• धेरै अभिभावक भयभित छन्, आफ्ना छोराछोरीको भविष्यदेखि । छोराछोरीले भविष्यमा दुःख पाउने हुन् कि ? कष्ट झेल्नुपर्ने हो कि ? हेपाई सहनुपर्ने हो कि ? अपमान खेप्नुपर्ने हो कि ?

    यस्तै-यस्तै भयले लखेटेर अभिभावक आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन चाहन्छन् । उनीहरु चाहन्छन्, छोराछोरीले राम्रो आय-आर्जन गरे हुन्थ्यो । उनीहरुले राम्रो पेशा-व्यवसाय अपनाए हुन्थ्यो । समाजमा मान-प्रतिष्ठा आर्जन गरे हुन्थ्यो ।

    आमाबुवाको यही अपेक्षाको कुम्लो बोकेर अहिले थुप्रै बालबच्चा विद्यालय धाइरहेका छन् । करियरको खोजीमा दौडिरहेका छन् । उनीहरुको मन-मस्तिकमा यही कुरा बोकेर दौडधुप गरिरहेका छन् कि ‘मेरो भविष्य अनिश्चित छ । मैलें आफूलाई सुरक्षित गर्नुपर्छ ।’

    अर्थात्, डरै-डर बोकेर बालबच्चा विद्यालय गइरहेका छन् ।

    उनीहरुलाई के सिकाइएको वा बुझाइएको छ भने, विद्यालय गइयो, पढियो, जान्नेबुझ्ने भइयो भने भोलिका दिनमा अप्ठ्यारो पर्नेछैन । भविष्यमा कुनै संकटको सामना गर्नुपर्ने छैन । भविष्य अनिश्चित हुनेछैन । आज विद्यालय गएर, पुस्तक पढेर, परीक्षामा उत्तीर्ण भएपछि कतै न कतै आफूलाई सुरक्षित स्थानमा उभ्याउन सकिन्छ । जागिर खान सकिन्छ, व्यवसाय गर्न सकिन्छ ।

    यही चक्करमा लागेर बालबच्चाहरु जतिसक्दो पाठ घोक्ने र परीक्षामा उत्कृष्ठ अंक हाँसिल गर्ने दौडमा लाग्छन् । विद्यालय जीवनमा उनीहरुको एउटै लक्ष्य हुन्छ, पास गर्ने । उत्कृष्ठ अंक ल्याएर पास गर्ने । सर्वोत्कृष्ट हुने ।

    तर, शिक्षाको औचित्य यसरी भयभित बनाएर सुरक्षित भविष्यको दौडमा सामेल गराउनु होइन । शिक्षाको अर्थ न जागिर खाने बनाउनु हो, न आयआर्जन गर्ने बनाउनु हो ।

    आज हामीले आफ्ना बालबच्चालाई सर्तक गराएका छौं, तिमीले जसरी पनि पास हुनैपर्छ । उत्कृष्ठ अंक हाँसिल गर्नैपर्छ । भोलिका दिनमा आफ्नो भविष्य सुरक्षित गर्नैपर्छ । यसले बाल-मस्तिष्कलाई अरु उर्वर, उन्नत र रचनात्मक हुन प्रेरित गर्दैन, बरु दबाब पैदा गरिदिन्छ ।शिक्षाको अर्थ बच्चालाई कुनै कुरामा पारंगत वा पोख्त बनाउनु होइन । बरु, उनीभित्र आफ्नै सम्भावनाहरुको खोजी गर्नका लागि सक्षम बनाउनु हो । उनको रुचि के छ, खुवी के हो भन्ने कुरा पहिल्याउन सक्ने बनाउनु हो । आफूभित्रको शक्ति एवं सामथ्र्य पहिल्याएर त्यही अनुसारको बाटो निर्माण गर्न सक्ने बनाउनु हो ।

    बच्चाले विद्यालय जानुको अर्थ त्यतिमात्र होइन कि, उसले केही नयाँ कुरा जानेर वा सिकेर घर फर्कियोस् । जान्न र सिक्नका लागि विद्यालय मात्र छैन, अरु थुप्रै स्रोत र साधन छन् । जहाँबाट, जसरी पनि सिक्न सकिन्छ । एउटा रुखबाट, एउटा फूलबाट, आकाशबाट, पानीबाट पनि सिक्न सकिन्छ । आँखाले देखिने हरेक चिज आफैँमा एउटा पाठ हो ।

    विद्यालयमा पाठ पढ्न वा सिक्न मात्र पठाउने होइन, बरु उनीभित्र उत्सुकता पैदा गराइदिने हो । हरेक कुराको जवाफ घोकाउने होइन, ती कुराहरु देखेपछि उनको मनमा उत्सुकता पैदा गराइदिने हो । जवाफ त उनी आफैँले खोज्नुपर्छ ।

    पाठ्यपुस्तक आफैँमा पूर्ण हुँदैन र शिक्षक आफैँमा भरिपूर्ण हुँदैनन् । त्यसैले यी साधन र स्रोत मात्र बच्चाका लागि पर्याप्त हुँदैन । शिक्षक र पाठ्यपुस्तकमा मात्र निर्भर रहँदा बालबच्चाले जति जान्नुपर्ने, जति सिक्नुपर्ने, जति बुझ्नुपर्ने त्यो सम्भव हुँदैन । बालबच्चालाई सिक्न, जान्न र बुझ्नका लागि अनन्त स्रोत छन् । ती स्रोतबाट कसरी आफूलाई उपयोगी कुरा हाँसिल गर्ने र त्यसलाई सही ढंगले प्रयोग गर्ने भन्ने कुरा चाहिँ शिक्षकले सिकाउने हो । शिक्षकले ज्ञान दिने होइन, ज्ञान कसरी आर्जन गर्ने भन्ने प्रणाली सिकाउने हो ।

    बालबच्चाले धेरै कुरा जानेर मात्र पुग्दैन । पाठ छिचोलेर मात्र पुग्दैन । परीक्षामा हु-बहु जवाफ लेखेर मात्र पुग्दैन । सर्वोत्कृष्ट भएर मात्र पुग्दैन । उनीहरुले आर्जन गरेको कुरालाई आफ्नो जीवनका लागि कसरी उपयोग गर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । यसर्थ उनीहरुले जे-जति कुरा सिक्छन् त्यो जीवनोपयोगी हुनुपर्छ ।

    पढ्नु, शिक्षित हुनु भनेको जान्नेबुझ्ने मात्र हुनु होइन । जानेको, बुझेको कुरालाई व्यवहारमा उतार्नु पनि हो । आफूलाई सभ्य, सु-संस्कृत, विवेकशील, असल मान्छेमा रुपान्तरण गर्नु हो । खासमा त असल नागरिक बन्नु हो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…