• काठमाडौं  ।  प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगणना सकिँदा कांग्रेसको पराजयको अपजस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका थाप्लामा परेको छ । यो स्वाभाविक पनि छ । सभापतिका रुपमा कांग्रेसले जितेको भए देउवाले वीपी कोइरालाले पाए बराबरको जस पाउँथे । अहिले हारेकाले हारको अपसज पनि उनकै भागमा परेको छ ।

    देउवाकै नेतृत्वका कारण कांग्रेसले चुनाव हारे पनि देउवाले नतृत्व गरेको सरकारले भने ऐतिहासिक काम सम्पन्न गरेको छ । संविधान कार्यान्वयका लागि अति नै महत्वपूर्ण मानिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संविधानले तोकेको समयभित्र हुनु सजिलो थिएन । तर देउवाले यो असम्भव कामलाई सम्भव गरेर ईतिहासमा नाम लेखाएका छन् । उनका पहिलेका बद्नामी आफ्ना ठाउँमा होलान्, तर राजतन्त्रबाट देशलाई गणतन्त्रमा संस्थागत रुपमा लैजाने काम उनकै नेतृत्वमा सम्पन्न भएको छ ।

    यो सफलताले यसअघि देउवामाथि लाग्दै आएको ‘असक्षम’ र ‘भर पर्न नसकिने’ नेताको उपनाम च्यातिएको छ । नेतृत्वकर्ताका हैसितमा सम्बन्धित पार्टीलाई चुनावमा सफलता दिलाउन सक्नु नेतृत्वकर्ताको पहिलो कर्तव्य हो । तर, योपटकको चुनावमा देउवा त्यो दायित्व पूरा गर्न चुके पनि देशप्रतिको दायित्व पूरा गर्नुभएको छ । पार्टी हार्नुको कारण र सुधारका उपायबारे कांग्रेसले गम्भीर समीक्षा गर्दा अपजस पक्कै पनि उनका भागमा मात्र पर्ने छैन ।

    संयोग नै मान्नुपर्छ कांग्रेसका अघिल्ला सभापति सुशील कोइराला नेतृत्वको सरकारको पालामा जारी भएको नेपालको संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण काम देउवाले गर्ने अवसर पाए । संविधान घोषणापछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारबाट माओवादीलाई बाहिर निकालेर प्रचण्डलाई प्रधामन्त्री बनाउँदा होस् वा माओवादीको समर्थनमा आफ्नै नेतृत्वमा सात महिनाअघि सरकार बनाउँदा होस्, देउवाले चुनाव गराउँदैनन् भनेर गरिएको आशंका पूर्णत असत्य सावित भएको छ ।

    वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको चुनाव सम्पन्न भएपछि चौथोपटक सत्ताको बागडोर हातमा लिँदा सबैका मनमा माघ ७ गतेभित्र तीनै तहको चुनाव देउवाले गराउलान् कि न गराउलान् भन्ने संसय थियो । संविधानले तोकेको माघ ७ गतेभित्र तीन तहको चुनाव नहुँदा माघ ८ गतेदेखि संवैधानिक र राजनीतिक संकटको भुमरी सुरु हुने आशंका व्याप्त थियो ।

    यदि आउँदो माघ ७ गतेभित्र स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नभएको भए संविधानसभाबाट जारी भएको संविधान दुई वर्ष नपुग्दै औचित्यहीन हुने थियो । देशमा अर्को अनिश्चिय र अस्थिरताको नयाँ अध्याय सुरु हुने थियो । तर देउवाकै नेतृत्वमा चुनाव भएपछि देश यस्ता आशंका गर्ने अवस्थाबाट मुक्त भएको छ । र नेपाल नयाँ दिशामा अघि बढेको छ ।

    देउवाको हातमा सत्ता पुगेसँगै यस्ता प्रश्न उठ्नु स्वभाविक पनि थियो, किनकी यसअघि तीनपटक सरकारको नेतृत्व गर्दा देउवाकै हातबाट गम्भीर गल्तीहरु भएका थिए । २०५२ सालमा माओवादीलाई जंगल पठाउने र २०५९ सालमासंसद विघटनको सिफारिस गरेर राजा ज्ञानेन्द्रको हातमा प्रजातन्त्र बुझाउने काम देउवा प्रधानमन्त्री हुँदै भएका थिए ।

    आफ्नो बद्नाम पृष्ठभूमिलाई बदल्नु देउवाका लागि चुनौति र अवसर दुवै थिए । तर, उहा यस अवधिमाचुनौतिको सामना गरेर बद्नामीलाई पखाल्ने अवसरसदुपयोग गर्न सफल हुनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो चरणका लागि कात्तिक ५ गते उम्मेद्वारको मनोनयन भइसक्दा समेत तोकिएको मितिमा चुनाव हुँदैन कि भन्ने आशंका व्याप्त थियो ।

    अझ मतपत्रको विषय सर्वोच्चमा पुग्दा कांग्रेस र सरकारकै ‘सेटिङ’ मा चुनाव सार्ने बहाना खोजिएको भनेर आशंका गर्नेको कमी थिएन । तर निर्वाचन आयोगले प्रत्यक्षतर्फ दुर्ववटा मतपत्र छाप्ने निर्णय गरेर तोकिएकै मिति मंसिर १० र २१ गते चुनाव गर्ने कुरा सार्वजनिक गरेपछि चुनावका लागि विश्वसनीय वातावरण बन्यो । त्यसका लागि सरकारको भूमिका पक्कै पनि सकारात्मक नै थियो ।

    कांग्रेसले यो पालि पाएको दण्डको कारण लामो समय सत्तामा बस्दा पनि विकासका काम नगरेकाले हो । देशका दुई ठूला वाम घटकको गठबन्धनले नागरिकलाई कांग्रेसको विकल्प दियो । कांग्रेसभित्र खिचातानी र घात प्रतिघात मात्रै नभएको भए पनि कांग्रेसले हारको अहिलेको जस्तो हविगत बेहोर्नु पर्ने थिएन । यति हुँदाहुँदै पनि समानुपातिकमा आएको मतले नेपाली कांग्रेसलाई संसदको दोस्रो ठूलो दल बनाउने कुरा त पक्का नै छ ।

    हार बेहोरका नेताका लागि हारलाई आत्मसात गर्न कठिन भए पनि कांग्रेस जस्तो लोकतान्त्रिक विधि र प्रक्रियामा विश्वास गर्ने मास बेस पार्टीले एउटा चुनाव हार्दैमा आत्तिनु पर्दैन । चुनाव त फेरि अर्को पाँच वर्षपछि अवश्य पनि आउँछ । नागरिकको आकांक्षा पूरा गर्न सकेनन् भने अहिले राम्रो मत पाएका एमाले र माओवादीलाई पनि नागरिकले पाँच बर्षपछि अहिले कांग्रेसलाई झै दण्डित गर्नेछन् ।

    शर्त के मात्रै हो भने त्यसबेला विकल्प दिन कांग्रेस अबको पाँच वर्षका लागि रचनात्मक प्रतिपक्ष भएर संसदमा आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्छ । किनकी अहिले कांग्रेसले हारे पनि संविधान र लोकतान्त्रिक मूल्य मान्यताले जितेको छ । र त्यसको नेतृत्वकर्ता शेरबहादुर देउवाले पनि जित्नुभएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …