स्याङ्जा । स्याङजामा कांग्रेसको चुनावी समीक्षा बैठकमै कुटाकुट भएको छ । झडपमा ३ जना घाइते भएका छन । सोमबार वालिङको पतञ्जली हलमा बसेको क्षेत्र नम्बर दुई स्तरीय समीक्षा बैठकमा दुई पक्षका कार्यकर्ताबीच झडप भएको हो ।
रामचन्द्र पौडेल पक्षधरले देउवा पक्षका कार्यकर्ताको कुटपिट गरेको आरोप लगाएका छन् । पौडेल पक्षका भेषराज अर्याल, सुशील काफ्ले र कमल ढकाल घाइते भएका छन । अर्याल र ढकाललाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको बताइएको छ ।
बैठकमा देउवा पक्षले पौडेल पक्षमाथी अन्तरघात गरेको आरोप लगाएपछि विवाद शुरु भएको हो । विवाद बढदै गएपछि कुटाकुट भएको बताइएको छ ।
देउवा निकट नेता गोपालमान श्रेष्ठ जिल्लाको क्षेत्र नम्बर २ मा ३ हजार ७ सय मतले पराजित भएका थिए । देउवा पक्षले पौडेल पक्षले असहयोग गरेका कारण निर्वाचनमा पराजित भएको आरोप लगाएको छ ।