• आदरणीय दाजु,नमस्कार

    सर्वप्रथम, १२ दिनसम्म न्यायिक हिरासतमा रही ढरौटीमा रिहा हुनुभएकोमा म यहाँँलाई हार्दिक बधाई दिन चाहन्छु । साथै, तपाईं यथासिग्र पूर्ण रुपमा  निर्दोश सावित भएर निसर्त कानुनी दायराबाट मुक्त हुनुहुनेछ भन्ने आशा समेत लिएको छु ।

    दाई, तपाईंलाई छानविनको लागि केही दिनको लागि रिमाण्डमा लिँदा मात्रै देशका कुनाकाप्चाबाट लाखौं  सुवेच्छुकहरुले तपाईंको समर्थनमा लगाएका नाराहरु तपाईंको कानमा पक्कै गुन्जियो होला । अनी, ति नाराहरुमा मिश्रित तपाईं प्रतीको आस्था, विश्वाश र भरोशाहरुलाई तपाईंले पक्कै पनि मनन् गर्नुनै भयो होला ।

    तालुपोल्ने घाम र छाला डढ्ने तापक्रमका वाबजुद पनि तपाईंको समर्थनका निमित्त हातमा राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका जनसागरको टाउकोमा लाठी बर्सिएको र अश्रु ग्याँस छोडिएको खबर पनि प्राप्त गर्नुनै भयो होला । तपाईंको लागि मर्न र मार्नको लागि तयार रहेको एउटा ठुलो जमातले भेँडा , अन्धभक्त, भरौटे र झोलेहरुको उपमा पाएको यथार्थबाट पनि तपाईं पक्कै अन्जान हुनुहुन्न ।

    यि सब घटनाका वाबजुद तपाईं यतिखेर शसर्त, धरौटीमा रिहा त हुनु भएको छ तर तपाईं माथि लागेको "आत्महत्याको लागि दुरुत्शाहन गरेको"  आरोपबाट भने मुक्ती मिलेको छैन । यो अवस्थामा म तपाईंलाई यसै पत्र मार्फत  केही अनुरोध गर्न चाहन्छु, कृपया मेरो अनुरोधलाई आफ्नो एउटा शुभचिन्तकको सुवेक्षाको रुपमा लिनु होला ।

    दाई, तपाईंले प्रहरीको कस्टडीमा रहँदा आफु रिहा भएको तीन मिनेटमा सँच्चा दोषी पत्ता लगाउने स्टेटमेण्ट बाहिरिएको थियो । के त्यो स्टेट्मेण्ट तपाईंँकै थियो ? कि तपाईंको नाममा कोही कसैले पोखिदिएको भावनात्मक
    अभिब्यक्ती ?

    यदी तपाईंकै अबिब्यक्ती हो भने तपाईंले आफ्नो प्रतिवद्दता पुरा गर्न ढिला गर्नु हुन्न । ३ मिनेटको सट्टा ३ दिन लाग्ला तर तपाईंबाटनै यो घटनाको रहस्योद्घाटन भयो भने कानुनको लागि पनि एउटा राम्रो सवक मिल्नेछ र अपराधी पत्ता लगाउन बर्दीनै लगाउनु पर्दैन, एउटा असल नागरिकले पनि त्यस्मा महत्वपूर्ण भूमिका खेल्न सक्दछ भन्ने पाठ सबैले सिक्नेछन ।

    त्यसै गरी , कस्टडीमा रहँदा तपाईंँले मृतक सालीकराम पुडासैनिले आत्महत्या गर्नु पुर्व खिचेको भिडियो आफुले नहेरेको भन्ने बयान दिनु भएछ । के यो सत्ते हो या कसैले फैलाएको अफवाह ! मलाई त यो कुरा विश्वाशनै लागेन ।

    कुनै पनि केसको जडसम्म पुग्न गहन अध्ययन गर्ने तपाईंको कला, शिप र क्षमताले नै तपाईंलाई अहिलेको यो उचाइमा पुर्‍याएको हुनुपर्छ भन्ने मेरो ठम्याई छ । बिषयको जरासम्म पुग्न सक्ने एउटा  यस्तो ब्यक्तिले आफु माथिनै लागिरहेको एउटा संगिन आरोपको बारेमा त्यसको सत्य तथ्य नबुझी या त्यस्को बिषयमा चासोनै नदेखाई प्रहरीको पछी लुरुलुरु हिंड्नु भयो होला त !

