• काठमाडौँ, पुस २० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली केही दिन अस्वस्थ हुनुभएपछि वाम गठबन्धन दलमा आबद्ध दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता प्रक्रिया लम्बिँदै गएको छ ।

    चिकित्सककै सल्लाहअनुसार अध्यक्ष ओली घरमै आराम गर्नुभएपछि प्रमुख दुई दलका अध्यक्षबीच हुने भेटघाटसमेत हुन नसकेपछि पार्टी एकता प्रक्रिया लम्बिएको हो । दुई अध्यक्षबीचको संवाद र सहमतिपछि मात्रै पार्टी एकता संयोजन समितिको बैठक बसेर ठोस परिणाम निकाल्ने दुवै दलको तयारी रहेको नेताहरूले बताउँदै आएका छन् ।
    दुई अध्यक्षबीच सम्भवतः बिहीबार एक्लाएक्लै भेट हुने सम्भावना रहेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । बुधबार साँझबाट अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार भएपछि बिहीबार भेटहुने सम्भावना बढेको उहाँले भन्नुभयो । त्यसबारे बिहीबार बिहान मात्रै टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो । यद्यपि अध्यक्ष ओली बुधबार साँझबाट पार्टीका नेता कार्यकर्ताहरूसँग आन्तरिक भेटघाट गर्न थाल्नुभएको छ ।
    यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारका लागि पाँच दलका नेताहरूको संयुक्त बैठक आह्वान गर्नुभएको छ । सो बैठकमा पनि दुवै अध्यक्षबीच भेट हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सनाले जानकारी गराउनुभयो ।
    दुवै अध्यक्षबीच भेटघाटको तयारी भए पनि एमाले अध्यक्ष ओली अस्वस्थ भएपछि भेट हुन नसकेको उहाँले बताउनुभयो । दुई अध्यक्षबीचको आपसी संवाद र सहमतिपछि तत्काल पार्टी एकता संयोजन समितिको बैठक बस्ने र पार्टी एकताको खाकालाई अन्तिम रूप दिने तयारी भएको एमाले र माओवादी केन्द्रका नेताहरूले सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहनुभएको छ ।
    प्रधानमन्त्री देउवाले प्रदेशको अस्थायी मुकाम तोक्नुअघि दलीय सहमति जुटाउने हिसाबले बैठक आह्वान गर्नुभएको छ । बैठकमा प्रदेश प्रमुखको नियुक्तिका विषयमा समेत छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । वाम गठबन्धन दलमा आबद्ध शीर्ष तहका नेताले प्रदेशको मुकाम तोक्ने र प्रमुखको नियुक्तिअघि राजनीतिक सहमति गर्नुपर्ने माग राख्दैआउनुभएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …