• काठमाडौं ,असोज १३ । भारतले हिजोदेखि लागू हुने गरी प्याज निर्यात रोकेको छ । भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयले यसअघिको व्यवस्थालाई संशोधन गर्दै भारतमा उत्पादन भएको प्याज भारतबाहिर नपठाउने व्यवस्था गरेको हो ।

     

    भारतमा प्याजको चरम अभावलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्था सहज बनाउन प्याज निर्यात बन्द गरिएको बताइएको छ । निर्यात बन्द गरेसँगै भारतले बजारमा प्याजको भण्डारणमा परिमाणात्मक बन्देज पनि लगाएको छ । भारतीय खुद्रा व्यापारीले अबदेखि १ सय क्विन्टल र थोक बिक्रेताले ५ सय क्विन्टलमात्र प्याज भण्डारण गर्न पाउनेछन् ।

     

    भारतले देशभित्र खपत हुने अधिकांश प्याज आयात गर्दै आएको छ । बन्देज लगाउनुपूर्व भारतीय बजारमा प्याज ८० भारतीय रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको थियो । भारतले चीन, पाकिस्तान तथा खाडी मुलुकबाट प्याज आयात गर्ने गरेको छ ।

     

    नेपालले भने भारत, चीन, थाइल्याण्ड र निकारागुवाबाट प्याज आयात गर्दै आएको सरकारी तथ्यांकले देखाउँछ । नेपालले सन् २०१७ को ७ महिनामा माथि उल्लेखित चार मुलुकबाट २।४४ बिलियन रुपैयाँको प्याज आयात गरेको थियो ।

     

    भारतले विदेश पठाउने प्याज रोक्ने घोषणा गरेपछि त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ । तर कति असर गर्छ भन्ने बारेमा नेपालले आकलन गरिसकेको छैन । यसबारेमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रकी सूचना अधिकारी शान्तिदेवी मल्ललाई जिज्ञासा राख्दा उनको भनाइ थियो, ‘‘हामीलाई जानकारी आइसकेको छैन । के कस्तो असर पर्छ बुझ्नुपर्छ ।’’

     

    भारतमा नै यसपालि प्याजको हाहाकार भएका कारण उसले टेण्डर आह्वान गरेर विदेशबाट प्याज झिकाउन लागेको छ । यसपालि कम उत्पादन भएको र मूल्य पनि बढी भएको भनेर भारतमा जनस्तरबाट आक्रोश उत्पन्न भएको थियो ।

     

    भारतीय पत्रिका बिजनेस टुडेको आजको अनलाइन संस्करणमा जनाइएअनुसार प्याजको मूल्य भारतका नयाँ दिल्ली, मुम्बई लगायतका स्थानमा प्रतिकेजी ८० भारुसम्म पुगेपछि भारत सरकारले प्याज निर्यातमा रोक लगाएको हो ।

     

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरकारले प्रतिकेजी २३।९० भारुमा प्याज बेच्ने तर एक परिवारले बढीमा ५ केजीमात्रै लिन पाइने शुक्रबार घोषणा गरेका थिए । तर, त्यो पनि व्यवहारिक नभएको बताइएको छ । भारतमा ४ वर्षयताकै प्याजको मूल्य बढी भएको समाचारमा उल्लेख छ । भारतमा प्याजको मूल्यले गर्दा त्यहाँको राजनीतिमा नै ठूलो फेरबदल हुने लामो शृंखला रहेको छ ।



सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…