    यदी तपाईंले भने जस्तै सालीकराम जीको भिडियो नहेरिकनै प्रहरीको पछी लागेको हो भने तपाईले सालीकरामको आरोप र  मृत्युलाई नै नजर अन्दाज गरेको ठहरिन्छ जुन एउटा जिम्मेवार ब्यक्तीको रुपमा कहलिएको ब्यक्तीले त्यस्तो कार्य गर्दैन। अत: मलाई तपाईंबाट यो गल्ती हुन्छ भन्ने विश्वाश छैन ।

    तपाईंले रिहा भए पस्चात्,  फुलका मालाले भरिएको गला अनी  अबिरको रङ्गले रङ्गिएको मुहारसहित  सर्वप्रथम आफ्नो पक्षमा बोलिदिने र आफ्नो पक्षमा लडीदिनेहरुलाई हार्दिक धन्यवादका शब्द पोख्नु भयो , धेरै राम्रो गर्नु
    भयो । लाठीको चोट र अश्रुग्याँसको पिरोले घाईते भएकाहरुलाई अस्पातलमै भेट्न जानु भयो त्यो त राम्रो गर्नु भयो ।

    अब दाई, एक पटक सालीकराम पुडासैनीकी बिधुवी पत्नी सम्झना पुडासैनीलाई पनि भेटी दिनुसन् है !  उनी पनि यतिखेर पतीको वियोगमा छिन, गहिरो शोकको चोटमा छिन । तपाईंको छोटो भेटले मात्रा पनि उनको पिँडामा मलम लाग्न सक्छ । सम्झनासंगको त्यो भेटमा तपाईंले आफ्नो स्टेटमेनलाई दोहर्‍याउन नबिर्सनु होला  ठोकुवाका साथ भन्नु होला " सम्झना, यदी यो घटनामा म आँफै दोशी ठहरिएछु भने पनि म सँजाय भोग्न
    तयार छु ।"

    दाई, तपाईंको रिहाईसंगै फुलमाला लिएर गएका एकदुई जना छदमभेसीहरुको अभिब्यक्तीसंगै तपाईंले पनि लोली मिलाउँदै राजनीतिमा जाने संकेत दिनु भएको खबरले यतिखेर बजार तात्तिएकोछ । के यो सत्ते हो ?

    मलाई त यो कुरामा पनि पटक्कै विश्वाश छैन । कुनै धर्म, जात, लिङ्ग, बर्ण वा राजनैतीक बिचारबाट मुक्त रहेर सबैका साझा बन्न सफल तपाईंले कुनै एउटा दल बिशेषको झन्डा ओड्नु होला वा कुनै नयाँ राजनैतीक दल खडा गरेर राजनीतिको दलदलमा फस्नु होला भन्ने कुरामा म विश्वाश गर्नै सक्दिन ।

    किनकी तपाईं चितवनको प्रहरी कार्यालयमा रहँदा तपाईंको समर्थनमा, कुनै एक राजनैतीक दलसंग आस्था राख्ने ब्यक्तिले पनि राजनैतीक सोच र झण्डालाई पाखा लगाएर एउटा साझा ब्यक्तिको रुपमा तपाईंलाई समर्थन गर्न आएको देखेको छु ।

    अत : तपाईं अहिले साझा ब्यक्तिको रुपमा स्थापित भईसकेको मान्छे ,  कुनै एउटा दलको बिधी र बिधान भित्र  बाँधिएर बस्नु हुन्न भन्ने कुरामा म त ढुक्क छु । तपाईंलाई " सिधा कुरा जनतासंग" को चौतारीलेनै यो लोकप्रियता दिलाएको हो, यही चौतारीमा नै उभिएर न्यायको लागि लडिरहेको देख्न पाउनेमा कुनै शंका छैन ।

