त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन ।अनि तुलसी चाहिँ भगवान् विष्णुको प्रिय बिरुवा हो । तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ । तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ ।
गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ ।दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो । उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो । अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो ।
असुरबाट त्रस्त भएर देवराज इन्द्रसहित सबै देवीदेवता र प्रमुख ऋषिमुनि भगवान् महादेवसँग प्रार्थना गर्न पुगे । अनलासुरलाई अन्त्य गर्न उनीहरूले महादेवसँग अनुरोध गरे तर महादेवले असुरको अन्त्य गणेशजीले गर्ने बताउनुभयो ।अनलासुरसँग युद्ध गर्न गणेशजी जानुभयो ।
असुरले उहाँलाई निल्न खोज्यो तर उल्टै गणेशजीले असुरलाई निल्नुभयो । असुरलाई निलेपछि गणेशजीलाई बेस्सरी पेट पोल्यो । धेरै प्रकारका उपाय गरियो र पेटको जलन शान्त भएन ।
त्यसपछि कश्यप ऋषिले २१ मुन्टो दूबोको गाँठो बनाएर गणेशलाई खान दिनुभयो । दूबो खाएपछि गणेशजीको पीडा शमन भयो । त्यतिखेरदेखि नै श्रीगणेशलाई दूबो चढाउने परम्परा शुरु भएको हो ।
गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा तुलसीले गणेशजीसँग विवाहको प्रार्थना गरेकी थिइन् । तर गणेशजीले मान्नुभएन । रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन् । गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिनुभयो ।
राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन् । त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भन्नुभयो ।
यो पनि पढ्नुहोस्,
यी ११ मन्त्र जप्नुहोस्, भगवान गणेशको कृपाले तपाईको जीवनमा सुख, शान्ती र धन लाभ हुनेछ !!
भगवान श्री गणेश बृद्धिका दाता तथा चिन्ता दूर गर्ने देवता मानिन्छन्। भगवान गणेशको आराधनाले बृद्धि विकास हुनुका साथै तपाईको जीवनमा देखिएका सबै बाधाहरु हट्छन्।
भगवान गणेशको कृपा प्राप्त गर्न सके जीवन सर्वसम्पन्न हुने विश्वास गरिन्छ। यहाँ उल्लेख ११ मध्ये कुनै एक मन्त्र लगातार २१ पटक मनमनै जप्नुहोस् तपाईलाई भगवान गणेशको कृपा मिल्ने छ। अथवा श्रद्धाअनुसार शुभ संख्यामा मन्त्र जप्नाले पनि भगवान गणेश प्रसन्न हुन्छन्।
मन्त्रहरु,
१ – श्री गणेशाय नम:
२ – ॐ श्री गणेशाय नम:
३ – गं गणपतये नम:
४ – ॐ गं गणपतये नम:
५ – ॐ गं ॐ गणाधिपतये नम:
६ – ॐ सिद्धि विनायकाय नम:
७ – ॐ गजाननाय नम।
८ – ॐ एकदंताय नमो नम:
९ – ॐ लंबोदराय नम:
१० – ॐ वक्रतुंडाय नमो नम:
११ – ॐ गणाध्यक्षाय नमः