काठमाडौं । सिभिल अस्पताल मिनभवनमा बोनम्यारो ट्रान्सप्लान्टको लागि ३७ बर्षीय मदनकुमार राना हेमाटोलोजी वार्डमा पालो कुरिरहेका छन् । क्यान्सरले च्यापेसँगै ३ छोराछोरीको भबिष्य के होला भन्ने चिन्ता एकातिर छ भने अर्कोतर्फ चाडो निको हुन लाग्ने खर्च कसरी जोहो गर्ने चिन्ता त्यतिकै छ । ऋण माथि ऋण थपिरहेको छ ।
बोनम्यारो ट्रान्सप्लान्टको तयारीमा रहेका मदनकुमार रानाले आफूलाई बचाउन आग्रह गरेका हुन् । उनले चिकित्सकलाई आफ्नो पूर्ण हेरचाह गर्न आग्रह गरेका छन् भने अर्कातिर त्यसमा लाग्ने खर्च जुटाएर सहयोग गर्न सहयोगी मनहरुलाई विनम्र अनुरोध गरेका छन् ।
डा विशेष पौडेलले उनको निगरानी गरिरहेका छन् । औषधि चलिरहेको छ । किमोथेरापी पनि चलिरहेको छ । ट्रान्सप्लान्ट मंगलबार (असोज ७ गते) गर्ने कुरा रहेको छ ।
चिकित्सकले किमोसंगै बोनम्यारो पनि ट्रासप्लान्ट गर्नुपर्ने भएकाले मगर गत जेठदेखि सिभिल अस्पतालमा बसिरहेका छन् ।
उनी बोनम्यारो ट्रान्सप्लान्ट विभागमै छन् । भिजिटरले भेट्न पाइरहेका छैनन् । कसैलाई पनि भेट्न दिइएको छैन । भदौ २७ देखि उनी एक्लै छन् । चिकित्सक र नर्सहरुको टोली समय समयमा कोठामा पुग्ने गरेको छ । त्यसबाहेक उनकी धर्मपत्नी पनि भेट्न जान पाएकी छैनिन् । खर्च जोहो गर्न श्रीमती पनि दौडधुपमा छिन् ।
उनलाई मोबाइल भने चलाउन दिइएको छ । हाम्राकुरासंग उनले भने, ‘यो मोबाइल पनि नभएको भए त मलाई झन् कठिन हुने रहेछ ।’
त्यही मोबाइल भएको फाइदा उठाउँदै उनले आफ्नो पीडा पोख्दै भने, ‘ सामान्य गाउँको मान्छे ऋण गरेर खर्च चलाइरहेको छु । तर अहिले त औषधि महंगो छ । एउटै इन्जेक्सनको मोल एक लाख नौ हजार रुपैयाँसम्म खर्च गरेको छु मैले ।’
‘जेनतेन धानिरहेको थिएँ अहिलेसम्म ऋण खोजेर अब त धान्नै मुस्किल पर्यो ।’ उनले आफ्ना गरिबी र पीडा सुनाए ।
रानामगर भर्खरै ३७ वर्षका भए । उनको आफ्नो जीवन नै प्रशस्त बाँकी छ उमेरका हिसाबले । उनको एक्लो जीवन पनि हैन । घरमा श्रीमती, दुई छोरा र एक छोरी । अनि दाजुकी छोरी पनि छिन् संगसंगै । यी नावालक कै भबिश्य सम्झेर मैले चाँडो जाती भए उठ्नु छ । तर म जाती भएर उठ्दै गर्दा गाउँको जेथा पनि सकिने र आफ्न्तले पत्याएर दिएको ऋणको भारि थाम्नै नसकिने पो होकी भन्ने पनि डर लागिरहेको छ ।
छोराछोरीलाई बोर्डिङमा पनि पढाए । तर आर्थिक स्थिति खस्कदै गएपछि अहिले गाउँकै स्कुलमा पढ्छन् तीनै जना कक्षा नौ मा । कसरी यस्तो भयो त ? उनी भन्छन् –बोर्डिङमा पढाएँ । गाउँमा पनि पढाएँ । अब अहिले सबैलाई एकै ठाउँमा गाउँको स्कुलमा पढाउने भएपछि सबैले एउटै कक्षामा पढ्छन् ।’ राम्रो शिक्षा नपाउदाँ उनीहरुको भबिश्य त बिग्रिने हैन भन्ने चिन्ताले सताइरहेको छ ।
दाइकी छोरीले १२ मा पढ्छिन् । गाउँको घर अहिले उनैले सम्हालेकी छिन् । मदनकुमार राना मगर काभ्रे खानीखोला गाउँपालिका वडा नं ६ का हुन् ।
जिम्मेवारी बढेको भए पनि उनी आफ्नै जीन्दगीको लडाइँ लडिरहेका छन् । राम्रैसंगै जीन्दगी चलाइरहँदा जब उनलाई घाँटीको क्यान्सर देखियो तब एकाएक जीवनका मिलाएर राखेका पानाहरु यताउती छरिए ।
उनको घाँटीको क्यान्सर भएको ०७३ चैतमा डाइग्नोस भयो । त्यतिबेलै अप्रेशन भयो । त्यसपछि भक्तपुर अस्पतालमा किमोथेरापी दिइयो ।अप्रेशन गर्दा सरकारले एक लाख रुपैयाँ दिने भएकाले उनलाई त्यति असहज भएन । तीन चार लाख रुपैयाँ आफ्नै खर्च गरिसकेका थिए ।
भक्तपुर अस्पतालमा पनि किमो दिइएको थियो । डेढ वर्षदेखि नै उनी अस्पतालमा छन् भन्दा हुन्छ । केही स्वस्थ्य भएपछि उनी गाउँ गए । जीवनले फेरि ट्याक लिने फेरो समात्दै थियो । तर अचानक उनलाई गाँठो देखियो पाँच महिना पछाडि ।
अनि बोनम्यारोमा सर्यो । त्यसपछि ट्रान्सप्लान्ट गर्नुको विकल्प रहेन । अहिले उनी बाहिरी संसार देखिरहेका छैनन् । तर मंगलबारको अप्रेशन सफल भएपछि पुनः पुरानै स्थितिमा फर्कने आशामा छन् । उनी अप्रेशन थिएटर पुग्नुअघि नै सोचिरहेका छन् खर्चको व्यवस्था कसरी गर्ने ? त्यसैले अनुनय विनय गरिरहेछन् ।
उनले नेपाल इन्भेष्टमेन्ट बैंक बनेपा शाखाको आफ्नो खाता नम्बर ००५०५०८०२७७८९१ (मदनकुमार राना ) मा सहयोग गर्न पनि आग्रह गरेका छन् ।