विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङका सेक्रेटरीसहित तीनजना सत्तारुढ नेकपामा प्रवेश गरेका छन्। ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गर्नेमा जिल्ला सेक्रेटरी नवराज नेपाल, विराटनगर नगर सदस्य माधव पन्त र सन्दीप सापकोटा छन्।
विराटनगरस्थित नेकपा जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरुले ‘विप्लव’ समूह परित्यागको घोषणा गरेका हुन्। त्यस लगत्तै उनीहरुलाई सत्तारुढ नेकपा प्रदेश–१ का सह–इन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगर अध्यक्ष सागर थापालगायले फूलको गुच्छा र अविरमालाले स्वागत गर्दै पार्टीमा प्रवेश गराए।
नेपाली जनताले क्रान्ति नचाहेका कारण आफूहरुले ‘विप्लव’ समूह परित्याग गरेको नेपालले बताए। उनले समाज रुपान्तरणको यात्रामा अब नेकपामा आवद्ध भएर अगाडि बढ्ने बताए। समाजवादको यात्रा सत्तारुढ नेकपाले मात्र पूरा गर्ने नेपालको दाबी छ। नेकपा प्रदेश १ का सह–इन्चार्ज काफ्लले नवप्रवेशीलाई पार्टीले उचित स्थान र भूमिका दिएर अगाडि बढाउने बताए।
‘विप्लव’ समूहले नराम्रा र हिंसात्मक गतिविधी गरिरहेकै कारण उक्त समूह छाड्ने र नेकपामा प्रवेश गर्नेको संख्या बढ्दै गएको उनको भनाइ छ। काफ्लेले ‘विप्लव’लाई तत्काल हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रहसमेत गरे।