• काठमाडौं । पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन गर्ने सहमति भएको छ । पशुपतिस्थित घाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै बुधबारदेखि शव दाह रोक्ने घोषणा गरेका थिए ।

    कामदारको मागपछि बुधबारै वार्ता गरी शुल्कमा समायोजन गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

    कामदारले २० वर्षसम्म शव जलाउने काम गरेपछि अवकाशका बेला रु १० लाख पाउनुपर्ने माग गरेकामा रु पाँच लाख दिने गरी सहमति भएको छ । यसअघि २० वर्ष घाट सेवामा काम गरेकाले अवकाशका बेला रु डेढ लाख पाउँथे । यसैगरी १५ वर्ष काम गरेकाले रु तीन लाख पाउने भएका छन् । यसअघि रु एक लाख पाउने गर्दथे ।

    दश वर्ष शवदाह गरेकाले रु ५० हजार अवकाशस्वरुप पाउने गरेकामा डेढ लाख पाउने सहमति भएको छ । यसैगरी शवदाह गरेको प्रतिशत रु एक हजार २०० बाट बढाएर रु एक हजार ५०० बनाइएको छ । दाउरा बोक्नेको प्रतिशत रु ४०० बाट बढाएर रु ६०० पुर्‍याइएको कोषले जनाएको छ ।

    घाट सेवामा हाल ४९ कामदार कार्यरत छन् । कामदार आवश्यक पर्दा सूचना प्रकाशित गरी निवेदन माग गर्ने गरिएको छ । यसरी आएका कामदारलाई सूचीमा राखी पालोका आधारमा काम दिइने गरेको सदस्य सचिव ढकालले बताए। कोषले नौ वर्षपछि घाट सेवाका कामदारको शुल्क समायोजन गरेको हो ।

    घाट सेवामा कार्यरत सबै कामदारको बीमा रु दुई लाखका दरले कोषले नै गरिदिने भएको छ । पशुपतिको विद्युतीय शवदाह गृहमा समेत गरी दैनिक औसत ३० शव आउने गरेका छन् । त्यसमध्ये धेरैको प्राथमिकता विद्युतीय शवदाह गृह बन्ने गरेको कोषले जनाएको छ । हाल दुई विद्युतीय शवदाह गृह सञ्चालनमा छ । तेस्रो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

    कोषले छ महीनापछि काठबाटै शव जलाउन सकिने तर धुवाँ नआउने वातावरण मैत्री शवदाहको व्यवस्था गर्न लागेको जनाएको छ । यस्तो यन्त्र विद्युतीय शवदाह गृहसँगै जडान गरिने छ । यो यन्त्र जडान भएपछि काठबाट शव जलाउन कम हुने छ । यसले पशुपति क्षेत्रको वातावरणीय सुधारमा सहयोग पुग्ने आशा गरिएको छ ।

    विद्युतीय शवदाह गृहमा शव जलाउँदा बढीमा पाँच हजारमा सम्पन्न हुन्छ । काठबाट शव जलाउँदा भने कम्तीमा रु १५ हजार लाग्ने कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…