• जनकपुरधाम : २१ कात्तिकको राती ८ बजेतिरको घटना हो। जनकपुरधाम सुनसान बन्दै थियो। सबै आफ्नै गन्तव्यतिर लम्किदै थिए । जनकपुरधाम उपमहानगरपालिका नजिकैबाट ठूलो डर लाग्दो आवाज सुनियो। बाटोमा हिड्दै गरेका यात्रुहरु एकछिन आत्तिए।

    के भयो भन्दै बुझ्न सडकमा ओहरदोहर गर्न थाले। हस्याङफस्याङ गर्दै पंक्तिकार घटनास्थल पुग्यो । त्यहाँ पुग्दा मोटरसाइकल सडकको डिभाइडरमा ठोकिएर लडेको थियो । त्यसमा सवार तीनैजना पछारिएर उतानो परेका थिए ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका जनकपुरधाम उपमहानगरपालिका १६ कदमचोकका २८ वर्षीय विरोध आलमको उपचारको क्रममा मृत्यु भयो ।

    जनकपुरधाम १४ रजौलका २१ वर्षीय कृष्णकुमार यादव र जनकपुर ८ रामानन्दचोकका २१ वर्षीय नविनकुमार यादव घाइते भए । उनीहरुको उपचार भइरहेको छ। महोत्तरीको बर्दिबासस्थित बाँके जंगलमा ३ असोज २०७३ मा ज ४ प २३९० नम्बरको मोटरसाइकलले राजमार्गमै भैंसीलाई ठक्‍कर दियो । मोटरसाइकल सवार रहेका दुईजनाको घटनास्थलमै मृत्यु भयो ।

    ओभर स्पीडमा गुडिरहेको मोटरसाइकले भैंसी ठक्‍कर दियो । दुर्घटनामा बर्दिबास ४ का १९ वर्षीय कलजीत महतो र बर्दिबास ३ का दिलिप महतोको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरी इन्स्पेक्टर प्रकाशबहादुर सिंहले जनाए ।

    मोटरसाइकल दुर्घटनामा अमालमै ज्यान गुमाउने जनकपुरका विरोध, बर्दिबासका कलजीत र दिलिप मात्रै छैनन् द्रुत गतिमा मोटरसाइकल चलाउँदा आर्थिक वर्ष २०७५-०७६ मा सवारी दुर्घटनामा परेर चार सय ९६ जनाको मृत्यु भएको छ। जस मध्ये २ सय जनाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको दुई नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

    चालु आर्थिक वर्षको साउन, भदौं र असोज गरी तीन महिनामा प्रदेश २ भरीमा विभिन्न सवारी दुर्घटनमा १ सय १० जनाको ज्यान गएको छ । त्यसमध्ये ४७ जनाको मोटरसाइकल दुर्घटनामा परेर मृत्य भएको हो ।

    किन बढ्दै छ मोटरसाइकल दुर्घटना

    देश २ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको तथ्यांक डर लाग्दो छ। सबैभन्दा बढी दुई चक्‍के सवारीसाधनबाट दुर्घटना बढेको देखिन्छ। दुर्घटनाको सिकार युवाहरु हुने गरेका छन्। दुई नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७५-०७६ एक हजार ३ सय ५२ वटा सवारी साधन दुर्घटनामा परेको थियो ।जसमध्ये मोटरसाइकल दुर्घटनाको संख्या ६ सय १५ थियो ।

    त्यसैगरी २०७४-०७५ मा प्रदेशभरी भएको एक हजार ४ सय ६९ वटा सवारी दुर्घटनमा ८ सय १ वटा मोटरसाइकल परेको थियो । २०७३-०७४ मा एक हजार पाँच सय २३ वटा सवारी दुर्घटन भएकोमा ६ सय ८६ वटा मोटरसाइकल थिए । २०७२-०७३ दुर्घटनामा एक हजार २ सय ७२ वटा सवारी दुर्घटना भए । ६ सय ८६ वटा मोटरसाइकलबाटै नै दुर्घटना भएको थियो ।

