पूर्व मन्त्री एवं सांसद अफताव आलमलाई कर्तव्य ज्यानसहितको मुद्दामा रौतहट जिल्ला अदालतले शुक्रबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उनको थुनछेक बहस सकिएपछि जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सरकारी वकिल कार्यालयले आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विष्फोटन गरेको भन्दै अभियोगपत्र दायर गरेको थियो । आठ दिनको थुनछेक बहसपछि अदालतले आदेश गरेको हो ।
आलम छुटने आशमा ठूलो संख्यामा उपस्थित उनका समर्थक अदालतको आदेशपछि निराश भएका थिए । दुबै तर्फका कानुन व्यावसायीको बहस सकिएपछि आलमले न्यायाधीश समक्ष भनाइ राख्दै आफुलाई सरकारले फँसाएको बताएका थिए । उनले राजपुरमा पटका समेत नपडकिएको दावी गर्दै बमको कुरा कसरी आयो भन्दै प्रश्न गरे ।
२७ चैत ०६४ मा संविधान सभा निर्वाचनको बेला बम बनाउन लगाउने क्रममा सर्बसाधारणको ज्यान गएको घटनाका बिषयमा प्रहरीले आलमलाई १२ वर्षपछि पक्राउ गरी मुद्दा चलाएको हो ।