• सबै महिलाको चाहना उस्तै हुन्छन्- आफ्नो श्रीमान् कुनै कार्यालयमा काम गरोस् । काम सकेर समयमै घर आओस् । पत्रकारबाहेकका पेसामा आबद्ध व्यक्तिहरूमा यी कुरा लागू हुन्छन् । पत्रकारको नि ?

    - निर्मला अधिकारी

    बिहे गर्नका लागि हेर्न आउँदा उहाँले भन्नुभएको थियो, म पत्रकार हुँ । पत्रकारसँग बिहे गर्न तपाईंलाई कुनै समस्या नहोला नि ! त्यतिबेला मलाई लागेको थियो- पत्रकार पनि अन्य कार्यालयका जागिरे जस्तै त होलान् नि । अनि मैले उहाँको भनाइलाई मौन बसेर स्वीकृति जनाएकी थिएँ ।

    सबै महिलाको चाहना उस्तै हुन्छन्- आफ्नो श्रीमान् कुनै कार्यालयमा काम गरोस् । काम सकेर समयमै घर आओस् । शनिबार र अन्य बिदामा आफू र छोराछोरीलाई समय देओस्, कतै घुमाउन लगोस् । चाडबाडका बेला ढुक्कसँग घर, परिवार र आफन्तसँग बसेर रमाइलो गर्न पाइयोस् । अझ त्यसमाथि श्रीमान्को तलब नियमित आओस्, घर खर्चलगायतका सीमित आवश्यकता पूरा गर्न सकियोस् भन्ने आकांक्षा पाल्नु अनौठो होइन । पत्रकारबाहेकका पेसामा आबद्ध व्यक्तिहरूमा यी कुरा लागू हुन्छन् । तर पत्रकार ?

    पत्रकारका समस्या के-कस्ता हुन्छन्, त्यो मलाई थाहा छैन । तर, पत्रकारकी श्रीमती हुनु भनेको निकै तनाव र पीडा झेल्नु हो भन्ने मलाई लागेको छ । श्रीमान् पत्रकार भएकै कारणले बिहेपछि अन्य दम्पतीले जस्तो हामीले नयाँ ठाउँ घुम्ने र कथित हनिमुन मनाउन पाएनौं । बिहेको केही दिनपछि नै उहाँ आफ्नो पत्रिकाको काममा लाग्नुभयो । मैले थाहा पाएसम्म उहाँको न नियमित साप्ताहिक बिदा भयो, न कुनै सार्वजनिक बिदामा उहाँ कोठामा बस्न पाउनुभयो । कुनै पनि राति १० बजेभन्दा अगाडि उहाँ कहिल्यै कोठामा र्फकनुभएन । हरेक साँझ म खाना बनाएर उहाँलाई फोन गर्दथें । प्रत्येक फोनमा एउटै उत्तर हुन्थ्यो, अब आइहालें । खाना सेलाएको भए तताउँदै गर है । पहिलेपहिलेे एउटै साँझमा पाँच पटकसम्म फोन गर्थें, पछि बानी परेपछि छोडिदिएँ ।

    एउटै घरमा अन्य कोठामा बस्नेहरू सुतेपछि बल्ल म खाना बनाउन सुरु गर्दथें । उहाँ आउँदा १०/११ बज्थ्यो । हामी घरको चौथो तलामा बस्छौं । उहाँ आएपछि मैले भुइँ तलामा झरेर ढोका खोलिदिनु पथ्र्यो । एक दिन उहाँ ११ बजेसम्म नआएपछि मैले फोन गरें । एकैछिनमा आइपुग्ने जवाफ आयो । त्यो बेला प्रकाशन सुरु हुन लागेको यो साता भन्ने पत्रिकामा आबद्ध हुनुहुन्थ्यो उहाँ । पछि बल्ल साढे १२ बजे फोन गरेर खाना खाएर सुत है, पत्रिकाको डिजाइनमा केही समस्या आएकाले म आउन समय लाग्ने भयो, भन्नुभयो । यतिबेर कुराएर अब सुत भन्ने भन्दै म फोनमै एकछिन बाझें ।

    त्यो रात उहाँ साढे २ बजे मात्र कोठामा आउनुभएछ । म सुतिसकेकी थिएँ, कोठाको चुकुल नलगाई । ढोका खोल्न पनि झरिनँ । तल्लो तलामा बस्ने विद्यार्थी भाइले ढोका खोलिदिएछन् । उहाँले भात र दाल तताउँदै गर्दा किचनमा भाँडाकुँडा बजेको सुनेर म ब्युँझिएँ । मलाई त्योबेला धेरै रिस उठेको थियो । मैले खाना खान मानिनँ, उहाँले मात्र खानुभयो । पत्रकारको हट वाइफ कोल्ड राइस भन्ने त पढेको थिएँ, आज आफैंले भोग्नुपर्यो भनेर उहाँ हाँस्नुभयो । त्यसको अर्थ भोलिपल्ट बुझाउनुभयो- पत्रकारको घरमा भात सधैं चिसो हुन्छ अनि श्रीमतीचाहिँ रिसाएर तातिएकी । त्यो वाक्य उहाँले मैमाथि प्रयोग गरेको जसरी अथ्र्याउनुभयो, अनि मलाई पनि हाँसो उठ्यो ।

