• काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको सरकार बन्न नदिने षड्यन्त्र चिर्दै देशलाई तीव्र विकासतर्फ अघि बढाउने बताएका छन् ।

    एमाले उपाध्यक्ष वामदेव गौतमको पुस्तक ‘नेपाल निर्माण महाअभियान’ लोकार्पण कार्यक्रममा शनिबार वाम गठबन्धनका प्रमुख नेता ओली र प्रचण्डले सबै षड्यन्त्र र भ्रम चिरेर देशलाई स्थायित्व, सुशासन र तीव्र विकासको दिशामा अघि बढाउने संकल्प गरे ।

    ‘अहिले संविधानको अपव्याख्या गर्ने, अल्झाउने, कसरी समय कटाउने भन्ने धुमधाम खेल भइराखेको छ, एउटा लोकतान्त्रिक पार्टीको नेताले त पाँच वर्ष तपाईंले नै चलाउनुस् भन्दै अफर गर्नुभएछ, किन त भन्दा फलानोलाई रोक्न,’ ओलीले भने, ‘त्यो मायाले भनेको होइन, गठबन्धन भत्काउन, देश बिगार्न हो, तर हामी त्यस्तो षड्यन्त्र परास्त गर्दै अघि बढ्छौँ ।’ उनले वाम गठबन्धन सरकारले देशलाई कसैको स्याटलाइट, आश्रित, दमितका रूपमा नभएर स्वाधीन र विकसित राष्ट्रका रूपमा अघि बढाइने बताए ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन भत्काउन थुप्रै भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै जनादेशको सम्मान गर्दै छिट्टै सरकार बनाएर देशलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा तीव्र गतिमा अघि बढाउने उद्घोष गरे । ‘एकता टुटाउन अहिले थुप्रै भ्रम सिर्जना गर्ने कोसिस भइरहेको छ, तर हामी स्थायित्व, सुशासन र समृद्धितर्फ अघि बढ्छौं,’ प्रचण्डले भने, ‘भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्दै विकासको रफ्तारमा देशलाई अघि बढाइनेछ, वाम गठबन्धनको अत्यधिक बहुमत आएको छ, गठबन्धन सरकारले नयाँ अग्निपरीक्षामा होमिएर देशलाई विकासको नयाँ चरणबाट अघि बढाउनेछ ।’

    ओलीले ०६४ सालमा माओवादी केन्द्रले अत्यधिक सिट जितेर ठूलो दल बन्दा पनि कांग्रेसले ताजा जनादेश स्वीकार नगरी चार महिनासम्म नयाँ सरकार गठन प्रक्रिया अबरुद्ध गरेको स्मरण गर्दै अहिले त्यस्तै खेल चलिरहेको बताए । सबैखाले षड्यन्त्र परास्त गर्दै संयुक्त राष्ट्रसंघले सन् ०३० सम्मको दिगो विकास लक्ष्य निर्धारण गरेअनुसार नेपालको विकासको गतिलाई तीव्रता दिइने ओलीले धारणा राखे ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अब राजनीतिक विवादलाई थन्क्याएर समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । कृषि क्रान्ति, पर्यटन क्षेत्रको बिस्तार ऊर्जा विकास समृद्धिको मूल आधार भएको पौडेलको कथन थियो ।

    गौतममा देश निर्माणको महत्वाकांक्षा
    प्रचण्डले गौतममा देश निर्माणको महत्वाकांक्षा रहेकाले गठबन्धन सरकारले त्यस्तै जिम्मेवारी दिन सक्ने संकेत गरे । ‘पार्टी एकताको बिन्दूसम्म ल्याइपुर्याउन गौतमको भूमिका अविष्मरणीय छ, त्यसैले उहाँले हामीले भन्दा धेरै मतान्तरमा जित्नुहुन्छ भन्ने अपेक्षा थियो, तर त्यसो हुन नसक्दा नमिठो लागेको छ,’ प्रचण्डले भने, ‘निर्वाचन परिणामलगत्तै लाजिम्पाटमा मसँगको पहिलो भेटमा उहाँले मलाई केही चाहिएको छैन । विकासको संरचनामा फिट गरिदिए बाँकी जीवन त्यसैमा लगाउँछु भन्नुभयो, उहाँमा देश निर्माणको महत्वाकांक्षा छ ।’

    केपी ओली
    अहिले संविधानको अपव्याख्या गर्ने, अल्झाउने, कसरी समय कटाउने भन्ने धुमधाम खेल भइराखेको छ, एउटा लोकतान्त्रिक पार्टीको नेताले त पाँच वर्ष तपाईंले नै चलाउनुस् भन्दै अफर गर्नुभएछ । किन त भन्दा फलानोलाई रोक्न, त्यो मायाले भनेको होइन, गठबन्धन भत्काउन, देश बिगार्न हो, तर हामी त्यस्तो षड्यन्त्र परास्त गर्दै अघि बढ्छौँ ।

    प्रचण्ड
    एकता टुटाउन अहिले थुप्रै भ्रम सिर्जना गर्ने कोसिस भइरहेको छ, तर हामी स्थायित्व, सुशासन र समृद्धितर्फ अघि बढ्छौँ, भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्दै विकासको रफ्तारमा देशलाई अघि बढाइनेछ । वाम गठबन्धनको अत्यधिक बहुमत आएको छ, गठबन्धन सरकारले नयाँ अग्निपरीक्षामा होमिएर देशलाई विकासको नयाँ चरणबाट अघि बढाउनेछ । (नयाँ पत्रिका दैनिक)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …