बनाएका दाहालले ओलीलाई आफू तुरुन्तै काठमाडौं आउनुपर्ने भए पनि आउने तर समस्याको समाधान खोज्नुपर्ने बताएका थिए । जवाफमा ओलीले आफ्नो कार्यक्रम सकेर काठमाडौं आउँदा हुन्छ भनेर दाहाललाई भनेका थिए ।

    माओवादीले अब यो विवादलाई धेरै लम्ब्याउन चाहिरहेको छैन । संसद्मा प्रतिनिधित्व गर्ने ५ दलमध्ये तीन दल ९कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी० एकल संक्रमणीय, एमाले बहुमतीय र माओवादी यो विषयमा मौन बस्दै आएको छ । बहुमतीय प्रणालीअनुसार राष्ट्रियसभा निर्वाचन भए एमाले(माओवादी गठबन्धन हाबी हुने र कांग्रेससहित अन्य लोकतान्त्रिक गठबन्धनलाई घाटा पुग्ने देखिएपछि कांग्रेसले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि मात्रै सरकार छाड्ने सर्त राखेको छ ।

    एकल संक्रमणीय प्रणालीमा राष्ट्रियसभा गठन हुँदा एमाले २६, माओवादी १२, कांग्रेस १२ देखि १४, संघीय समाजवादी र राजपाले दुई(दुई जना प्रतिनिधित्व पाउनेछन् । तर, बहुमतीय प्रणालीमा जाँदा एमाले(माओवादी गठबन्धनले ४८ र कांग्रेससहित फोरम र राजपाको गठबन्धन निर्माण भए ८ जना प्रतिनिधित्व हुने देखिन्छ । यो कुल ५६ सदस्यको परिणाम हो । ५९ सदस्यीय राष्ट्रियसभामा थप तीन जना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था संविधानमा छ । – अन्नपुर्ण पोष्टबाट ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …