• काठमाडौं । तीनवटै तहमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र तयार पारेको छ । रिक्त रहेका प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य– ३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष– ३, गाउँपालिका उपाध्यक्ष १ तथा नगर र गाउँपालिकाका ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ ।

    तीनवटै तहका रिक्त ५२ स्थानका लागि त्यति नै प्रकारका सबै मतपत्र छापिएको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रेसमा मतपत्र छापिएको हो । उपनिर्वाचनले ३७ जिल्लालाई छोएको छ । ती जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्‍याइनेछ । ‘मतपत्र, मतदाता परिचपत्र र निर्वाचन सामग्री सम्बन्धित क्षेत्रमा पठाउने काम बुधबारबाट सुरु हुन्छ,’ आयुक्त दाहालले भने ।

    प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ को मतपत्रमा ठाडोमा ६ र तेर्सो चारवटा चुनाव चिह्न छन् । त्यहाँ २१ जना उम्मेदवार रहेकाले मतपत्रमा त्यति नै संख्यामा निर्वाचन चिह्न छन् ।

    यहाँ दलका ११ र स्वतन्त्र १० उम्मेदवार छन् । मतपत्रको पहिलो लहरमा सुरुमै नेकपाको सूर्य, कांग्रेसको रूख, समाजवादी पार्टीको पाँच औंलासहितको हत्केला र साझा पार्टीको तराजु चिह्न छ । दोस्रो लहरमा राप्रपाको गाई, राप्रपा (संयुक्त) को हलो, नेकपा (माले) को हँसिया र तारा, राष्ट्रिय जनमुक्ति पार्टीको घर चुनाव चिह्न छापिएका छन् । तेस्रो लहरमा मंगोल नेसनल अर्गनाइजेसनको कुखुराको भाले, नेपाली कांग्रेस (बीपी) को करुवा र देशभक्त समाज पार्टीको जरायो चिह्न छन् । त्यसपछि १० जना स्वतन्त्र उम्मेदवारका चिह्न राखिएका छन् ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ अत्यधिक मत ल्याउने दलको पहिलो र त्यसपछिका क्रमअनुसार मतपत्रमा राजनीतिक दलको चिह्न राखिएको बताए । स्वतन्त्र उम्मेदवारको हकमा वर्णानुक्रमअनुसार चिह्न राखिएको छ । तीनवटै तहका मतपत्रमा त्यही आधारमा चिह्न राखिएको उनले बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …