बैतडी । बैतडीमा मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान गएको छ भने ९ जना बिरामी परेका छन् ।
पुर्चौंडी नगरपालिका वडा नम्बर–२, जरसौंमा शनिबार साँझ मरेको कुखुराको मासु खाँदा एकै परिवारका एक जनाको ज्यान जानुका साथै ९ जना बिरामी परेका हुन् ।
कुखुराको मासु परिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेको बताइएको छ । मासु खाएपछि सबैमा बान्ता हुने, झाडापाखलालगायतका लक्षण देखिएको थियो । मृत्यु हुनेमा १५ वर्षीया पुष्पा पार्की रहेको स्थानीयले बताएका छन् ।
कुखुराको मासु सेवनपछि बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की रहेका छन् ।