• काठमाडौँ : सभामुख रहेका कृष्णबहादुर महरालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको घटना चर्चाको शिखरमा थियो । यो घटनाले सरकार र महरा आवद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको समेत सार्वजनिक रुपमा आलोचना भइरहेकै छ ।

    विश्वव्यापी रुपमा चर्चा बटुलेको महरा प्रकरण सेलाउन नपाउँदै प्रहरीले सांसद मोहम्मव अफताव आलमलाई पक्राउ ग¥यो । प्रहरीका अनुसार आलम पक्राउ पर्नुको कारण १२ वर्ष अघि उनीमाथि २१ जना मान्छेलाई जिउँदै इट्टाभट्टामा पोलेर मारेको आरोप छ । यो घटनाले अब सरकारको होइन सांसद आलम आवद्ध दल नेपाली कांग्रेसको आलोचना हुन सुरु भयो ।

    सत्तारुढ दलका कार्यकर्ता महरा प्रकरणको बदला लिएझैँ गरी आलम प्रकरणबारे सामाजिक सञ्जालमा टिप्पणी गर्न थालेका छन् । महरा प्रकरणलाई समेत ओझेलमा पार्ने गरी चर्चामा आएको आलम प्रकरणबारे सुन्दा समेत आङ जिरिंग हुन्छ । कुनै चलचित्रमा देखिने भन्दा पनि क्रुर घटनाका मुख्य आरोपीका रुपमा पक्राउ परेका आलमलाई कारबाहीको माग जोडदार रुपमा उठिरहेको छ ।

    तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आलमको गिरफ्तारीलाई कांग्रेसविरुद्धको षड्यन्त्रको रुपमा ब्याख्या गरेपछि आम नागरिक मात्रै होइन स्वम कांग्रेस कार्यकर्ताहरु समेत आक्रोशित बनेका छन् । देउवाले आलम प्रकरणलाई कांग्रेसविरुद्धको षडयन्त्र मात्रै भनेनन् आलमले न्याय पाउने विश्वास समेत व्यक्त गरे । ‘१२ वर्षपछि कसैलाई पक्राउ गर्न पाइन्छ ?’ आलम प्रकरणमा देउवाको प्रश्न थियो ।

    शुक्रबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रमा देउवाले आलम गिरफ्तारीलाई कांग्रेसविरुद्धको सुरुवाती प्रहारका रुपमा समेत ब्याख्या गरे । उनले सरकार योजनावद्ध ढंगले कांग्रेसविरुद्ध लागेको बताउँदै आम नेता कार्यकर्ताले चनाखो रहनुपर्ने समेत बताए । आलम प्रकरणबारे सरकारको प्रस्तुतीलाई कांग्रेसले नियालीरहेको देउवाको चेतावनी थियो ।

    झण्डै २१ जना जिउँदा मान्छेलाई ईट्टाभट्टामा पोलेर एकै चिहान पारेको घटनाका मुख्य आरोपी निलम्बित सांसद आलमको बचाउमा उत्रेपछि कांग्रेस सभापति देउवा आलोचनाले घेरिएका छन् । सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ताहरुले समेत आफ्नै सभापतिविरुद्ध आक्रोशयुक्त टिप्पणी गरेका छन् ।

    कांग्रेस युवा नेता गगन थापाले त आलम प्रकरणबारे सभापति देउवाको अभिव्यक्तिलाई उनको नितान्त व्यक्तिगत विचार भनेका छन् । नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै थापाले पात्र र प्रवृत्ति हेरेर विधिको शाशन मान्ने कांग्रेसको धारणा नबदलिने बताउनुभयो । यदि यस भन्दा बाहिर गएर कसैले अभिव्यक्ति दिन्छ भने त्यो कांग्रेसको नभई उसको व्यक्तिगत विचार हुने थापाको भनाई छ ।

    हुन त चौतर्फी आलोचना भएपछि कांग्रेस सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै हिजोको आफ्नो अभिव्यक्तिलाई संशोधन गरेका छन् । तर अपराधलाई राजनीतिकरण गरेर दोषी उम्काउने प्रयास गर्न खोजेको विषयलाई आजको विज्ञप्तिले ढाक्न सक्यो भन्ने अर्थमा कसैले बुझ्छ भने त्यो गलत हुनेछ ।

    किनभने आलम पक्राउ घटनालाई देउवाले प्रष्ट रुपमा कांग्रेसविरुद्धको षड्यन्त्र भनेका छन् र अभिव्यक्ति संशोधन गरिएको भनिएको विज्ञप्तिमा जनतासँग माफी मागिएको छैन । लोकतान्त्रिक पद्धतीमा आलम पक्राउबारे प्रमुख विपक्षी दलका सभापतिको हिजोको अभिव्यक्ति सच्याइने हो भने त्यसमा माफी बाहेक अर्काे विकल्प देखिँदैन ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…