बाहुण्डाँगी । कमलनगर जेसीजको चौथो वार्षिक उत्सवको अवसरमा एक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा भएको रकतदानमा ३० जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको संयोजक विष्णुभक्त लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि कमल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल रहनु भएको थियो । शाखा संस्थापक अध्यक्ष रुपनारायण न्यौपानेले कार्यक्रमको बारेमा स्पष्ट पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव रिजु कार्कीले गर्नु भएको थियो ।
यसैगरी शाखाको संस्थापक सदस्य कविता बस्नेतकी आमाको उपचारका लागि शाखाले नगद १५ हजार आर्थिक सहयोग गरेको छ । शाखाका निवर्तमान अध्यक्ष केदार कटुवालको टोलीले उक्त रकम परिवारलाई हस्तान्तरण गरेका हुन् ।