• किशोर श्रेष्ठ

    उर्लाबारी, १६ पौष । कुनै वयस्क व्यक्तिलाई एक किलोमिटरको दूरी छिचोल्न १ घण्टा समय लाग्छ भन्दा पत्याउन गाह्रै पर्छ । मोरङ मिक्लाजुङका २० वर्षीय एक युवालाई भने १ घण्टा लाग्छ त्यति बाटो पार गर्न । मधुमल्लाका ब्यानुसोर मगर स्थानीय विद्यालयका विद्यार्थी हुन् । उनी अरु विद्यार्थी सरह सामान्य अवस्थाका होईनन्,उनको उमेर अनुसारको शारीरिक बिकास नभएकाले त्यस अनुसारको गतिविधि त छैन नै, उचाई समेत जम्मा अढाई फिट मात्र छ । उनलाई नजिकबाट नचिन्नेले ब्यानुसोरको उमेर पत्याउन सक्दैन । उमेरले लक्का जवान ब्यानुसोरको शारीरिक बनावट देख्दा केटाकेटी झंै देखिन्छ । तर उनका गालामा पाक्कपुक्क लागेका मासु, हात खुट्टाको बनावटले उनी वयस्क भएको प्रष्ट्याउँछन् । अझ उनले प्यान्टका गोजीमा हात हालेर ढल्कँदै हिँडेको देख्दा त ब्यानुसोरलाई सबैले रुचिपूर्वक नियाल्ने गर्छन् । तीन वर्षपछि उचाई रोकियो पाँचथरको दुरदिम्बामा जन्मेका ब्यानुसोरले २०५६ साल जन्ममिति राखेर हाल बसोबास गर्दै आएको मिक्लाजुङ गाउँपालिकाबाट नेपाली नागरिकता पनि लिइसकेका छन् । अन्य सन्तानहरु झंै सामान्य अवस्थामा जन्मेका उनी ३ वर्षको भएसँगै बढ्न छोडेको आमा अंकमाया मगरले बताईन् । आमा अंकमायाका अनुसार, एकदिन बेलुकी अचानक सुतीरहेको अवस्थामा ब्यानुसोरको नाकबाट रातभरी खुन गयो । भोलिपल्ट धाँमीझाँक्री लगाएपछि उनी केही ठीक भए । उनको नाकबाट खुन जान त रोकियो तर उनको जीवन भने सामान्य रुपमा चल्न छोड्या। उनको उमेर अनुसार बढ्नु पर्ने गति पनि रोकियो। यता उनकै उमेरका दौंतरीमध्ये केहीले घरजम समेत गरिसकेका छन् भने केही यतिवेला उच्च शिक्षा अध्ययन गर्दैछन् ।



    मगर दम्पतीका ७ सन्तानमध्ये ब्यानुसोर कान्छा हुन् । तर अहिले उनीहरुका साथमा ३ जना सन्तान मात्रै छन् भने ४ जनाको मृत्यु भइसकेको छ । परिवारमा ब्यानुसोर मात्र होईन ५ वर्षअघि मृत्यु भएका उनका दाजु इमराज मगरको पनि उचाई ब्यानुसोरको भन्दा कम रहेको बुबा नन्दबहादुरले बताए । कमजोर आर्थिक अवस्था भएका मगर परिवारले उनको उपचारमा सक्दो कोशिस नगरेका होईनन् । बुबा नन्दबहादुर मगरका अनुसार,पूर्वको दमकस्थित लाईफ लाइन, धरानको घोपा र विराटनगरको नोवेल लगायतका अस्पतालहरुमा चेकजाँच गराउँदा सामान्य अवस्था रहेको डाक्टरहरुले बताएका थिए । त्यतिबेला डाक्टरहरुले सामान्य जुका परेको लक्ष्यण देखिएको बताएका थिए । अपरिचित मानिसहरुसँग खासै बोल्न नरुचाउने स्वभावका ब्यानुसोर परिवारका सदस्यहरुसँग भने खुलेर कुराकानी गर्छन् । ब्यानुसोरले परिवारसँग दुखसुखमा सामान्य ब्यवहार गर्ने गरेको दाजु भेषराज मगरले बताए ।



    स्थानीय भगवती उच्च माविमा कक्षा ५ मा अध्ययनरत् ब्यानुसोरको पढाई पनि अन्य विद्यार्थीहरुको जस्तो सामान्य छैन । दुरदिम्बा बस्दासम्म केही महिना मात्र विद्यालय धाएका उनले १० वर्षअघि मधुमल्ला आएसँगै नियमित विद्यालय जान थालेका थिए । यसवीचमा उनको पढाइ नियमित रुपले अघि बढेको भए पनि १० वर्षको अवधिमा भर्खर उनी ५ कक्षामा पुगेका छन् । छोरा विद्यालय गएर के गर्ला, कस्तो पढ्ला भन्ने चिन्ताभन्दा पनि साथीहरुसँग घुलमिल होला, रमाइलोसँग समय बिताउला केही नयाँ कुरा सिक्ला भन्ने अपेक्षा राखेको बुबा नन्दबहादुर बताउँछन् । ब्यानुसोर देब्रे कान अलिअलि सुन्छन् दाहिने कानले पटक्कै सुन्न सक्दैनन् । तर घरका सामान्य कामहरुमा उनी परिवारलाई मदत गर्छन् । अरुको खेतबारी अदियाँ कमाएर गुजारा गर्दै आएको मगर परिवारले नेपाल सरकारले अपाङगलाई दिने भत्ता बापतको रकमले ब्यानुसोवरको पढाई खर्च पुर्याएको छ । परिवारमा विषेश गरेर आमासँग बढी घुलमिल हुने ब्यानुसोरको भविष्यप्रति मगर दम्पति निकै चिन्तित देखिन्छन् । उनीहरुलाई आफुहरु बाचुन्जेल त छोराको हेरचाहमा कुनै कमि नहोला तर मृत्यु पछि उसको जीवनले कस्तो मोड लेला भन्ने चिन्ताले पिरोलेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…