सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल पराजित भएको छ।
दशरथ रंगशाला समयमै बन्न नसक्दा भुटानको चाङ्लिमिथाङ रंगशालामा मंगलबार भएको खेलमा नेपाललाई कुवेतले १–० गोलले पराजित गरेको हो।
कुवेतका लागि अल मोटावाले २८ मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे।
पहिलो हाफमा नेपालका रोहित चन्दले बराबरी गर्ने मौका गुमाए। उनले डिबक्स बाहिरबाट हानेको प्रहारलाई कुवेतका गोलकिपरले जोगाए।
दोस्रो हाफमा पनि नेपालले पाएका केहि अवसर सदुपयोग गर्न सकेन।
दशरथ रंगशाला पुननिर्माण नसकिँदा नेपालले होमम्याचका रुपमा भुटानमा खेल खेल्नु परेको हो।
खेलमा नेपालले अभिषेक रिजाललाई एक्लो फरवार्डको रुपमा खेलाएको थियो। फरवार्ड विमल घर्तीमगरसहित अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी कारबाहीमा परेसँगै तेज तामाङ, रञ्जित धिमाल र अजित भण्डारीले पहिलो रोजाइमाभौका पाएका थिए।
दोस्रो हाफमा अभिषेक रिजालको स्थानमा भरत खवास, विक्रम लामाको स्थानमा नवयुग श्रेष्ठ र तेज तामाङको स्थानमा सुवास गुरुङ मैदान प्रवेश गरेका थिए।
योसँगै नेपालले छनोटमा सुरुवातीमा चार वटै अवे म्याच र कुवेतविरुद्ध होम म्याच खेलेको छ।
५ खेल मध्ये नेपालले ४ खेलमा हार र १ खेलमा जित निकालेको छ।
पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५-० र चौथो खेलमा जोर्डनले ३-० ले हराएका थिए। नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ।
कुवेत ५ खेलबाट ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। अघिल्लो खेलमा कुवेतले चाइनिज ताइपेईलाई ९–१ गोलले पराजित गरेको थियो।