चितवन । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ ।
सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए ।
गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताए ।
गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उहाँले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताए ।
बिहान ४:०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ । - रासस