•  



    चितवन, १२ पुस- नारायणगढ–मुग्लिन सडकखण्डमा यही पुस १८ गतेदेखि राति यातायात बन्द गरिने भएको छ ।सडक विस्तारको काम भइरहेको उक्त सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो । काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो ।



     



    जिल्ला प्रशासन कार्यालय भरतपुरमा आज सम्पन्न सरोकारवालाहरुको बैठकले राति पाँच घण्टा र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव, सुरक्षा निकायका प्रमुख, ठेकेदार कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।



     



    बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउनलगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्नेे कामलाई अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई सवारी आवागमन प्रभावकारी बनाउने, सवारी रोकिएको समयमा कामलाई तीव्रता दिने र रातिको समयका काम गर्न विद्युत् प्राधिकरणसँग समन्वय गरी उज्यालोको व्यवस्था गर्ने निर्णय गरेको छ ।



     



    ठेकेदार कम्पनीका प्रतिनिधिहरुले भने दिउँसो आठ घण्टा सवारी रोकेर काम गर्न दिन माग गरेका थिए । रातिमा काम गर्ने जनशक्ति अभाव हुने र कामलाई सोचेजति छिटो गर्न नसकिने उनीहरुको भनाइ थियो ।



     



    प्रजिअ भट्टले काम सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको र यसअघि गरिएका निर्णयलाई कार्यान्वयन नगरिएको बताउँदै कामलाई तीव्रता दिन आग्रह गर्नु भएको थियो । उहाँले भन्नुभयो – “हामी निर्णय गर्दै जान्छौँ, त्यो कार्यान्वयन हुँदैन । काम पनि हुन सकेको छैन । जनताले पनि दुःख पाएका छन् ।”



     



    नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख यादवले विगतमा नाकाबन्दी, चक्काजाम, इन्धन अभावका कारण कामको प्रगति हुन नसकेको बताउँदै चालु आर्थिक वर्षमा पनि वर्षा, चाडपर्व र निर्वाचनले गर्दा सोचे जति काममा प्रगति हुन नसकेको स्पष्ट पार्नुभयो ।



     



    उहाँका अनुसार हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको छ ।



     



    उक्त सडकखण्डको १६ किलो र २२ किलोमा ५०० मिटर र ३३ किलोमा ३०० मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तह कालोपत्र भएको छ । सो सडक तीन पत्र कालोपत्र गरिँदै छ । राजधानी प्रवेशको ‘लाइफलाइन’का रुपमा यो सडकलाई लिने गरिन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…