काठमाडौँ । खाडी मुलुक लैजान लागिएका ७ नेपाली महिलालाई गत भारत र म्यानमारको सीमावर्ती क्षेत्र मोरेको प्रहरीले आइतबार उद्धार गरेको छ । उनीहरू २१ देखि ४१ वर्ष उमेर समूहका छन् ।
मोरेबाट म्यानमार प्रवेश गर्ने प्रयास गर्दागर्दै उनीहरू समातिएको मोरेस्थित प्रहरीले सञ्चार माध्यमलाई जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरू म्यानमार घुम्ने बहानामा प्रवेश गर्न लागेका थिए तर शंकास्पद गतिविधि देखाएपछि प्रहरीले सोधपुछ गरेर उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको राहदानीमा अध्यागमनको नक्कली छाप लगाएको पाइएको छ ।
ती महिलालाई दलालले दुबई र कुवेतमा रोजगारी लिने भनेर त्यहाँ पुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई दलालले इम्फालको होटलमा दुई दिन राखेर मोरे पुर्याएको थियो । इम्फालबाट मोरे पुग्न करिब १ सय १० किलोमिटर पहाडी बाटो तय गर्नुपर्छ । भारतको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश अधिकारीका अनुसार उद्धार गरिएका महिलालाई मणिपुर राज्य सरकारले आश्रय दिएको छ । अधिकारीले भने, ‘मणिपुर सरकारबाट आधिकारिक पत्राचार नभएकाले तत्काल उद्धार गरेर घर फर्काउन सकिएको छैन ।’
यस्तै अघिल्लो घटनामा संलग्न भई करिब ६ महिना जेल परेर छुटेका ललितबहादुर कार्की यो घटनामा संलग्न भएको पाइएको छ । कार्की हाल फरार छन् । प्रहरीले उनको खोजी तीव्र पारेको जनाएको छ ।
गत वर्ष मणिपुरबाट १ सय ७९ उद्धार गरेको करिब तीन महिनापछि पूर्वोत्तर भारतको अर्को राज्य मिजोरमबाट २३ नेपाली महिलालाई उद्धार गरी घर फर्काइएको थियो । म्यानमार ९बर्मा० रुटबाट खाडी तथा इराक, किर्गिस्तानजस्ता युद्धग्रस्त मुलुकमा लैजाने गरिएको पुष्टि भएको छ । मानव तस्करीमा संलग्न गिरोहले प्रत्येक पटक रुट फेर्दै नेपालीलाई अवैधानिक ढंगवाट खाडीलगायत मुलुक पठाउने गरेको हो । ‘कहिले मोरेबाट त कहिले मिजोरमबाट म्यानमार पठाउने र त्यहाँबाट अन्य मुलुक पठाउने क्रम जारी देखिन्छ,’ मणिपुरका सामाजिक अभियन्ता अर्जुन जोगीले टेलिफोनमा भने, ‘यो गम्भीर कुरा हो ।’
उत्तरपूर्वी भारतका मणिपुर, मिजोरमलगायत राज्यको सिमाना म्यानमारसँग जोडिन्छ । मणिपुरको मोरे र मिजोरमको चम्फाई म्यानमारबीच सोझो सम्पर्क छ । यो नाकाबाट दुवै देशका नागरिकलाई आवातजावत गर्न सहज छ ।
व्यापार व्यवसायमा पनि कुनै बन्देज छैन । ‘सीमा वारपार गर्न सहजताको फाइदा मानव तस्करले उठाएको देखिन्छ,’ दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर अधिकारीले भने, ‘म्यानमारका नेपाली र यताबाट जाने नेपालीको अनुहार उस्तै देखिने कारण पनि छिर्न सजिलो भएको हुनुपर्छ ।’ कान्तिपुर ।