    'सिकारुले मोटरसाइकल चलाउने, अल्लारेपन देखाएर हुँइकियाएर ट्राफिक नियम मिच्नेहरु दुर्घटनामा परिरहेको छन्,' दुई नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका एसपी योगबहादुर पालले भने । 'आफ्नो ज्यानको ख्याल नगरेर मोटरसाइकल चलाउँदा दुर्घटना बढेको हो,'उनले भने, 'नियम मिच्नेलाई कारवाही पनि गरिहेका छौं । स्पीड नकुदाउनुस्, हात जोडर आग्राह पनि गरिहेका छौं ।' स्पीड न्यूनीकरण गर्न प्रहरीले प्रदेशभरीमै १४ वटा राडरगण प्रयोगमा ल्याएको उनले बताए ।

    बर्षेनी मृतकको संख्या थपिदै
    गएको चार आर्थिक वर्षको दुर्घटनाको तथ्यांकले प्रदेश २ मा दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढेको देखाएको छ । बस, ट्रक, टिपर, मोटरसाइलक जस्ता सवारीसाधनको दुर्घटनामा परेर दिनहुँ मानिसको ज्यान गरहेको छ । मोटरसाइकल दुर्घटनमा धेरैले ज्यान गुमाइरहेका प्रहरीले जनाएका छन् ।

    दुई नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार, आर्थिक वर्ष २०७५-०७६ मा चार सय ९६ जनाले दुर्घटनामा परेर अकालमै ज्यान गुमाए । त्यसैगरी २०७४-०७५ मा प्रदेशभरीमा तीन सय ९४ जनाले मृत्युवरण गरेका थिए । २०७३-०७४ मा चार ६ जनाको मृत्यु भएको थियो भने, २०७२-०७३ तीन सय १४ जनाको मात्रै मृत्यु भएको थियो ।

    नियम मिच्नेमा मोटरसाइकल बढी

    चालकहरुले ट्राफिक नियम पलना नगर्दा धेरै जसो दुर्घटना हुने गरेको छ । ट्राफिक नियम मिचेर सवारी हुइकाउँदा सवारी प्रयोग कर्ता र त्यसमा सवार यात्रीहरु दुर्घटनाको सिकार बन्ने गरेका छन् ।

    दुर्घटनामा कमी ल्याउन ट्राफिक प्रहरीले नियम मिच्नेलाई कारवाही पनि गरेको छ । चालक सचेत नहुँदा सवारी दुर्घटना बढ्दै‍ गएको हो । ट्राफिक नियम मिच्नेमा अन्य सवारी साधन भन्दा बढी मोटरसाइकलको नै पर्छ । प्रदेश २ भरीमा २०७५-०७६ मा ट्राफिक नियम पालना नगर्ने सवारीको संख्या २ लाख ३१ हजार १९ वटा सवारी रहेको मध्ये ७४ हजार ८ सय ५४ मोटरसाइकलकै संख्या छ ।

    त्यसैगरि २०७४-०७५ मा २ लाख २३ हजार ९ सय ९७ वटा सवारी परे । त्यसमा ६८ हजार ८ सय ९२ वटा मोटरसाइकलको संख्या थियो । २०७३-०७४ मा ट्राफिक नियम उल्लघंन गरेर ८१ हजार १२ वटा सवारी साधनहरु कारवाहीमा परे । कूल २ लाख ४३ हजार ९ सय ७६ वटा सबै प्रकारका सवारीले नियम मिचेका थिए ।

    २०७२-०७३ मा नियम उल्लघंन गर्ने सवारीको संख्या १ लाख ६८ हजार २ सय ३६ थियो भने त्यसमध्ये ५६ हजार १ सय ११ वटा मोटरसाइकै संख्या रह्यो । प्रहरीको कारवाहीको तथ्यांक हेर्ने हो भने नियम मिच्नेमा ६० प्रतिशत बढी मोटरसाइकलकै संख्या छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…