काठमाडौं, २४ कात्तिक । पहिले पहिले एनसेलले अफर र उपहारको नाममा मोबाइलको डाटा बेचेर ग्राहकलाई ठगेको गुनासो यत्रतत्र सर्वत्र सुनिन्थ्यो ।
त्यसैको नक्कल गर्दै सरकारको पूर्ण स्वामित्वको संस्था नेपाल टेलिकमले ग्राहक ठगेको उजुरीका चांग उसकै कार्यालयको गुनासो शाखामा पुगेको छ ।
लामो समय अख्तियारले फोरजीको फायल कब्जामा लियो भनेर सेवा नै रोकिएको गुनासो गर्ने टेलिकम अहिले कमजोर प्राविधिक नेतृत्व र राजनीतिक नेतृत्वको कारण ठगी गरी नाफा कमाउने धन्दामा लागेको भेटिएको छ ।
पहिलो प्रतिस्पर्धामा चीनको हुवावे कम्पनीलाई ठेक्का दिएको टेलिकमले अख्तियारको कारण देखाउँदै हुवावेको ठेक्का रद्द गरेको भने पनि नयाँ राजनीतिक नेतृत्व र टेलिकमको नेतृत्व आएपछि घुमाउँरो पाराले हुवावेकै भगिनी संस्था सीसीएमआईलाई दिएको थियो ।
उसले देशभरी ५२ स्थानमा फोरजी सेवा संचालन गर्ने जिम्मा पाएको र अहिले टेलिकमले ५२ स्थानमै फोरजी सेवा चलेको दाबी गरे पनि काठमाडौंबाहेक मुलुकका कुनै पनि स्थानमा फोरजी सेवा संचालनमा नभएको टेलिकमका उपभोक्ताहरुको गुनासो छ ।
उसले २४० रुपैयाँमा १४ सय एमबी डाटा बेचिएको भने पनि काठमाडौंबाहेक कुनै पनि स्थानमा फोरजी सेवा चल्दैन र स्वतः डाटा थ्रीजीमा कन्भर्ट भई रकम भने सकिन्छ ।
यसको मुख्य कारण टेलिकम र ठेकेदार कम्पनीको मिलेमतोमा देशका ५२ स्थानमा फोरजीका एक दुई वटा टावर मात्र ठडयाउनु हो । जसका कारण कभरेज नपुगेर फोरजीको सट्टा सबै ठाउँमा ग्राहकले थ्रीजी सेवा पाउँछन् तर फोरजीको डाटा किनेको रकम स्वाहा हुन्छ ।
यसमा टेलिकमकै पूर्वकर्मचारीको पनि मिलेमतो देखिन्छ । लामो समय टेलिकममा प्रोक्युरमेन्ट हाकिमका रुपमा काम गरेका प्रदीप ठाकुर हालसालै निवृत्त भई सीसीएआईको नेपाल कार्यालयमा ठूलै पदमा कार्यरत छन् ।
यसको कार्यालय बालुवाटारस्थित कालिका टावरमा छ । उनी र टेलिकमका उच्च अधिकृतको मिलेमतोमा ग्राहक ठग्ने काम भइरहेको छ, देशान्तरमा उल्लेख छ ।
हालाकि नेपाल टेलिकमको कर्मचारी विनियमावालीमा सेवा निवृत्त भएको दुई वर्षसम्म अन्यत्र नोकरी गर्न नपाइने प्रावधान छ । तर, सो प्रावधानको ठाडै उल्लघंन गरी उनी सीसीएसआईमा जागिर खाइरहेका छन् ।
अर्को हास्यास्पद कुरा टेलिकम व्यवस्थापनले फोरजी संचालन पछि अधिकत्तम नाफामा गएको जानकारी निकट भविष्यमै गराउने उद्देश्य राखी कर्मचारी युनियनसँग अन्तरक्रिया गर्ने भएको छ ।