यमपञ्चकको दोस्रो दिन आज घरघरमा कुकुरको पूजा गरी मनाइँदैछ । घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिइ यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो
यसैबीच, ललितपुरकी स्नेहा श्रेष्ठ सयौँ कुकुरहरूको जीवनदाताका रूपमा चिनिनुहुन्छ । कयौँ घाइते कुकुरलाई बाटोबाट उठाएर उपचार गर्नुभएको छ । दर्जनौँलाई संरक्षण र सुरक्षाको जिम्मा लिनुभएको छ ।
उहाँको स्नेहाज केयर नामक संस्था दर्जनौँ घाइते कुकुरको आश्रयस्थल बनेको छ । भैँसेपाटीस्थित संस्थाको सेल्टरमा कति खुट्टा नभएका, आँखा फुटेका, ढाड भाँचिएका जस्ता रोगी, अपाङ्ग र बेसाहारा कुकुरको घर भएको छ ।
सन् २०१४ देखि स्नेहा यस्तै असहाय कुकुरको उद्धार, उपचार र संरक्षणमा डटिरहनुभएको छ । घाइते, बिरामी कुकुरहरू जब तङ्ग्रिँदै जान्छन्, उहाँको मन प्रफुल्ल हुन्छ । कुकुर संरक्षणमा सन्तुष्टि मिलेको स्नेहा बताउनुहुन्छ । आफ्नै सन्तानलाई झैँ कुकुरको माया गर्ने स्नेहा पहिल्यैदेखि पशुप्रेमी भने हुनुहुन्नथ्यो ।
विवाहपछि घरमा भएको एक घटनाले उहाँको मनलाइ परिवर्तन गरिदियो । उहाँ कुकुर बिराला प्रेमी नभए पनि उहाँका श्रीमान भने घरमा कुकुर पाल्न चाहुनुहुन्थ्यो । श्रीमान्ले रहर गरेर ल्याएको कुकुर एक दिन मरेपछि उहाँलाई नराम्रो लाग्यो । त्यसपछि घरमा अर्काे कुकुर ल्याउनुभयो र त्यसको नाम ‘जारा’ राखियो ।
जारालाई निकै पुल्पुलाएर पाल्नुभयो । जारा पनि आफ्नो परिवारसँग निकै नजिक थियो । स्नेहा सधैँ बाहिरबाट घर फर्किंदा जारा उहाँलाई गेटसम्म लिन आउँथ्यो । तर एक दिन अफिसबाट घर फर्किंदा ऊ गेटमा आएन । त्यस दिनको स्मरण गर्दै स्नेहा भन्नुहुन्छ, ‘‘भित्र जाँदा ऊ बिरामी अवस्थामा रगत लतपतिएर बसेको थियो । उसलाई विष हालेर खान दिइएको रहेछ ।’’
बेलाबेला जाराको भुकाइको विषयलाई लिएर छिमेकीसँग सानातिना भनाभन हुने गरेको भए पनि उसलाई विष हालेरै मारिदेलान् भन्ने स्नेहाले सोच्नुभएको थिएन । विष परेको केही दिनपछि जारा म¥यो । जाराको मरणले उहाँलाई विक्षिप्त जस्तै बनायो । आफू बिरामी जस्तै भएर खानादेखि निदाउन पनि नसक्ने भएको उहाँ सुनाउनुहुन्छ । अहिले पनि उहाँ आफ्नो कोठामा जाराको फोटो राख्नुहुन्छ । जाराको मायाले आफूलाई जनावरप्रति दया गर्ने शक्ति र प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ ।
आफ्नो कुकुरको मृत्युपछि उहाँको मनमा विचार आयो, ‘‘घरमा मायाले पालेको निर्दोष कुकुर त विष हालेर मारिन्छ भने सडकका अलपत्र ती अबोध पशुमाथि मानिसले कतिसम्मको अवहेलना गर्छन् होला ?’’ त्यसपछि बाटामा कुकुर देख्दा उहाँलाई आफ्नै कुकुरको सम्झना आउँथ्यो र त्यसलाई खानेकुरा खुवाउन थाल्नुभयो । जहाँ जाँदा पनि उहाँले आफनो गाडीमा खिचिरमिचिर खाने कुरा बोकेर हिँड्नुहुन्थ्यो ।
बाटामा भेटिने घाइते कुकुरलाई त्यसै छोडेर हिँड्न मनले मान्दैनथ्यो र बोकेर केनल क्लबसम्म उपचारका लागि पु¥याउनुहुन्थ्यो । यसरी स्नेहाले बाटाबाट उठाएर ल्याएको कुकुरले केनल क्लब नै भरिने स्थिति हुन्थ्यो । त्यतिबेला आफूले सयौँ कुकुरको त्यसरी उद्धार गरेको उहाँ बताउनुहुन्छ ।
यसरी पनि नभएपछि उहाँले आफै सेल्टर स्थापना गरेर केयरमा कुकुरको सम्पूर्ण हेरचाह गर्नथाल्नुभयो । यहाँ हाल १५५ वटा विभिन्न अवस्थाका कुकुरहरूको संरक्षण गरिएको छ । दस हजारभन्दा बढी कुकुरहरूको उपचार भएको छ । स्नेहाज केयरले हालसम्म ३० हजारभन्दा बढी कुकुरको रेबिज भ्याक्सिनेसन गरेको छ ।
सेल्टरमा निकै पीडादायी अवस्थाका जीवित रहेका कुकुर छन् । रोगले थलिएका र बुढ्यौली लागेपछि घरपालुवा कुकुर पनि सडकमा फालिन्छन् । तीनै कुकुरको उद्धार गरी स्नेहाज केयरले संरक्षण गरिरहेको छ । सेल्टरमा १७ वटा पक्षघात भएका कुकुर छन्, जसलाई ह्विल चेयरमा हिँडाइन्छ । सबै कुकुरलाई घरमा जस्तै मायाले राखिएका छन् । सबै कुकुरलाई नाम दिएर उनीहरूको मेडिकल हिस्ट्रीको अभिलेख राख्ने
गरिएको छ ।
तर उद्धार गर्दा गर्दै कुकुर यत्ति धेरै भइसके कि अब स्नेहाज केयरको सेल्टर नै साँघुरो लाग्न थालिसकेको छ । त्यसैले कुकुर पाल्नेहरूले यसरी कुकुरलाई बेसाहारा नछोड्न उहाँ आग्रह गर्नुहुन्छ ।