• १० पुस, भोजपुर । भोजपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरु प्रदेश नं. १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन् ।

    एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पाएको जिल्लाबाट प्रतिनिधिसभामा सुदन किराँती निर्वाचित भएका छन् भने प्रदेश सभाको (क) मा राजेन्द्रकुमार राई र (ख) मा शेरधन राई निर्वाचित भएका छन् ।

     

    २०६४ को संविधानसभामा सांसद निर्वाचित सुदन किराँती ०७० मा पराजित भएका थिए । यसपटक भने उनले वाम गठबन्धनको सहयोगमा जित निकालेका छन् ।

    जिल्लामा नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वसञ्चारमन्त्री शेरधन राई प्रदेशसभामा विजयी भएका छन् । प्रदेशको नेतृत्व लिने उद्देश्यका साथ उम्मेदवारी दिएका राई २० हजार ३३४ मत ल्याएर प्रदेशसभामा विजयी भएका थिए ।

    निर्वाचित भइसकेपछि भोजपुरका लागि विकासका के प्राथमिकता हुन सक्छन् भनी प्रश्न गर्दा प्रदेशसभा सदस्य शेरधन राईले भने, ‘भोजपुरको विकासका लागि सडक र विद्युतीकरण नै प्राथमिकतामा पर्छन् । त्यसपछि खानेपानी, शिक्षा, स्वास्थ्य तथा पर्यटनको विकास गर्नुपर्ने आवश्यकता पनि छ । हामी घोषणापत्रअनुसारका प्रतिबद्घतालाई सूत्रबद्ध गरी काम शुरु गर्छौं ।’

    भोजपुरबाट विजयी बनेर मुख्यमन्त्रीको दाबेदार रहेका राई भन्छन्, ‘प्रदेश नं १ तुलनात्मकरुपमा विकासको सम्भावना भएको प्रदेश हो, यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, मकालुसहित आठ हजार मिटर माथिका धेरै हिमाल भएकाले पर्यटनको राम्रो सम्भावना छ भने अरुण, तमोरलगायत कोशी नदी पनि भएकाले विद्युत् उत्पादनको पनि अपार सम्भावना छ । हामीले यस प्रदेशबाटै भारत, चीन, भुटान र बंगलादेशसँग सडक सञ्जालले जोडी मुलुकको व्यापार विस्तार गरी समृद्धि हासिल गर्न सक्छौँ ।’

    यस क्षेत्रमा कृषि, पर्यटन, जलस्रोतको तीव्र विकास गरी प्रदेशलाई समृद्घ बनाउन सकिने र पर्यटन विकासका लागि विराटनगर विमानस्थललाई पनि यथोचित विकास गर्नुपर्ने उनले बताए ।

    विभिन्न स्थानलाई प्रदेश नं १ को राजधानी बनाउने चर्चा भइरहेका बेला राईले यो विषयको टुंगो छलफलबाट लगाउनुपर्ने बताए । उनले प्रदेशको राजधानी र नामांकन प्रदेशसभाको दुई तिहाइले मात्र तोक्नसक्ने बताए । नयाँ सरकार बनेपछि यस क्षेत्रमा निश्चय नै परिवर्तन आउने उनको दाबी छ ।

    भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का सुदन किराँतीले भोजपुर शैक्षिक र राजनीतिक जागरणका हिसाबले माथि भए पनि विकासमा पछि परी पूर्वकै कर्णाली जस्तै रहेकाले सडक, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमै ध्यान दिनुपर्ने बताए ।

    समग्र प्रदेशकै विकासको सन्दर्भमा पनि वाम गठबन्धनका तर्फबाट भोजपुरको प्रदेश नं (ख) बाट निर्वाचित शेरधन राईलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारिएको पनि उनले बताए । सो हुनसकेमा समग्र १ नं प्रदेशको विकासमा भोजपुरले नेतृत्व गर्ने र भोजपुर पनि यसबाट लाभान्वित हुने उनको भनाइ छ ।

    भोजपुरको प्रदेश (क) बाट प्रदेशसभामा नेकपा (एमाले) बाट निर्वाचित सांसद राजेन्द्रकुमार राई पनि भोजपुरको मुख्य समस्या बाटो नै भएको बताउँछन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…