काठमाडौं । युएईमा सुरु भएको टी–१० क्रिकेट लिगको डेब्यु खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबुधाबी र क्वालान्डर्सबीचको खेलमा ‘टाइ’ भएको छ ।
युएईको आबुधाबीमा शुक्रबार राति भएको खेलमा टाइ भएपछि दुवै टिमले अंक बाँडेका छन् । पारसको टिमले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको क्वालान्डर्सले ३ विकेटको नोक्सानीमा १ सय ३ रन बनाएपछि खेल टाइ भएको हो ।
क्वालान्डर्सका लागि कप्तान डेविड मालनले ३३ रन बनाए । आबुधाबीका मर्चान्ट डी लांगेले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको आबुधाबीले निर्धारित १० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ३ रन बनाएको थियो ।
कोरी एण्डरसनले सर्वाधिक ४३ रन बनाए । यस्तै लुक राइटले २०, निरोशन डिक्वेलाले १७ तथा लेविस ग्रेगोरीले ११ रन बनाए । पारसले ३ बलमा नटआउट ३ रन बनाए ।
पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालका स्पीन बलर सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।
अलराउन्डर पारसले बलिङ भने गर्न पाएनन् ।
शुक्रबारका अन्य खेलको नतिजा–
नर्दन वारियर्सले मराठा अरेबियन्सलाई ९ विकेटले हरायो ।
त्यस्तै दिल्ली बुल्सले डेक्कन ग्लाडियटर्सलाई ७ विकेटले हरायो ।