उर्लाबारी, चर्चित गायन प्रतियोगिता द भ्वाईस अफ नेपाल सिजन दुईको उत्कृष्ठ १२ मा पर्न सफल मोरङ, उर्लाबारी–२ की मेचु धिमाललाई जिताउन अभियान सञ्चालन गरिएको छ । मेचु पुर्वकै प्रतिभा भएकोले उनलाई जिताउन यस क्षेत्रका सबै एक जुट भएका छन् ।
मेचुलाई जिताउन उर्लाबारीका समाजसेवी सर्वजित भण्डारीको अध्यक्षतामा १६ सदस्यीय मेचु धिमाल जिताउ अभियान समित गठन गरिएको छ । सो समितिले शनिबार उर्लाबारीस्थित सञ्चार क्लब नेपालको कार्यालयमा पत्रकार सम्मेलन गरी मेचुलाई जिताउन सबैले सहयोग गर्नुपर्ने बताएको छ । क्लबका अध्यक्ष भण्डारीले मेचु पूर्वकै प्रतिभा भएकोले सहयोग गर्न सबैसँग अनुरोध गरेका छन् ।
समितिका सचिव मात्रिका धिमालले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुले मुेचुको गायन प्रतिभाको प्रशंसा गर्दै उनलाई जिताउन सबैसँग अपिल गरेका छन् ।
पत्रकार सम्मेलनमा मेचुका बुबा सन्तुलाल धिमाल र आमा गिताकुमारी धिमालले आफ्नी छोरी मेचुलाई जिताउन सहयोगका लागि अपिल गरेका छन् । २५ वर्षिया मेचुले व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण गरेकी छन् । मेचु काठमाण्डौमा रहेर संगीत प्रशिक्षण लिइरहेको उनका अभिभावकले बताएका छन् ।