    उदाहरण कति छन् कति । कुनै शनिबार वा बिदाका दिन छोराछोरीलाई लिएर कतै घुम्न जाने तयारी गरिरहेको बेला उहाँ एक्कासि तिमीहरू घुमेर आउनू, मेरो काम पर्यो भनेर हिँडिदिनुहुन्छ । बिहान कलेजमा पत्रकारिता पढाउने अनि रातिसम्म पत्रिका र रेडियोमा काम गर्नुहुन्थ्यो । दिउँसो खाना खान आउँदा छोराछोरी स्कुल गइसकेका हुन्थे । उहाँसँग भेट्न छोराछोरीले पनि शनिबार कुर्नुपथ्र्यो । त्यो शनिबार पनि बिहानै कसैले कार्यक्रम राखिदियो भने उतै दौड्नु पर्ने । अचम्मको पेसा ! छोरी अलिक ठूली भएपछि गाली गर्न थाली । तपाईं नआएसम्म खाना खाँदिनँ भनेर घुर्की लगाउन सुरु गरी । कहिलेकाहीँ त छोरीको घुर्कीले पनि काम गर्यो ।

    पत्रकारलाई मात्र समय सीमा हुँदैन कि, अरू पेसामा पनि त्यस्तै हुन्छ मलाई थाहा छैन । कहिलेकाहीँ उहाँलाई यस्तो जागिर खानु पर्दैन, कलेज मात्र पढाए पनि खान पुग्छ भन्थें । उहाँले कहिल्यै मान्नुभएन । पत्रकारलाई मात्र होइन डाक्टर, पाइलट, प्रहरीलाई पनि यस्तै हुन्छ उनीहरूको पनि निजी समय हुँदैन, भन्नुहुन्छ । बल्लबल्ल घरमा अलिक लामो समय बसेको बेला पनि फेरि टेलिफोनमै धेरै समय बिताउने । खै कसले फोन गर्छ कुन्नि !

    समय नपाएको मात्र होइन श्रीमान्को सुरक्षाले पनि चिन्तित बनाउँछ । कहिलेकाहीँ धम्कीका फोन आउँछन् । उहाँले फोनमा कुरा गरेको हाउभाउ र भावले बुझिन्छ त्यस्तो कुराकानी बारेमा ।

    सधैं काममा व्यस्त भए पनि पैसाको भने जहिल्यै अभाव । उहाँले एकपटक भन्नुभयो पत्रकारिताबाट कहाँको मासिक तलब आउनु । त्रैमासिक अथवा चौमासिक तलब आउँछ । अनि खै त त्यत्रो महिनाको तलबभन्दा उहाँको उत्तर उदेक लाग्दो हुन्छ । तीन अथवा चार महिनापछि थापे पनि तलब एक महिनाको नै पाउने हो । त्यो पनि कुनै-कुनै सञ्चारगृहले त कति साथीलाई एक वर्षदेखिको तलब दिएकै छैनन् । कुनै कुनैमा मात्र हो नियमित तलब आउने । यस्तो कुरा सुनेपछि मेरो रिसको पारो चढ्छ । साँच्चै भनेको हो कि ठट्टा गरेको हो थाहा छैन । म बुझ्दिनँ, अनि किन गर्नु पर्यो त सित्तैमा काम ? खुरुक्क घरमा बसेर छोराछोरीलाई पढ्न सिकाउनू । यसो अरूका नानीबाबुहरूलाई ट्युसन पढायो भने पनि खान पुग्छ भनेर म र्झकन्छु । उहाँ सम्झाउनुहुन्छ, पत्रकारिता भनेको ना हो । मानिसलाई नशा लागेपछि कहाँ सजिलै छुट्छ र !

    उहाँको पेसालाई लिएर मेरा गुनासा सुनेपछि श्रीमान् भन्नुहुन्छ मैले बिहे गर्नुभन्दा पहिले भनेकै थिएँ नि । म पत्रकार हुँ भनेर । अहिले किन किचकिच गर्छ्यौ ?

    अनि म अवाक् हुन्छु ।

    तैपनि लागिरहन्छ, यो नशा हो कि नाश !

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…