    दाई, तपाईलाई यतिखेर हामी जस्ता लाखौं शुभचिन्तकहरुले निर्दोशको रुपमा विश्वाश गरेका मात्र छौं  तर  तपाईं अझै निर्दोस सावित हुनु भएको भने पक्कै छैन । किनकी तपाईंलाई निर्दोसी वा दोषीको रुपमा किटान गर्ने हाम्रो अधिकार छैन ।

    हामीले त मनको विश्वाशलाई पोखेका मात्र न हौं ।  जवसम्म तपाईंलाई अदालतले क्लिन चिट दिंदैन तबसम्म तपाईं संदिघ्न ब्यक्तीकै रुपमा रहनुहुनेछ र मैले पनि अझै तपाईंलाई संदिघ्न ब्यक्तीकै रुपमा हेर्न वाध्य छु । मर्नु अगाडि सालीकराम जि ले तपाईंको नाम रोई-रोई अनी चिच्याइ-चिच्याई बारम्बार लिएका छन् ।  मर्नु अघी तपाईंलाई 'पापी'को संज्ञा दिंदै तपाईंको 'कहिल्यै भलो नहोस्' भनेर श्राप समेत दिएका छन ।

    मृतक सालीकरामका ति शब्दहरु मेरा मन र मस्तिस्कमा नराम्ररी बिझेका छन् । मैले आदर गर्ने एउटा ब्यक्तीप्रती प्रहार भएका ति तिखा शब्दहरुले म मात्रै होइन म जस्ता असंख्य मुटुहरुमा चोट पुर्‍याएको छ । यसो भन्दैमा म सालीकरामले 'झुटो' बोले  भनेर निचोड निकाल्ने पक्षमा छैन । म त वास्तविकता को पर्खाइमा छु ।

    तपाईंसंगै नाम जोडीएका युवराज कँडेलजी र प्रेमिका अस्मिता कार्कीलाई समेत आफ्नो मृत्‍युको कारकको रुपमा आरोप लगाएर सालीकराम ले त यो संसारबाट बिदा लिईहाले तर तपाईं प्रती पनि शंका गर्नु पर्ने केही बिषयहरुको उठान भने गरेर गएकाछन् ।

    म जस्ता धेरै मान्छेहरुलाई त्यो भिडियो टेपले 'सत्य हो या झुटो हो' भन्ने दोधारमा खडा गरिदिएको भने पक्कैछ । अत: यो दोधारबाट पार लगाउने कार्यमा  तपाईंको पनि अहम भूमिका होस् ।

    र अन्तमा, मैले मेरो जीवनको यो उमेरसम्म आईपुग्दा एउटा संचारकर्मीको लागि यत्ती ठुलो जमात खडा भएको पहिलो पटक देखेको हुँ । राष्ट्रिय स्तरमा एउटा संचारकर्मीको बिषयमा बहस हुनु कुनै चानचुने कुरा होइन । म त तपाईंको पक्षमा उर्लिएको जनमत देखेर छक्क र  अचम्मित मात्र होइन लालायित पनि भएँ । "कास, म पनि यत्ती धेरै मान्छे कमाउन सक्दो हुँ " भन्ने चिन्तनमा डुबिरहें ।

    दाई, तपाईंले पैसा के कती कमाउनु भयो त्यो त थाहा छैन, सालीकरामले तपाईंलाई बिभिन्न ठेकेदारहरुमार्फत करोडौं कमिसन लिएको आरोप लगाए अनुरुप यतिखेर तपाईंको बैक खाताको छानविन हुँदैछ र यस्को परिणाम भविश्यमा पक्कै देखिएला ।

    तपाईंले  'पर्दाको जन्ती र मर्दाको मलामी' भने  कमाउनु भएको रहेछ भन्ने लागेको छ ।  अत: यो नै तपाईंको जिन्दगीको अमुल्य कमाई भनेर ठहरियोस् ।

    तपाईंको यो कमाई कहिल्यै नमासियोस र कहिल्यै नघटोस् । शुभकामना ।

    (यो लेखकको नितान्त व्यक्तिगत विचार हो ।)

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…