काठमाडौं, १० असोज । पत्थरीका बिरामी उपचार गर्न जाँदा ओम अस्पत्तालमा जादा लापरवाहीका कारण लास बनेर फर्किनुपर्ने क्रम रोकिएको छैन ।
काठमाडौंको चाबहिलस्थित अस्पतालमा शनिबार पनि डाक्टरको लापरवाहीका कारण एक बिरामीको मृत्यु भयो । धादिङकी गंगाजमुना गाँउपालिकाकी २९ वर्षीया अनिता गुरुङको पत्थरीको शल्यक्रिया हुनासाथ मृत्यु भएपछि आइतबार अस्पतालमा तनाव भएको छ ।
शुक्रबार हिँडेर उपचार गर्न अस्पताल पुगेकी गुरुङको शनिबार मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् । यसअघि ३० जेठ २०७६ मा ओममै उपचारका क्रममा सिन्धुपाल्चोककी रामप्यारी थापाको पित्तथैलीको पत्थरीको शल्यक्रिया गलत गर्दा मृत्यु भएको थियो ।
यस्तै, १९ साउन २०७४ मा गोरखा आरुघाटकी ५० वर्षीया नन्दकुमारी लामिछाने पत्थरीको उपचारका क्रममा शल्यक्रिया गरेकै दिन मृत्यु भएको थियो ।
ओमले बारम्बार बिरामीको गलत उपचारका कारण मृत्यु भएको भनी आफन्तसँग सहमति गर्दै आफ्नो बचाउ गर्दै आएको छ । तर, शक्ति केन्द्रमा जोडिएका व्यक्ति अस्पताल सञ्चालक समितिमा भएकाले कुनै छानवीन हुँदैन ।
पहुँच विविध राजनीतिक दल तथा नेतासँग रहेकाले प्रशासनदेखि अनेक संयन्त्रलाई नियन्त्रणमा राख्ने कोसिश गरिएको छ । जसका कारण गल्ती माथि गल्ती गर्दा पनि उम्किने सरल बाटो निकालिन्छ– पीडित परिवारसँग सहमति ।
यस्तो सहमति गर्दा गलत उपचार गर्ने अस्पतालले पीडित परिवारलाई केही लाख राहत रकम उपलव्ध गराउने, छानबिन पनि गर्ने भनिन्छ तर परिवारले किटानी जाहेरी नदिने भनी हस्ताक्षर गराइन्छ ।
आफन्तको गलत उपचारका कारण मृत्यु भएको भन्ने विषयमा उजुरी नदिने भएपछि प्रहरीले यस्ता प्रकरणमा छानबिन अगाडि बढाउँदैन । अभियान टाइम्सका साथमा ।